PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

उपचारमा आनाकानी गर्ने अस्पताललाई लाइसेन्स खारेजीसम्मको कारबाही : मुख्यमन्त्री राउत



सुमित मिश्र

उपचारमा आनाकानी गर्ने अस्पताललाई लाइसेन्स खारेजीसम्मको कारबाही : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि कडा कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका हुन्।

कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको बेलामा समान्य रुघाखोकीसमेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचेक्र्याई गरिरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूची तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।

मुख्यमन्त्री राउतले भने ,‘राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजी सम्मको कारबाही हुन्छ।'

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्लास्तरमै गर्न सुझाव दिँदै मुख्यमन्त्री राउतले रकमको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेका जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राखेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश २ का प्रवक्ता एवं आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादबले प्रदेश २ मा अहोरात्र खटिने पत्रकारहरुको लागिसमेत एउटा प्याकेजको व्यवस्था गर्ने बताए।

बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागि जिल्लामा गरेका प्रयासहरु र अगामी दिनमा गर्नुपर्ने योजनाबारे जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell