PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश २ मा स्वाब परीक्षण गरिएका ७८ मध्ये ३४ को रिपोर्ट नेगेटिभ, अन्यको रिपोर्ट आउन बाँकी



सुमित मिश्र

प्रदेश २ मा स्वाब परीक्षण गरिएका ७८ मध्ये ३४ को रिपोर्ट नेगेटिभ, अन्यको रिपोर्ट आउन बाँकी

जनकपुरधाम : प्रदेश नम्बर २ का जिल्लाहरुमा रहेका विभिन्न आइसोलेसन वार्डमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएकामध्ये हालसम्म ७८ जनाको थ्रोट स्वाब परिक्षण गरिएको छ। त्यसमध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र ४४ जनाको रिजल्ट आउन बाँकी रहेको बताइएको छ।

भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको छ। यो संख्या प्रदेश २ मा पनि बढ्दै गइरहेको देखिएको छ। प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म ७ सय ७१ जना शंकास्पद व्यक्तिलाई विभिन्न जिल्लामा रहेका १ सय २७ वटा क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।

विदेशबाट फर्केर नेपाल आएका ७ सय ७१ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा कुल ५ सय ३१ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाइएको छ। जहाँ १ सय ८२ जनालाई क्वारेन्टाइनमा र ४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ९ बेड क्षमताको आइसोलेसन वार्डमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ।

त्यस्तै बारामा कुल ३ सय ७९ बेड क्षमताको ११ वटा क्वारेन्टाइनमा अहिलेसम्म ४० जनालाई राखिएको छ। बारा जिल्लास्थित कलैया अस्पतालमा निर्माण गरिएको २० वटा आइसोलेसन बेडमा अहिले ५ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको झाले जानकारी दिए। बारामा अहिले १६ जना होम क्वारेन्टाइनमा छन्।

पर्सामा कुल १ सय ७१ बेड क्षमताको ७ वटा क्वारेन्टाइन बनाइएको छ। त्यहाँ २१ जना क्वारेन्टाइनमा र ४ जना होम क्वारेन्टाइनमा रहेका छन्। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा बनाइएको ८ बेडको आइसोलेसन वार्डमा अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ।

सप्तरीमा कुल ४ सय ९५ बेड क्षमताको २९ वटा क्वारेन्टाइनमा अहिले २ सय २३ जनालाई निगरानीमा राखिएको छ। राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ९ वटा आइसोलेसन वार्डमा अहिले कुनै शंकास्पद बिरामी नरहेको उनले बताए।

सिरहामा कुल १ सय ३८ बेड क्षमताको १९ वटा क्वारेन्टाइनमा अहिले १ सय ४१ जना र होम क्वारेन्टाइनमा ७२ जना रहेका छन्। त्यस जिल्लामा १३ बेडको आइसोलेसन रहेकोमा त्यहाँ अहिलेसम्म कुनैपनि शंकास्पद बिरामीलाई राखिएको छैन।

धनुषामा कुल ३ सय २६ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले ७४ जनालाई राखिएको झाले जानकारी दिए। यस जिल्लामा अहिले २० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए। धनुषामा १२ वटा आइसोलेसन रहेकोमा ५ जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ।

त्यस्तै, महोत्तरीमा कुल २ सय २५ बेड क्षमताको १२ वटा क्वारेन्टाइन बनाइएको छ। त्यहाँ अहिलेसम्म ४ सय ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ३७ जनालाई राखिएको छ। महोत्तरीमा ८ वटा आइसोलेसन वार्ड निर्माण गरिएपनि अहिले ति वार्डमा कुनैपनि शंकास्पद बिरामी नआएको उनले बताए।

सर्लाही जिल्लामा कुल २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ५३ जना रहेका छन् भने ३२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए। दुई वटा आइसोलेसन वार्ड निर्माण गरिएपनि अहिले ति आइसोलेसनमा कुनैपनि शंकास्पद बिरामी नआएको झाले जानकारी दिए।

त्यस्तै प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४ जना बिरामीको थ्रोट स्वाब परिक्षण गरिएको र उनीहरूको रिपोर्ट आज साँझसम्म आउने झाले बताए। यता सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा रहेका ९ जनाको थ्रोट स्वाब परिक्षणका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा सबैको रिजल्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।

प्रदेश २ मा अहिले ७ सय ७१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने ९ सय २५ जना होम क्वारेन्टाइनमा छन्। प्रदेशभित्र कुल २ हजार ५ सय १ बेडको १ सय २७ वटा क्वारेन्टाइन र ८१ वटा आइसोलेसन वार्डहरु निर्माण गरिएको छ। प्रदेशमा अहिले १४ जना आइसोलेसनमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell