PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आज थिलथिलो अवस्थामा छ महाशक्ति पनि [ब्लग]



सरोज काफ्ले

आज थिलथिलो अवस्थामा छ महाशक्ति पनि [ब्लग]

महाशक्ति राष्ट्र अमेरिका यतिबेला कोरोनाको आक्रमणबाट थिलथिलो भएको छ। अधिकांश राज्यमा मानिसहरुलाई घरभित्रै बस्ने आदेश छ। अत्यावश्यकबाहेक अन्य समयमा घर बाहिर ननिस्कन आदेश जारी भएको केही राज्यमा करिब तीन साता हुन लाग्यो। अहिले म पनि यही आदेश पालना गरिरहेको छु।

मैले यहाँ जानेर नै लेखेको हुँ कि अमेरिका कोरोना आक्रमणबाट थिलथिलो भएको छ। यहाँ केही उदाहरण छन्। अग्रपङ्तिमा उभिएर लड्ने डाक्टर र नर्सहरुलाई पुग्ने पर्याप्त मास्क, पीपीई छैन। अस्पतालमा पर्याप्त बेड छैन। पुग्ने स्वास्थ्यकर्मी नै छैनन्। यो ब्लग लेख्दासम्म २ लाख १६ हजार अमेरिकी कोरोना संक्रमित भइसकेका छन भने ५ हजार एक सयले ज्यान गुमाइसके।

हरेक दिन राज्यका गभर्नरहरुले गर्ने पत्रकार सम्मेलनमा उनीहरुको अनुहार बोल्छ- हामी सजिलै जित्न सक्दैनौं भनेर। आफ्नो प्रशासनले गरेका कामको फेहरिस्त दिन्छन्। केही त गरेकै छन्। तर, पर्याप्त देखिँदैन। पत्रकारहरुको प्रश्नको जवाफ दिनैपर्छ। पछिल्लो साता दैनिक २० हजार भन्दा धेरैको दरमा संक्रमित बढेका छ्न्। बढ्ने क्रममात्रै केही घटे पनि यहाँका उच्चपदस्थले राहत महशुस गर्ने अवस्था छ।

अब अलिकति यहाँको दिनचर्याका बारेमा लेखौं। अधिकांश राज्यले घरै बस्ने आदेश जारी गरेका छन्। धेरै नेपालीहरु बस्ने भर्जिनिया र मेरिल्याण्डमा अलि कडा जरिवानासहित घरै बस्ने नियम लागू गरिएको छ। यहाँ राज्य सरकारको आदेश पालना नगरे तीन महिना जेल सजाय र २५ सय डलरसम्म जरिवाना गर्ने भनिएको छ।

एक सातामा नौ वटा राज्यमा बस्ने साथीहरुसँग कुरा गरेँ। सबैतिर तनाव उस्तै छ, बसैमा डर उत्तिकै छ। तर, यहाँ अत्यावश्यक सेवामा राखिएका क्षेत्रमा छुट छ। खाद्यवस्तु, औषधी, अस्पताल, रेष्टुरामा खाना लिन जाने सुविधा छ। म बसेको क्यालिफोर्निया राज्यमा तीन सातादेखि यस्तो आदेश लागू छ र आगामी मे ३ सम्म रहने छ। यहाँ चाहिँ आग्रह छ, सूचना जारी गरिएको छ। पुलिसले बाटोमा रोकेर सोधखोज धेरै गरेको छैन। मानिसहरु आफैँ घरभित्रै बसेका छन्, बढी डर आँखाले नदेखिने भाइरससँग छ। स्टोरहरु खुल्ला छन्, खानै नपाउने अवस्था छैन। यत्ति हो, भाउ केही बढेको छ, खोजेका सबै सामान सजिलै पाइँदैन। सडकमा गाडीको संख्या निकै पातलो छ। हरेक दिन निकै हतार र भरिभराउ देखिने सडक अहिले सुनसान जस्तै लाग्छन्।

न्यूयोर्क र भर्जिनायामा बस्ने करिब तीन सय नेपालीलाई कोरोना संक्रमण भएको समाचार सार्वजनिक भइसकेका छन्। तर, संक्रमित नेपालीको अझै संख्या यकिन छैन। केही नेपाली संक्रमण मुक्त भएर घर पनि फर्किएका छन्। केही संक्रमितहरु घरमै आइसोलेसनमा बसिरहेका छन्। रोग लाग्नुभन्दा पनि डरले धेरै सताएको छ।

अब थोरै रोजगारीको कुरा पनि गरौं। बाहिरबाट हेर्दा अधिकांश नेपाली बेरोजगार भइसके जस्तो देखिन्छ। तर, अवस्था त्यस्तोमात्रै होइन। सूचना प्रविधि (आइटी)को क्षेत्रमा काम गर्ने अधिकांशको रोजगारी जिवितै छ। उनीहरु मध्ये धेरैले घरबाटै काम गरिरेहेका छन् भने केहीमात्रै कार्यालय गएका छन्। त्यस्तै, खाद्यवस्तु बिक्री गर्ने स्टोरमा काम गर्नेहरुको पनि जागिर गएको छैन। त्यस्तै ग्याँस स्टोरहरुमा काम गर्नेको पनि रोजगारी गएको छैन। यी अत्यावश्यक सेवामा परेकाले खुल्ला छन्। तर, कामको अवधी भने घटेको छ। त्यस्तै, अस्पतालमा काम गर्नेहरु पनि नियमित छन्।

होटल, रेष्टुरा, क्याफे, सैलुन जस्ता क्षेत्रमा काम गर्नेहरुको रोजगारी भने गुमेको छ। पहिलो चरणमै यस्ता व्यवसाय बन्द गर्न सरकारी निकायले उर्दी जारी गरेका थिए। यी व्यवसाय बन्द छ कि छैन भनेर प्रहरी प्रशासनले पनि अनुगमन नै गरेको थियो। यी क्षेत्रमा पनि निकै धेरै नेपाली काम गर्छन्। उबर, लिफ्ट जस्ता हेल राइडिङमा धेरै नेपाली संलग्न छन्। विशेषगरी न्यूयोर्क र क्यालिफोर्नियामा उबर र लिफ्टमा धेरै नेपाली संलग्न छन्। उनीहरु मध्ये धेरै अहिले काममा छैनन्। कोरोना सक्रमणमा यो पनि जोखिमयुक्त क्षेत्र मानिएको छ। रोजगारी गुम्यो भन्दा पनि अहिले अधिकांश नेपाली त्रसित अवस्थामा छन्।

राज्यले यस्ता बेला बलियो उपस्थिति देखाओस् भन्ने आम चाहना हुनेरहेछ। अप्ठ्यारो अवस्था भएकाले सबैले राज्यको आड भरोस खोजेको सजिलै थाहा पाइन्छ। हरेक अमेरिकीहरुलाई अहिले केन्द्रीय सरकारको तर्फबाट अधिकतम् १२ सय डलरको राहत प्याकेज घोषणा गरिएको छ। १६ वर्ष मुनिका बालबालिका भए उनीहरुले प्रतिव्यक्ति ५ सय डलर पाउने छन्। सामाजिक सुरक्षा नम्बर हुने सबै यस्तो राहतमा समेटिने छन्। यसमा वार्षिक आम्दानीको सीमा भने तोकिएको छ। बेरोजगार भएकाहरुलाई यो पैसा थोरै हो। तर उनीहरुलाई सरकार भएको अनुभूति भने दिलाइएको छ यसले।

यी बाहेक राहतका अरु प्याकेज पनि छन्। छ महिनाका लागि बेरोजगार भत्ता दिने, घरबहाल तीन महिनापछि मात्रै तिर्दा पनि हुने, सवारी साधन र घरको किस्ता पनि तीन महिनासम्म पछि सार्न पाउने, कर बुझाउने म्याद तीन महिना थप लगायतका राहत नागरिकका लागि छन्। साना तथा ठूला व्यवसायीलाई पनि केन्द्र सरकारकै तर्फबाट राहत घोषणा भएका छन्।

वर्तमान प्रशासनको अमेरिकीहरुले पनि आलोचना गरेको छ। समयमै उचित कदम नचाल्दा कोरोनाबाट सर्वशक्तिमान अमेरिकाले पनि निकै ठूलो मूल्य चुकाउँदै छ भन्ने विश्लेषण धेरै अमेरिकीहरुकै छ। गार्जियन जस्तो गहन पत्रिकाले दिग्गजहरुको अनुमान समेटेर अमेरिकाले विश्वव्यापी प्रभूत्व गुमाउँदै छ भनिसक्यो। म त्यस्तो क्षमता राख्दिन तर हरेक दिनका गतिविधि हेरेर भन्न सक्छु - आज थिलथिलो छ अमेरिका।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell