PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

भोकसँग लड्न 'हात धोएर लागि पर्ने' कि रोगसँग लड्न 'हात धोएर टहरामै बस्ने?'

भोकसँग लड्न 'हात धोएर लागि पर्ने' कि रोगसँग लड्न 'हात धोएर टहरामै बस्ने?'

स्वेच्छा राउत/पहिलोपोस्ट


टाँगिएको तुल नयाँ नै देखिन्छ जसमा लेखिएको छ - 'दृष्टिविहीन, अपाङ्ग र वृद्ध-वृद्धा आश्रम उद्घाटन कार्यक्रम'।

तुलको ठीक तल कालो रङको प्लास्टिक-म्याट्रेस ओच्छ्याएर बसेका छन् टेकबहादुर मग्रान्ती। उनकी श्रीमती लक्ष्मी छोरा अभिनाषको टाउकोमा ठुङ मार्दै थिइन्।

पटकपटक कसैलाई फोन रिडायल गरिरहेका थिए टेकबहादुर। लक्ष्मीले दिक्क मान्दै भनिन् – 'छोड्नु क्या। फोन उठ्दैन। हिजो दु:ख पाएर पुगेन?'

नजिकै बसेका टंकबहादुर राउतले दोहोर्‍याए – 'हिजो बेक्कार दु:ख पाइयो।'

अन्तिम प्रयासमा नि फोन उठेन। आजित भएपछि टेकबहादुर बोले – 'आफै गर्लान् नि।'

अघिल्लो दिन गोकर्णेश्वर, नयाँपाटीदेखि जोरपाटीसम्म हिँड्दै पुगेका थिए उनीहरु। गोकर्णेश्वर नगरपालिकाको कार्यालयमा मेयरलाई खोज्दै, राहतको आशमा। मेयर सन्तोष चालिसेले नै भनेका थिए उनीहरुलाई – 'पन्ध्र दिने लकडाउनलाई आवश्यक खाद्यान्नको सूची बनाएर ल्याउनु। उपलब्ध हुन्छ।'

आश्रमका सञ्चालक हुन टेक र टंक। त्यसैले त्यहाँ रहेका ३० जनालाई आवश्यक खाद्यन्नको सूची बनाए। निवेदन लेखे। र, निस्किए।

करिब सात किलोमिटर लामो बाटो। दृष्टिविहीन टेकको सहारा बनेर अघि लागेका थिए टंक। त्यसैले टेकले सेतो छडी बोक्नु परेन। दुई जना पुगे नगरपालिका कार्यालय। तर, मेयरसँग भेट भएन।

निवेदन र आवश्यक सामाग्रीको सूची सुरक्षाकर्मीको हातमा थमाएर फर्किए, फेरि त्यही बाटो। जाँदा त निवेदन थियो, फर्कँदा रित्तो हात।

राहतको आशा गरेर आश्रमको मुल ढोकामै बसेर पर्खिरहेकाले घाँटी तन्काए। तर, राहत पाइएन भन्ने थाहा पाउन समय लागेन।

यस आश्रममा प्राय दृष्टिविहीन छन्। केही अन्य शारीरिक अपाङ्गता भएकाहरु र केही वृद्ध वृद्धा पनि।

उनीहरु सडकमा गीत गाएर वा मागेर जिविकोपार्जन गर्थे। तर, काठमाडौं महानगरपालिकाले त्यसरी मागेर खान प्रतिबन्ध लगायो। असाहय र घरविहीनलाई आफै छाना, खाना र नाना दिने योजनासहित अभियान सुरु गर्‍यो, सक्नेलाई रोजगारीको अवसरसहित।

'हामीलाई पनि महसुस भयो मागेर खानुभन्दा केही गरेर खानु ठीक। तर, हामी महानगरपालिकाले लगेर राख्ने ठाउँमा बस्न तयार थिएनौं। त्यसैले आफैँ रोजगार सिर्जना गर्ने र आफूजस्तै गाएर वा मागेर खानेहरुका लागि आश्रम बनाउने योजना बनाएका हौं,' टेकले आश्रम बनाउनुको कारण सुनाए।

भोजपुरका ३५ वर्षीय उनी सडकमा गीत गाएरै कमाउँथे। दुई सन्तान र एक श्रीमतीसहितको परिवार चलाउँथे। तर, महानगरपालिकाले पटकपटक स्पिकर, माइक लगायत सामाग्री उठाउने, आश्रममा लगेर राख्ने गरेपछि मारमा परे।

त्यस अवस्थामा आफ्नै बुतामा आश्रम खोल्ने जोश र योजनासहित आए साथी टंक। उनले दृष्टिविहीनलाई केन्द्रमा राखेर महानगरको जस्तै आश्रम बनाउने सुनाए।

ओखलढुंगाका ५६ वर्षीय टंकलाई दृष्टिविहीनहरुसँग नजिक चाहिँ अभावले बनायो। नौ वर्षअघि उच्च रक्तचापका कारण ढलेपछि उनले मुखबाट खान सकेनन्। पाइपको सहारामा झोलिलो पदार्थमात्र खानुपर्ने भयो। अवस्था यस्तै छ अझै पनि। लगत्तै जेठो छोरा दुर्घटनामा परे। पक्षघात भयो। उपचारका लागि अनेक गरे, कोटेश्वरमा रहेको घर बेचे। बाबुछोरा दुवैलाई ठीक भएन। अनि दृष्टिविहीनहरुको छडी बनेर टोल टोल डुल्न थाले, गीत गाउँदै।

जस्तोसुकै अभाव भए पनि महानगरपालिकाको पहलमा मानव सेवा आश्रममा गएर बस्न भने तयार भएनन् उनीहरु। 'हात खुट्टै नभएका, होस् नै नभएकाहरुलाई त्यसरी एकै ठाउँमा राखिन्छ। हामीले केही न केही गर्न सक्छौं भन्ने आँटेर यो अवधारणा बनाएका हौं,' टंकले भने।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले दुई वर्ष लगातार सीपमूलक तालिमको व्यवस्था गरिदिएपछि उनीहरुलाई हौसला मिल्यो। आफै साबुन र सर्फ उत्पादन गर्ने अनि दृष्टिविहीनको मागेर खानु पर्ने बाध्यताको अन्त्य गर्ने भन्दै आश्रम निर्माणमा जुटे।

गोकर्णेश्वरकै वडा नम्बर १ स्थित नयाँपाटीमा दुई रोपनी जग्गा भाडामा लिए। मुल सडकबाट करिब डेढ किलोमिटर भित्र, वार्षिक ३० हजार तिर्ने सर्तमा। त्यहाँ जस्ता र बाँसको टहराहरु बनाउन सुरु गरे - ६० दृष्टिविहीन परिवारलाई आश्रय दिने लक्ष्यसहित।

यसका लागि केही रकम आर्थिक सहयोग गरिन् दिलशोभा श्रेष्ठले पनि। बाँकी लगानी टंक, टेकहरुकै।

तर, जम्मा ९ वटा कोठा तयार पार्न सके उनीहरुले। तीन महिना भयो 'दृष्टिविहिन, अपाङ्ग र वृद्ध-वृद्धा आश्रम'का ती कोठामा नौ परिवार बस्न थालेको। टहराका लागि छुट्याइएको बाहेक खाली जग्गामा तरकारी खेती गर्ने, सक्नेले कुखुरा पाल्न तम्सिए।

'तर भएको पैसा सबै बस्ने ठाउँ बनाउँदै सक्कियो। त्यसैले सबै काम तत्काल सुरु गर्न गाह्रो थियो हामीलाई,' टेकबहादुरले सुनाए। त्यसैले कोही त्यहाँ रहेर पनि कमाउन हिँड्थे। काम उही, लुक्दै भाग्दै सडकमा गीत गाउने।
बसाइ व्यवस्थित हुँदै जाँदा साबुन उत्पादनका लागि सामग्रीहरु जम्मा गर्दै थिए। चैत महिनाभरि साबुन उत्पादन गर्ने र स्थानीय बजारमा बेच्ने। जसका लागि सहयोगको प्रतिवद्धता जनाएका थिए, श्रीकुमार श्रेष्ठले। नयाँ वर्ष गज्जव हुनेमा ढुक्क थिए उनीहरु।

तर, कोरोना भाइरस संक्रमणका कारण चीनबाट सामान आउन ठप्प भयो। त्यसपछि नेपाल नै लकडाउनमा। साबुन उत्पादनको सामान परको कुरा गीत गाउँदै हिँड्नेहरु निस्कन समेत पाएनन्। आमाघरबाट केही साताको अन्तरालमा आउने दुई बोरा चामल पनि आउन छाड्यो। व्यक्तिगततर्फबाट आउने सहयोगहरु रोकिए। अभाव सुरु भयो।

'त्यसैले हामीले मेयरलाई गुहारेका हौं,' टंकले भने।

नगरपालिकाका मेयर सन्तोष चालिसे भने उनीहरुको अस्पष्टताका कारण छुट्याइएको राहत पनि दिन नपाएको सुनाउँछन्।

'सुरुमा आश्रममा ३० जना रहेको बताउनु भयो। हामीले पनि जिम्मेवारीवोध गर्‍यौं र आवश्यक सामानको सूची बनाउन भन्यौं। तर अहिले त ६० परिवार छौं भन्दै आउनु भएको छ,' पहिलोपोस्टसँगको कुराकानीमा मेयरले भने, 'त्यसो हुँदा व्यवस्थापकीय पाटोमा समस्या आउँछ नि।'

उनका अनुसार गोकर्णेश्वर नगरपालिकाका प्रत्येक वडामा विपन्न र लकडाउनकै कारण प्रभावित भएका श्रमजीवी र विपन्नका लागि राहत दिन सीमित बजेट छुट्याइएको छ। त्यसैले नगरपालिकाभर विभिन्न वडामा छरिएर रहेका दृष्टिविहीन एवम् अन्यलाई टंकहरुको संस्थामार्फत् राहत दिन नमिल्ने उनको तर्क छ।

भने, 'आश्रममै रहेकाहरुको लागि भने नगरपालिका तत्काल राहत प्रदान गर्न तयार छ। उहाँहरुको आश्रम रहेको वडा नम्बर १ सँग समन्वय गर्छौं।'

टेकबहादुरका अनुसार नगरपालिका भित्रका अपाङ्गता भएकाको ६० परिवार यहीँ बसेर, खाएर काम गरे बापत् मासिक पन्ध्र सय पनि दिन्छौं भन्ने वचन दिएका थिए। लकडाउनका कारण टहराको काम पनि रोकियो। अनि साबुन उत्पादनको पनि। 'हाम्रो भर पर्नु भएकाहरुको जिम्मेवारी बहन गर्नुपर्छ भन्ने सोचेर नगरपालिकालाई प्रस्ताव गरेका हौं,' उनले भने, 'वडा कार्यालयले राहत वितरण गर्छ भने ठीक छ।'

वडाहरुले राहत उपलब्ध गराउने जानकारी सबैलाई दिइसक्दा पनि उनलाई फोन आउने क्रम रोकिएको छैन। उनी भने अलमलमा छन् आश्रमकै अभावका कारण।

धन्न वरपर गाउँमा केही मनकारीहरु छन्। आफ्नै बारीमा उब्जाएको तरकारीहरु ल्याइँदिन्छन्। नजिकैको एक धार्मिक संस्थाले केही दिनअघि ल्याइदिएको दुई बोरा चामलले टरेको छ, छाक। केही स्थानीय संस्थाहरुले थप राशन ल्याइदिएकाले केही दिन सजिलै चल्छ उनीहरुको।

'लकडाउन नभइदिएको भए पनि काम हुन्थ्यो। आफ्नै कमाइ हुन्थ्यो। यसरी मुख ताकेर बस्नु पर्दैनथ्यो,' उनले भने।

आश्रितहरुको गुनासो सुन्छन् – भएको चामल सकेपछि के गर्ने? उनीसँग जवाफ छैन। पुन: फोन नै रिडायल गर्नतिर लाग्छन्। रिङब्याक टोनमा 'साबुन पानीले हात धुनु', 'घरमै बस्नु' भन्ने निर्देशन सुन्छन्।

मनभरी चाहिँ चिन्ता छ भोकसँग लड्न 'हात धोएर लागि पर्ने' कि रोगसँग लड्न 'हात धोएर टहरामै बस्ने?'



ट्रेन्डिङ पोस्ट

Ncell