PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर मेसिन जडान हुँदै, आजै रातिबाट कोरोना जाँच



सुमित मिश्र

प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर मेसिन जडान हुँदै, आजै रातिबाट कोरोना जाँच

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जाँच गर्ने पोर्टेबल आरटी पिसिआर मेसिन जडान भईरहेको छ।

मेसिन आइपुगेको तेस्रो दिन आज (बिहिबार) जडान कार्य सुरु भएको हो। अस्पतालले बुधबार अपरान्ह ओपीडी भवनको माथिल्लो तल्लामा कोठा उपलब्ध गराएपछि काठमाण्डौंबाट आएका दुईजना प्राविधिक सर्वेन्द्र मधुप र विपिन तिमिल्सिनाले पीसीआर मेसिन जडान गर्ने कार्य सुरु गरेका छन्।

आफूहरुले ठाउँ नै ढिलो गरी पाएकोले मेसिन जडान गर्न ढिलाइ भएको काठमाडौंबाट आएका प्राविधिक टोलीका सदस्य सर्वेन्द्र मधुपले बताए। मधुपले आज साँझसम्म मेसिन जडान गरी रातिदेखि कोरोना जाँच कार्य सुरु भईसक्ने दाबी गरे। उनीहरु केही दिन यहाँ बसेर अस्पतालका ल्याबका प्राविधिकहरुलाई प्रशिक्षणसमेत दिनेछन्।

संघीय सरकारले चीनबाट ल्याइएका ५ वटा पिसिआर मेसिनमध्ये ४ वटा प्रदेशलाई १/१ वटा वितरण गरेको हो। कोरोना परीक्षणका लागि आवश्यक उक्त मेसिन प्रदेश २ को जनकपुरधाम, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीलाई दिइएको छ। प्रदेश १ मा यसअघि नै मेसिन जडान भइसकेको छ भने बागमती प्रदेशको शुक्रराज ट्रपिकल हस्पिटमा चालु अवस्थामा रहेको छ।

यसअघि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन नहुँदा प्रदेश २ बाट नमुना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा पठाउने गरिएको थियो। प्रादेशिक अस्पताल जनकपुरलाई पठाइएको पीसीआर मेसिनले हरेक दिन बढीमा १० वटा जाँच गरी ३ घण्टामै रिपोर्ट दिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell