PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश २ मा कोरोनाका १७ जना शंकास्पद बिरामी आइसोलेसनमा, ५०४ जना क्वारेन्टाइनमा



सुमित मिश्र

प्रदेश २ मा कोरोनाका १७ जना शंकास्पद बिरामी आइसोलेसनमा, ५०४ जना क्वारेन्टाइनमा

जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरसका १७ जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ भने ५ सय ४ जना क्वारेन्टाइनमा छन्। उनीहरूमध्ये ८ जनाको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट निगेटिभ आएको र आज वीरगंजस्थित नारायणी अस्पतालबाट थप २ जनाको स्वाब परिक्षणको लागि काठमाडौं पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म ५ सय ४ जना शंकास्पद व्यक्तिलाई प्रदेशका विभिन्न जिल्लामा रहेका ९९ वटा क्वारेन्टाइनमा राखिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए। भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका ५ सय ४ जना शंकास्पदलाई विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा कुल ५ सय ५६ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाइएको छ। जहाँ १ सय ५३ जनालाई क्वारेन्टाइनमा र ४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ४ बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएकोमा १ जनालाई त्यहाँ राखिएको छ।

त्यस्तै बारामा कुल ३ सय ११ बेड क्षमताको १० वटा क्वारेन्टाइनमा अहिलेसम्म १६ जनालाई राखिएको छ। बारा जिल्लास्थित कलैया अस्पतालमा निर्माण गरिएको १५ वटा आइसोलेसन बेडमा अहिले ८ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको झाले जानकारी दिए।

पर्सामा कुल ६६ बेड क्षमताको ८ वटा क्वारेन्टाइन बनाइएको छ। त्यहाँ २३ जना क्वारेन्टाइनमा र २ जना होम क्वारेन्टाइनमा छन्। पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा बनाइएको ५ बेडको आइसोलेसन वार्डमा अहिले ३ जना शंकास्पद बिरामीलाई राखिएको छ। सप्तरीमा कुल ४ सय ५१ बेड क्षमताको २७ वटा क्वारेन्टाइनमा अहिले १ सय ५८ जनालाई निगरानीमा राखिएको छ। राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ५ वटा आइसोलेशन वार्डमा अहिलेसम्म कुनै शंकास्पद बिरामी नआएको उनले बताए। सिरहामा कुल १ सय ३८ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ६० जना र होम क्वारेन्टाइनमा ६ जना रहेका छन्। त्यस जिल्लामा १८ बेडको आइसोलेशन निर्माण गरिएकोमा त्यहाँ अहिलेसम्म कुनैपनि शंकास्पद बिरामीलाई राखिएको छैन।

धनुषामा कुल १ सय ६३ बेड क्षमताको १० वटा क्वारेन्टाइनमा अहिले ३५ जनालाई भर्ना गरिएको झाले जानकारी दिए। यस जिल्लामा अहिले १८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए। धनुषामा १२ वटा आइसोलेसन रहेकोमा ५ जना शंकास्पद बिरामीलाई त्यहाँ राखिएको छ। त्यस्तै महोत्तरीमा कुल १ सय ५० बेड क्षमताको ७ वटा क्वारेन्टाइन बनाइएको छ। त्यहाँ अहिलेसम्म ८६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा कसैलाई राखिएको छैन। महोत्तरीमा ८ वटा आइसोलेसन वार्ड निर्माण गरिएपनि अहिले ति आइसोलेसनमा कुनैपनि शंकास्पद बिरामी नआएको उनले बताए।

सर्लाहीमा कुल २ सय ३६ बेड क्षमताको ७ वटा क्वारेन्टाइनमा अहिले ५९ जना रहेका छन् भने ३५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए। दुई वटा आइसोलेसन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी नआएको झाले जानकारी दिए। प्रादेशिक अस्पताल जनकपुरबाट थप ४ जना कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको र उनीहरूको रिपोर्ट दुई दिनपश्चात आउने झाले बताए।

प्रदेश २ मा अहिले ५ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १ सय ५१ जना होम क्वारेन्टाइनमा छन्। प्रदेशभित्र कुल २ हजार ४६ बेड क्षमताको ९९ वटा क्वारेन्टाइन र ६९ वटा आइसोलेसन वार्डहरु निर्माण गरिएको छ। क्वारेन्टाइनमा शंकास्पदहरु भर्ना गरिएपनि प्रदेश २ मा हालसम्म परीक्षणको लागि आवश्यक किटको अझै अभाव रहेको निर्देशनालयले जनाएको छ। कोरोनाको पोजेटिभ नेगेटिभ केस छुट्याउने रियलटाइम पिसिआर मेसिन जनकपुरधाम आइसकेको र प्रादेशिक अस्पतालमा जडान गर्ने तैयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

प्रदेश २ मा यदि कुनै पोजेटिभ केस आयो भने त्यसका लागि प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको छुट्टै आइसोलेसन वार्ड समेत स्वास्थ्यकर्मी सहित तयारी अवस्थामा रहेको झाको भनाइ छ। त्यस्तै प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा कोरोना सम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गरी नमुना परीक्षण गर्न स्वास्थ्यकर्मीको टिम समेत खटाइसकिएको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell