PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चप्पलकै भरमा मेलम्चीबाट बारातिर लागेकाहरु भन्छन् : घर पुगेपछि न भोकको डर न भाइरसकै

चप्पलकै भरमा मेलम्चीबाट बारातिर लागेकाहरु भन्छन् : घर पुगेपछि न भोकको डर न भाइरसकै

स्वेच्छा राउत/पहिलोपोस्ट


होलीको भोलिपल्टै घर छोड्नु पर्‍यो बाराका विदेश यादवले। उनको घरबाट करिब २ सय ५० किलोमिटर दुरीमा रहेको मेलम्चीबाट साहुको फोन आएको थियो। भनेका थिए – 'छिटो फर्क है केटा हो। होलीपछि धमाधम काम सक्नुपर्छ।'

साहुको निर्देशन मान्नै पर्‍यो।

घरबाट निस्कने बेला आमाले भनेकी थिइन् – 'काम भनेर हतारिँदै निस्किएको छौ अलि मिहेनत गर्नु। अर्को पटक आउँदा उधारो चुकाउन पुग्ने खर्च ल्याउनु।'

'हस' भन्दै मुन्टो हल्लाए र निस्किए। बारादेखि वीरगंज। वीरगंजदेखि काठमाडौं र काठमाडौंदेखि सिन्धुपाल्चोकको मेलम्ची।

निर्माण हुँदै गरेका घरमा ज्याला मजदुरी गर्छन् विदेश। दिनभर खटिएर काम गरे बापत दैनिक ज्याला आठ सय रुपैयाँ। त्यही ज्यालाबाट राशनपानी, घरभाडा अनि जोगाएको पैसा हो ऋण तिर्न उनले घरमा पठाउने। त्यसैले धमाधम काममा जान थाले।

होलीमा दलेको रङ अनुहार र हत्केलाबाट मेटिएकै थिएन, बालुवा र सिमेन्टसँग खेल्न थाले।

यसपटक आमाले उनीबाट केही पैसाको आशा गरेकी थिइन्। त्‍यसैले एकदिन पनि खेर नफाल्ने योजना थियो, उनको। तर, काम थालेको पाँचौ दिन राती साहुले फोन गरे र भने – 'भोलिदेखि 'लकडाउन'। काम हुँदैन। कतै ननिस्किनु।'

उनकै गाउँका ओमप्रकाश यादव, बिक्की यादव, सोहन खान र ओकेश खान पनि मेलम्चीमै ज्याला मजदुरी गर्ने। उनीहरुसँग बसेर पनि एक अर्कासँग समय बिताउन नपाउनु बाध्यता बन्यो। किनकि बिहान जुरुक्क उठ्यो, काममा जानको हतारो। दिनभर आ-आफ्नै काम। रातमा थाकेका उनीहरु खाना खान नपाइ निदाउँथे।

एक हप्ता लामो लकडाउनमा विदेश र उनका साथीहरुका लागि एकअर्काको कुरा सुन्न, रमाउन बाहना बन्यो। एउटाको गोजी रित्तिँदा अर्कोको पैसाले तरकारी किने। होटलमा खानभन्दा रमाइलो मानेका थिए, आफ्नै कोठामा पकाएर खान।

१८ गतेदेखि काम फेरि सुरु हुनेमा विश्वस्त थिए। त्यसैले धैर्य गरे। तर, जब सरकारले लकडाउन अवधि आठ दिन थप गर्‍यो तब भने उनीहरु आत्‍तिए। गोजी रित्तिँदै गएको थियो। चामल, तरकारी थिएन। अब के गर्ने?

साहुलाई फोन लगाए, होलीपछि पाँच दिन काम गरेको ज्याला माग्न।

'अहिले त सबै बैंक बन्द छ। अब चैत महिनाभरि काम पनि हुँदैन। पैसा पनि,' साहुको जवाफले उनीहरुलाई निराश बनायो।

मेलम्चीमै बस्न राशन, पानी छैन। घर फर्कन न गाडी न हिँड्न अनुमति।

'तर बाँच्न त पाउनु पर्‍यो नि। त्यसैले हामी आँट गरेर निस्कियौं,' विदेशले भने।

मंगलबार बिहान चार बजे कोठामा ताला लगाए। धोएर राखेको लुगा फेरे। सबैले केही लुगा, पानी र च्युरा दालमोठ मिसाएको पोका बोके।

एक पटक सबैले बिक्कीको अनुहारमा हेरे। किनकि उ समूहमा सबैभन्दा सानो, १६ वर्षको मात्र। सोमवार राती हिँडेरै बारा पुग्ने योजना बनाउँदा उनी केही मलिन भएका थिए। सोधेका थिए – सकिन्छ त? बाटामै बिरामी परियो भने?

उनलाई सबै मिलेर सान्त्वना दिएका थिए – 'कलंकीमा तरकारी बोक्ने गाडी भेटियो भने त्यही चढ्नुपर्छ।'

तर, उसका लागि मेलम्चीदेखि कलंकीसम्मको दुरी पनि छोटो थिएन। बाटोमा गीत गाउँदै उसलाई भुलाउँदै हिँडिरहे सबै। प्लास्टिकको फिते चप्पल पड्काउँदै हिँडेका उनीहरुलाई चोक चोकमा प्रहरीले सोध्थे – 'लकडाउन भन्ने थाहा छैन? कता हिँडेको?'

उनीहरु सोझो जवाफ दिन्थे। अनि अघि बढ्ने अनुमति मिल्थ्यो।

मेलम्चीबाट निस्किएको आठ घण्टापछि काठमाडौंको मित्रपार्कमा भेटिए उनीहरु। बन्द सटर अगाडि कोही लम्पसार परेको र कोही फुको दालमोठ, च्युरा चपाइँ रहेका थिए।

उनीहरुलाई त मेलम्चीदेखि बारा कति किलोमिटर टाढा छ भन्ने समेत थाहा छैन रहेछ।

'हामी एक दुई क्लासमात्र पढेका छौं किलोमिटर त जान्दैनौं तर सरासर हिँड्यौं भने दुई, तीन दिनमा त पुग्छौं,' बिक्कीले आँट गरेर बोले। र, एक मुट्ठी च्युराको बुझो मुखमा हाले।

जोश छ। खानको लागि दालमोठ च्युरा पनि। कतै धारा भेटिए पानी भर्न बोतल छ। अनि उनीहरुलाई डर पनि छ, बाटोमा कतै समातिन्छौं कि भन्ने।

'बन्दमा हिँड्ने मान्छे पक्रियो भन्छन् हामी पनि पर्छौं कि?', २१ वर्षीय ओमप्रकाशको बोलीमा भय झल्कियो।

माहामारीको रुपमा फैलिएको भाइरसको डरभन्दा बढी भोक, थकान र चप्पलको फित्ताले खुट्टामा दिएको पीडासँग जुँधिरहेका छन् उनीहरु। सोल पातलिँदै गएको चप्पलको भरमा बारासम्म पुग्नु छ उनीहरुलाई। चुँडियो भने?

'तँ सँग त अझै पाँच सय छ नि त्यसैले किन् न,' विदेशलाई सोहनले सुझाव दिए।

'हुन्न त्यो त आमाको लागि राखेको,' विदेश बोले।

अनि जुरुक्क उठे। छेउमा भएको झोला भिरे र भोजपुरी भाषामा सबैलाई उठ्ने निर्देशन दिए। भने, 'यसरी कुरा गर्दै बसेर त कहिले पुग्नु? घर पुगेपछि न भाइरसको डर, न भोकको। त्यसैले छिटो हिँड्नु पर्छ।'

विदेश अनि उनको टोलीलाई थाहा छैन उनीहरुले पैदल नै छोटो बाटो समाते भने पनि झण्डै डेढ सय किलोमिटर त यात्रा गर्न बाँकी नै छ।



ट्रेन्डिङ पोस्ट

Ncell