PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

के वन्यजन्तुको मासु खाँदा कोरोना भाइरसबाट संक्रमित भइन्छ?



के वन्यजन्तुको मासु खाँदा कोरोना भाइरसबाट संक्रमित भइन्छ?

राजु आचार्य -

घटना १

६ वर्ष अघि यादव घिमिरे र म धादिङ जिल्लाको लापा हुँदै गोरखा जिल्लाको आरुघाट जादैं थियौँ। उक्त क्षेत्रमा वन्यजन्तु सिकार धेरै हुँदो रहेछl नेपालमा सर्प, मुसा, बिरालो , रतुवा, बाँदरलगायत सबैको मासु खाने कुरा सुन्दा अचम्म लागेको थियोl वनमा बन्दुक पड्किनु, पासो बोकेका मानिसहरू प्रशस्त भेटिनु र २ दिनसम्म वनमा हिँड्दा केही पनि नदेखिनुले वन्यजन्तुको सिकारको मात्रा  सहजै अनुमान गर्न सकिन्थ्योl

दोस्रो दिन सोचेभन्दा फरक भयोl हामीले यात्राको अन्ततिर लङ्गुरको एउटा सानो समूह भेट्यौं। लङ्गुर भेट्नुका कारण हामीले स्थानीयलाई सोध्दा उनको जवाफले हामी हैरान भयौँl  ‘खाइन्थ्यो नि सर, उता अफ्रिकातिर यही बाँदरले इबोला कि केबोला भन्ने सारेर मान्छे मारेको छ भन्ने सुनेर नमारेको हो नि।’

घटना २  

नौ वर्ष अघि चितवनको शक्तिखोर जाँदा साना होटेलमा चमेरा बेच्न राखेका थिएl प्रति गोटा १०० मा बेचिएका ती चमेराहरू रक्सीको सितनको रूपमा खान मानिसहरू टाढा टाढाबाट पुग्ने रहेछन्l पासो, लट्ठी आदिको सहायताले मारिने सो चमेराहरू चेपाङ जातिसँग जोडिने गर्छl चेपाङहरूले रुचि पूर्वक सदियौँदेखि यिनको उपभोग गर्दै आएका छन्l चिउरी, चेपाङ र चमेरा विषयमा धेरै पटक चर्चा गरिएको छl

हामीले शक्तिखोरमा होटेलका साहुजीलाई जिज्ञासा राख्यौँ ‘चमेराको मासुमा अनेक रोग हुन् सक्छन्, किन खानु भएको निl झन् तपाई त व्यापारी, रोग लाग्ने सम्भावना तपाइलाई धेरै हुन्छ नि?’ पसलका साहुबाले बिन्दास पारामा भनेका थिए, ’आ कति खाइयो कतिl अहिलेसम्म केही भएको छैनl झन् चेपाङहरुले कति खान्छन्, तिनै बलिया छन् त।’ हामी सँग यसको जवाफ थिएनl

पहाडी क्षेत्रमा पाहा (एक प्रकारको भ्यागुता),  तराइमा क्षेत्रमा घोंगी (एक प्रकारको शङ्ख्य कीरा), मुसा, हिमाली भेगमा नाउरको मासु खानु सामान्य मानिन्छl यद्यपि पछिल्लो समयमा नेपाल सरकारको प्रयासले चोरी सिकारी कम भएको छl यति हुँदा हुँदै पनि च्याखुरा, कालिज, रतुवा, बँदेल, चितुवा आदिको मासु स्वादको लागि तथा औषधिको लागि भनेर खाने चलन अझै पनि कायम नै छl नेपालमात्र नभएर यस मामिलामा अफ्रिकन मुलुकहरू झन् अगाडि छन्l चीनको त झन् कुरै गर्नु परेनl 

कोरोना भाइरस यसरी चर्चित बन्यो

चीनको वुहान सहरमा गत डिसेम्बर १ देखि अनौठो घटनाहरु हुन् थाल्योl केही कामदारहरूमा एउटा अज्ञात रोगले ज्यान लिन थाल्योl ती कामदारहरू यस्तो ठाउँमा काम गर्थे जहाँ सबै खालको वन्यजन्तुहरू जिउँदो वा मासुको व्यापार हुने गर्थ्योl रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या र उच्च ज्वरोका संक्रमितहरुको सङ्ख्या बढ्न थाल्योl केही मानिसहरू मर्न थालेl सरकारले रोगलाई लुकाउने प्रयास नगरेको पनि होइन सुरु सुरुमाl एक महिना कटे पछि रोगको पहिचान गरियो कोभिड-१९ भनेरl अहिले यो रोग विश्वव्यापी बनेको छl मानिसको जीवनसँग जोडिएकोले पनि यो भाइरस सबैको चासोको विषय बनेको छ l

कोरोना भाइरसले यो लेख तयार पार्दासम्म संसारभरीका २०२ देशमा फैलियर ४२, १३० जनाको ज्यान लिसकेको छl विश्वको अर्थ व्यवस्थालाई उठ्न गार्हो  पर्ने गरी असर गर्दै गइरहेको छl 

कोरोना भाइरस के हो?

संसारमा पाइने भाइरसहरू मध्ये कोरोना भाइरस ठुलो परिवारमा पर्दछl यिनीहरू साना-साना ब्याक्टेरियाको औसत आकारभन्दा पनि १०० गुनासम्म सानो हुन्छl त्यसैले पनि साधारण माइक्रोसकोपबाट समेत देखिँदैनl हाम्रो आँखाले देख्ने त कुरै भएनl यो सन् २०१९ मा पत्ता लागेको भाइरस हो र नयाँ पनि होl

भाइरसलाई जीव  वा निर्जीव दुवै मानिन्छl जीव हुनको लागि आफ्नै पुरा कोष हुनु पर्छ तर यसको या त डिएनए वा आरएनए मात्रै हुन्छl  यसले न खाना उत्पादन गर्न सक्छ, न त सास फेर्न सक्छ र न त जीवन चक्र नै हुन्छl विज्ञानको एउटा समूह त्यही  भएर यसलाई बस्तु मात्र मान्दछl तर भाइरस बिरुवा, चरा, जङ्गली जनावर वा घरपालुवा जनावर, ब्याक्टेरिया वा मानिसको शरीरमा पस्छन् र आफू बाँच्छ।

भाइरसले आफू बस्ने स्थान नपाउने हो भने यो निर्जीव जस्तो होl हाम्रो कोषहरूमा पुग्यो भने सजीव जस्तै हुन्छl हाम्रो शरीरभित्र असङ्ख्य भाइरस हुन्छन्l यस्ता भाइरसले हाम्रो शरीरको कोषमा रहेको  डिएनएलाई नियन्त्रण गरेर भाइरस जस्तै डिएनए वा आरएनए बनाउँछन्l भाइरस म्युटेसन भई परिवर्तित भई बढ्दै जान्छl धेरै शरीरभित्रै असर नगरी बस्छन् भने केहीले नोक्सान गर्छन्l र नोक्सान पनि महाप्रलयकारी हुन्छन्l कोराना-१९ तिनै मध्यको एक होl यस्ता नयाँ भाइरससँग लड्ने क्षमता मानिसको प्रतिरक्षा प्रणाली सँग हुँदैनl फलस्वरूप मानिस बिरामी हुन्छन् वा मर्छन्l  तर जति समय बित्दै जान्छ मानिसको प्रतिरक्षा प्रणालीले पनि यो भाइरससँग लड्ने क्षमता मजबुत बनाउँदै लग्छl 

यिनीहरू कसरी सर्छन् त?

यो भाइरस बोसोले घेरिएको प्रोटिनको अणु हो जुन मानिसको खकार, र्‍याल अथवा सिँगानसँग मिसियो भने आफ्नो जैविकस्वरूप परिवर्तन गर्छ जसलाई म्युटिएसन् (उत्परिवर्तन) भनिन्छl  तिनीहरू आक्रामक बहुकोषमा रूपान्तरण हुन्छन्। यो कुनै जीवित कोष नभएको हुनाले यो मर्दैन तर आफैँ सकिएर जान्छ जुन कुरा तापक्रम, आर्द्रता र कस्तो वस्तुमा यो भाइरस टाँसिएर बसेको छ भन्ने कुरामा निर्भर गर्छ।

चमेरामार्फत सालक र सालकमार्फत मानिसमा सरेको विश्वास गरिन्छl अहिले भने मानिसबाट मानिसमा सरिरहेको छl संक्रमित मानिसको ६ फिट नजिक पुग्दा यो सर्ने विश्वास गरिन्छl यो भाइरसद्वारा संक्रमित बस्तुहरू छुँदा पनि यो सर्छl वैज्ञानिकहरू हावाबाट पनि सर्छ कि भनेर चिन्तित छन्l

रोगीले खोक्दा र हाच्छ्युँ गर्दा निस्केका कणहरूबाट अन्य व्यक्तिहरूमा सर्छl यस्ता कणहरू एक पटक खोक्दा वा हाच्छ्युँ गर्दा ३००० देखि १०००० सम्म निस्कन्छन्l स्वास्थ्य मानिसहरू सो संक्रिमित कणको सम्पर्कमा आउँदा भाइरस सर्छl साना साना कणहरु घन्टौंसम्म वातावरणमा  रहन सक्ने भएकोले पनि चिन्ता थपिएको छl

भाइरसहरू हाम्रो मुख, आँखा, नाक वा यस्तै प्वालहरूबाट हाम्रो शरीरमा प्रवेश गर्छl त्यसैले हातलाई अनुहारमा नलैजाने भनेर भनिएको होl मानिसको दिसाबाटसमेत सर्न सक्ने भनेर केही वैज्ञानिकहरूले अनुमान गरेका छन्l कोरोना भाइरस श्वासप्रश्वास रोगसँग सम्बन्धित होl

नयाँ भाइरस भएको हुनाले यसका धेरै आयामहरूको बारेमा अध्ययन हुन् बाँकी नै छl यो भाइरस अत्यन्त कमजोर हुने र बोसोले घेरिने भएकोले साबुनले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने पनि भनिएको होl

हालसम्म कुन रोगमा कुन जनावर दोषी (केही उदाहरणमात्र दिइएको छ)

रोग

कुन वन्यजन्तु वा जीव दोषी मानिएको

इबोला

मुख्य गरी चमेरासहित चिम्पान्जी, गोरिल्ला, बाँदर, दुम्सी र फरेस्ट एन्टीलोपहरु

एचआईभी एड्स

चिम्पान्जी

प्लेग

मुसा, पिउसो(फ्लिज)

सार्स

चमेरा हुँदै  निर बिरालोहरू

मेर्स

चमेरा हुँदै  उँट

रेबिज

कुकुर

इनफ्लुईन्जा

चरा र सुँगुर

निफा भाइरस

चमेरा र सुँगुर

मलेरिया

लामखुट्टे

स्क्रब टाइफस

कीर्नालगायत अन्य कीराहरु

अन्त्यमा,

मानिस स्वभावैले शाकाहारी होl तर पनि यिनले नखाने केही पनि छैनl चीनमा प्रयोग गरिने अत्यधिक वन्यजन्तुको मासुको कारणले नै कोरना फैलिएको भनेर चीन निकै आलोचित हुनु परेको छl वन्यजन्तुको  नजिक जाँदा, तिनलाई पाल्दा, तिनको अङ्गहरूको प्रयोग गर्दा, मासु खाँदा कोरोना-१९  जस्ता अनेक घातक रोगहरू लाग्ने र तिनका असर अपूरणीय हुने निश्चित छl

सन् २०१७ मा चीनमा सरकारको सहयोगमा तयार पारिएको प्रतिवेदनले समेत वन्यजन्तुको व्यापार ७३० बिलियन डलर हुने र यसले १० लाख रोजगार सृजना गरेको उल्लेख छl वुहानबाट पनि चमेरा र सालकको मासुको प्रयोगको कारणले कोरोना फैलिएको विश्वास गरिन्छl चमेरामा पहिलादेखि नै थुप्रै भाइरसहरू भेटिएको र तिनैको म्युटिएसन् (उत्परिवर्तन) ले गर्दा यो अवस्था आएको अनुमान गरिएको छ l हाल चीनले सो बजार र कार्यलाइ अस्थायी रूपमा प्रतिबन्ध गरेको छl पछि के गर्छ हेर्न बाँकी नै छl

नेपालमा पनि वन्यजन्तुको मासु खाने प्रचलन पहिलाको तुलनामा घटे पनि सामान्य नै छl  लेखमा उल्लेख गरिएका शुरुका दुई वटा घटनाहरुबारे अब त्यति बयान गरिरहनु नपर्लाl हामी बाच्ने हो भने यी अबोध प्राणीलाई मार्न छाडौंl

सदियौँ देखि प्रकृतिको दोहन मात्र गर्‍यौँl सबैको बाच्न पाउने  अधिकार कुण्ठित गर्‍यौँl धेरै मानिसहरू अहिले प्रकृतिले बदला लिएको भनेर भनिरहेका छन् l यदि पृथ्वी रहुन्जेल हामी सहजताका साथ रहने हो भने प्रकृतिको सम्मान गर्न सिकौँl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell