PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लकडाउनका कारण मजदुरको चुलोमा बलेन आगो : पुगेन सरकारको राहत, भोक मार्न गहना बेचेर खाद्यान्नको जोहो



सुमित मिश्र

लकडाउनका कारण मजदुरको चुलोमा बलेन आगो : पुगेन सरकारको राहत, भोक मार्न गहना बेचेर खाद्यान्नको जोहो
फाइल फोटो

जनकपुरधाम : कोरोना भाइरसका कारण विश्व आक्रान्त बनेको बेला सरकारले नेपालमा यसको संक्रमण फैलिन नदिन लकडाउन घोषणा गर्‍यो। लकडाउन अत्यावश्यक भए पनि यसले दैनिक ज्यालादारी गरी जीविका चलाउने परिवारलाई भने निकै मार परेको छ। काम नभएपछि दैनिक छाक टार्न समेत उनीहरूलाई धौ-धौ परेको छ।

सरकारले मजदुर परिवारको राहतको लागि सहयोगको घोषणा नगरेको पनि होइन। तर मजदुरले राहत पाउन सकेका छैनन्। जनकपुरका कतिपय मजदुर परिवार गहना बेचेर खाद्यान्न जोहो गर्न बाध्य छन्।

लकडाउनकै कारण जनकपुरधामका राजा सहनीको दैनिक कष्टकर बनिरहेको छ। ठेला चलाएर जीविका चलाउँदै आएका सहनीको ठेला लकडाउनसँगै 'लक' छ। ५ जनाको परिवारलाई उनले दुई छाक जुटाउन सकेका छैनन्। उनका डेढ वर्षीय छोरा आदित्य बिरामी परेपछि उनलाई झन् समस्या थपिएको छ। भोक र रोगले लकडाउन नमानेपछि सहनीले गहना बेचेर एक हजार रुपैयाँ जोहो गरे। केही पैसाले बिरामी परेको छोराका लागि औषधि किने र बाँकी रहेको पैसाले खाद्यान्न सामग्री।

सहनीले भने ‘सुन्दै छु राहत विभिन्न ठाउँमा बाँडिएको छ, खै हामीलाई थाहा छैन। खानेकुराको जोहो गर्न नसकेरै मैले सुन बेचेको हुँ।’

सहनी उदाहरणमात्रै हुन्। सहनीजस्ता हजारौँ छन् जो भोकभोकै जसोतसो दिन काटिरहेका छन्।

सरकारले लकडाउनका कारण मारमा परेका मजदुर र विपन्नलाई स्थानीय तहमार्फत खाद्यान्न सहयताको आश्वासन बाँड्यो। तर कार्यान्वयन भएको छैन।

जनकपुरधाम उपमहानगरपालिकासँग विपद् व्यवस्थापनका लागि लाखौँ रुपैयाँ कोषमा छ। तर, नगर प्रमुखले नै रकम खर्च गर्न नमानेपछि मजदुर सहायताविहीन भएका छन्।

दजनौँ मजदुर लकडाउनका कारण ज्यालादारी छुटेकोले आफूहरूलाई छाक टार्न समस्या भइरहेको बताउँछन्।

लकडाउनको कारण आफूहरूको कमाउने बाटो बन्द भएको र कहीँबाट खाद्यान्न राहत समेत नपाएको माछा मार्ने काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने रामप्रसाद सहनीले बताए। घरमा राशन नरहेकोले बाँच्नै मुस्किल हुन थालेको उनले बताए।

घरमा चामल सकिएको र बाहिरबाट किनेर ल्याउने पैसा नभएकोले दुई दिनदेखि भोकै बस्नु परेको मजदुर सुवोध मण्डलले बताए। घरमा ५ जनाको परिवार भएकोले दैनिक मजदुरी छुटेपछि अहिले रोगले भन्दा पनि भोकले आफूहरू मर्ने अवस्था आएको उनले सुनाए।

सरकारले घरबाट बाहिर ननिस्कन भनेको र खाना, पानी केही नपाएर भोकभोकै मर्नुपर्ने अवस्था आएको अर्की मजदुर कमला श्रेष्ठले बताइन्। सरकारले घरभित्रै बस्न भनेको निर्देशन आफूहरूले पालना गर्दा अहिले भोकै बस्नुपर्ने अवस्था आएको र छोराछोरीलाई माड खुवाएर ज्यान बचाएको श्रेष्ठले बताइन्।

जनकपुरधाममा मात्रै यस्ता दजनौँ गरिब मजदुर छन् जसलाई लकडाउनले एक छाक खान पनि बन्द गराइदिएको छ।

सरकारले प्रचारमुखी रुपमा मात्र राहत वितरण गरेको जनकपुरधाम –४ का रामबाबु राउत आरोप लगाउँछन्। उपमहानगरपालिकाले लकडाउनको १३ दिन बितिसक्दा समेत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूका लागि राहतको व्यवस्था गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell