PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोनाको सन्त्रास मेटाउन जनकपुरधामका वडामा खटेका जनप्रतिनिधि भन्छन्,' मेयरले सहयोग गरेनन्'



सुमित मिश्र

कोरोनाको सन्त्रास मेटाउन जनकपुरधामका वडामा खटेका जनप्रतिनिधि भन्छन्,' मेयरले सहयोग गरेनन्'

जनकपुरधाम  :  कोरोना भाइरसको महामारीका कारण पूरै विश्वमा त्राहीमाम मचेको छ। यसको चपेटामा परि विश्वका सयौं मुलुक धराशायी बन्दै गईरहेका छन्। वर्तमान अवस्थामा यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन्।

यस्तो बिषम परस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले पूरै देशलाई नै लकडाउन गरेको छ। जनकपुरधाम समेत लकडाउनका कारण प्रभावित भएको छ।  

जनकपुरधाम लकडाउन भएपछि यहाँ दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, विपन्न तथा अति विपन्न परिवारहरु सबैभन्दा बढी मारमा परेका छन्। हातमुख जोड्न पनि उनीहरुलाई समस्या भईरहेको छ। सरकारले लकडाउनका कारण विस्थापित हुनसक्ने अवस्थामा पुगेका वर्गलाई स्थानीय तहको माध्यमबाट राहत दिने निर्णय गरिसकेको छ। काठमाडौं महानगरले त बुधवारबाट राहत वितरण समेत शुरु गरिसकेको छ।

तर, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरुले विस्थापित हुने संघारमा रहेका परिवारहरुलाई राहत दिन पालन गर्नुपर्ने कर्तव्यबाट विमुख भएको देखिएको छ। मारमा परेका त्यस्ता व्यक्तिहरुलाई राहत उपलब्ध गराउनु त परै जाओस स्थानीय सरकारले सान्त्वनासम्म बाँड्न नआएको स्थानीयको गुनासो छ।

एकाध वडाध्यक्षहरुले आफ्नो वडाबासीलाई यस्तो परस्थितिमा मलहम लगाउने प्रयास गरेका छन्। यी वडाध्यक्षहरुले गरेका कार्यहरु बाहेक अन्य जनप्रतिनिधिहरुले केही गरेको देखिदैन।

जनकपुरधाम वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन प्रसाद साह, वडा नम्बर २ का वडाध्यक्ष शिवकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साह,वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायतकाले केही उदाहरणिय कार्य समेत गरेर देखाएका छन्।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले लकडाउनको समयमा आफ्नो वडाको स्थानीयलाई सहज रुपमा आलु, प्याज तथा नून उपलब्ध गराए। ३ का वडाध्यक्ष दिपेन्द्र साहले मास्क वितरण र खाद्यान्न वितरणका लागि आफ्नो वडामा गरीव तथा विपन्नहरुको नामावली संकलन, ४ का वडाध्यक्ष सुदर्शन सिंहले कोरोना भाइरसको संक्रमण रोक्न बजारमा भीड हुन नदिनका लागि बजार व्यवस्थापनमा विशेष ध्यान दिए। केही वडाध्यक्षहरुले आफ्नो वडामा रहेका विपन्न तथा अति विपन्न परिवारलाई राहत समेत वितरण गरे।

यद्यपि अधिकांश जनप्रतिनिधिलाई यस विषम परस्थितिमा समेत जनतासंग कुनै सरोकार नरहेको स्थानीयको दाबी छ।

जनतालाई सुख दु:खमा साथ दिन चाहने वडाध्यक्षहरु समेत नगर प्रमुखबाटै सहयोग नपाएको गुनासो गरेका छन्। आफ्नो वडामा विपन्न तथा अति विपन्नहरुको लगत संकलन गरिरहेका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले कोरोनाको संक्रमण फैलन नदिनका लागि आफूले वडामा मास्क तथा साबुन वितरण गरेको जानकारी गराउँदै नगर प्रमुखबाट त्यस्तो कुनै किसिमको सहयोग नपाएको गुनासो पोखे।

भने,‘नगरपालिकाले विपन्न तथा अति विपन्नको लगत संकलन गर्नका लागि चिठी काट्न बाहेक अहिलेसम्म केही गरेको छैन।’ उनले त सामाजिक सञ्जालमै नगरपालिकाको खुलेर आलोचना गरेका छन्।

यता वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले समेत नगरपालिकाबाट समेत कोरोना भाइरसको संक्रमण रोक्नका लागि कुनै प्रकारको सहयोग नपाएको सुनाए। उनले भने,‘नगरपालिकाबाट सहयोग नपाए पनि आफ्नै स्तरबाट वडावासीलाई मैले सहज रुपमा मास्क, साबुन वितरण गर्नुका साथै आलु, प्याज नून उपलब्ध गराएको छु।’

यी दुई वडाध्यक्ष जस्तैको पीडा वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहको पनि रहेको छ। उनले आफ्नो वडामा संक्रमण फैलिन नदिनका लागि बजार व्यवस्थापनमा विशेष ध्यान दिदै आईरहेका छन्। यद्यपि उपमहानगरपालिकाको विपद व्यवस्थापन कोषमा बाँकी रहेको ८३ लाख रुपैयाँ र प्रदेश सरकारले उपलब्ध गराएको २० लाख रुपैयाँबाट समेत कोरोना संक्रमण रोक्ने नाउँमा रकमको उपयोग नगरिएको वडाध्यक्ष सिंहले बताए।

यता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सामाजिक सञ्जालमा सन्देश दिएर आफूले आफ्नो जिम्मेबारी पूरा गरिसकेको जस्तो महशुश गरिरहेको युवा अभियन्ता सुशिल कर्णले बताए।

कर्णले नगरप्रमुख साहसंग कुनै प्रकारको भिजन नै नरहेकोले अन्य वडाध्यक्षहरु समेत उनकै सिको गरिरहेको बताए ।

नगर प्रमुख नै आफ्नो नगरवासीको खराब अवस्थाप्रति अनभिज्ञ छन् भने वडाध्यक्षहरुले नै के गर्लान भनेर स्थानीयले प्रश्न गरिरहेका छन्।

यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले आफूहरुले विपद व्यवस्थापन समितिको बैठक बसेर कोरोनाको संक्रमण फैलिन नदिनका लागि नगर भरी लामखुट्टेको औषधी छर्किन लगाई रहेको बताइन्।

गरिबहरुलाई हातमुख जोड्न समस्या भएको छ नि ? प्रश्नमा उनले आफूहरु त्यसकै लागि प्रत्येक वडामा लगत संकलनका लागि पत्र काटिसकेको जानकारी गराइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell