काठमाडौं : कोरोना भाइरसको दोस्रो केस देखिने बित्तिकै सरकारले लकडाउन घोषणा गर्यो। संक्रमण रोकथामका लागि भन्दै गरिएको लकडाउनका कारण उपत्यका ठप्प। अत्यावश्यक बाहेक सबै सवारी साधन चलाउन रोक लगाइयो। जसका कारण जनजीवन प्रभावित नहुने कुरै भएन।
पहिलो दिन अर्थात् चैत ११ गते बित्यो।
भोलिपल्ट फेसबुकमा एउटा पोस्ट सार्वजनिक भयो – 'हामी चार भाइ २४ घण्टा सेवामा तत्पर छौं।'
लकडाउनका कारण ठप्प उपत्यकाभर आपत्कालीन अवस्थामा, विशेषगरी अस्पताल जानका लागि सवारी सेवा दिने जानकारीसहित। त्यो पनि निजी कारमा।
‘चार भाइ’ अर्थात् – सुभाष श्रेष्ठ, सुधिर रेग्मी, राज श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ।
सबै बुढानीलकण्ठ, चपलीका स्थानीय। २०७२ सालको भूकम्पले नजिक बनायो उनीहरुलाई। सँगै राहत वितरणदेखि उद्धार कार्यहरुमा संलग्न भए। सामाजिकमात्र नभएर भावनात्मक रुपमा पनि जोडिए। त्यसैले बेला बखत् भेटघाट भइरहन्थ्यो।
सुभाष र सुधिर चाहिंँ व्यवसायिक साझेदार पनि हुन्। दुवै चक्रपथस्थित आर.एस अन्नपूर्ण ट्राभल्सका सञ्चालक। लकडाउन अगावै कोरोना भाइरस संक्रमणकै कारण उनीहरुको व्यवसाय प्रभावित भइसकेको थियो।
राज श्रेष्ठ निर्माण सामग्री डिपो सञ्चालक, उनको पनि अवस्था उस्तै। अनि कृष्णगोपाल चाहिंँ विद्युतीय सामाग्री बेच्छन्।
लकडाउनपछि प्रभावित सबैको व्यवसाय ठप्प।
अब के गर्ने? सुभाषले सुधिरलाई सोधेका थिए।
+++
२०५७ साल। बुढानीलकण्ठका सुभाष श्रेष्ठकी आमाको पाठेघरको शल्यक्रिया भएको साल। उनी सम्झन्छन् – अस्पतालबाट डिस्चार्ज भएको तेस्रो दिन उनकी आमाको घाउ बल्झियो। दु:खेर रुन कराउन थालिन्। तर, अस्पताल लैजान सकिने अवस्था थिएन। किनकि त्यस दिन काठमाडौंमा कर्फ्यु थियो।
घरमा उनकी आमा छट्पटाइ रहेकी थिइन्। उनले एम्बुलेन्सलाई फोन गरे, कोही आउन मानेनन्। देशमा राजनीतिक स्थिति नै उस्तै थियो। त्यसमाथि कर्फ्यु। अस्पतालमा फोन गरे, प्रहरी प्रशासन गुहारे।
घण्टौं लामो संघर्षपछि मात्र आमालाई अस्पताल पुर्याउन सम्भव भयो। त्यो पनि ठाउँठाउँको जाँचपछि।
'मेरी आमालाई अस्पताल त पुर्याइयो तर त्यो पीडा, एम्बुलेन्स खोज्ने चक्करमा पाएको दु:ख कहिल्यै बिर्सन सकिँन,' सुभाषले त्यस दु:खद् घटना सम्झिए।
सुधिरले पनि सुभाषको जस्तै अवस्था भोगेका रहेछन्। २०५८ साल जेठ २० गते। दरबार हत्याकाण्डको भोलिपल्ट। काठमाडौंका सडकमा मानिसहरुको भिड थियो। सवारी साधन ठप्प। सुधिरकी आमा भने थल्लिएकी थिइन्। अस्पताल पुर्याउन उनले पनि उस्तै कष्ट भोग्नु पर्यो।
'मैले त प्रहरीको खुट्टै ढोग्नु पर्यो,' सुधिर सम्झन्छन्।
सम्झन्छन् पीडाले छट्पटाइ रहेकी आमालाई अस्पताल लैजान नपाएर रुँदै कराउँदै हिँडेका क्षण। एम्बुलेन्सले फोन उठाएको थिएन, प्रहरीले नकारेका थिए।
'आफैलाई परेपछि महसुस गरिने रहेछ दु:ख,' सुधिरले भने।
दुवैको समस्या मिल्यो, भोगाइ मिल्यो। लकडाउनमा त्यस्तै अवस्था कतिले भोग्नु पर्ला? आफैसँग प्रश्न गरे। जवाफ खोजेनन् समस्याको समाधानतर्फ लागे। आम मानिसका लागि आपत्कालिन अवस्थामा अस्पताल ल्याउने, पुर्याउने सुविधा दिने योजना बनाए।
आज उनीहरु सडकमा खटिएका छन्। अरु कसैले त्यो अवस्था भोग्न नपरोस् भनेर।
+++
सुभाषको चार वटा गाडी परिचालन हुने भए। दुवैलाई साथ दिने भए राज र कृष्णगोपालले पनि।
'एक परोपकारी मान्छेले राखेको प्रस्ताव कसरी नकार्न सक्नु? झन् स्थिति यस्तो छ। कसैले उपचार नपाएरै ज्यान गुमाउनु पर्यो भने? उसको आफन्तलाई कति पीडा हुन्छ होला? राज्यलाई पो लकडाउन गरेपछि जिम्मेवारी सक्यो भन्ने हुन्छ,' सुधिरले भने।
चार भाइको टोलीले बुढानीलकण्ठ नगरपालिकाबाट सेवा सुरु गर्ने अनुमति लियो। मेयरले लेखेको निवेदनसहित जिल्ला प्रशासन कार्यालय पुगे। सवारी पास लिन। केही अप्ठ्यारा भोग्नु पर्यो। तर, पछि हट्नु परेन।
काठमाडौं, भक्तपुर र ललितपुरभर जहाँ पनि सेवा दिने प्रतिवद्धतासहित लेखेको पोस्ट सामाजिक सञ्जालमा भाइरल भए। त्यसपछि उनीहरुको फोनले विश्राम पाएको छैन, चार भाइले पनि।
कसैले फोन गर्छन्। बोलाएकै ठाउँमा पुग्छन्। जानु पर्ने अस्पतालसम्म पुर्याउँछन्। केहीबेर पर्खन्छन् र लिएर फर्कन्छन्।
'हामी पुग्दा मुहारमा छाउने आशा र अस्पताल पुगेपछि उनीहरुले फेरेको लामो सासले खुब आनन्द दिन्छ,' सुभाष भन्छन्, 'उहाँहरुले दिने धन्यवाद र हाँसो नै उर्जाजस्तै बनेको छ। थकान मेटिदिन्छ।'
प्राय किड्नीको बिरामी र गर्भवती महिलालाई अस्पताल पुर्याउनका लागि फोन आउने गर्छ। आवश्यक परे जस्तो बिरामीका लागि पनि उपलब्ध छन् उनीहरु। तर, गाडीमा राख्नुअघि कोरोना भाइरसका लक्षणसँग मिल्दो समस्याहरु भए नभएको बारे भने सोध्छन्। 'हामी पनि सुरक्षित त रहनु पर्यो नि। त्यसैले सतर्कता अपनाएका हौं,' उनले भने।
सोमवार व्यक्तिगत् सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट किन्ने योजनामा छन्।
'लकडाउन अवधिभर सेवा दिन्छौं। अवस्था हेर्दा थप केही समय बन्दै रहन्छ जस्तो छ। त्यसैले पीपीई खोज्दैछौं,' सुधिरले जानकारी दिए।
मानिसहरुले सेवा पाएका छन्। सामाजिक सञ्जालहरुमा आफूहरुलाई धन्यवाद दिँदै लेखिएका पोस्ट देख्दा दङ्ग छन् उनीहरु। तर, घरका मानिसमा बेग्लै चिन्ता।
फरक ठाउँका फरक मानिसलाई बोकेर हिँड्दा कतै संक्रमण आफ्नै घरभित्र त पस्दैन? भन्ने डर छ।
'घरभित्रै बसौं सुरक्षित रहौं भनेर प्रचार भइरहँदा हामी निस्किएका छौं। त्यसैले घरका मानिस आत्तिनु स्वभाविक हो। तर हामी सक्दो सावधानी अपनाएर सेवा दिन प्रतिवद्ध छौं। आखिर यस्तै बेला त हो नि एकअर्काको साथ चाहिने,' सुधिरले भने।
आइतबार उनलाई एक व्यक्तिको फोन आयो। लाजिम्पाटबाट ट्रमा सेन्टरसम्म बिरामी पुर्याउन आग्रह गरे। समयमै लाजिम्पाट पुगे। मुल सडकबाट झण्डै पाँच सय मिटर भित्र रहेछन् बिरामी। ११ वर्षीय खुट्टा भाँचिएका बालक। शरीर केही मोटो। बालक उभिँन पनि नसक्ने अवस्थामा थिए। उनका बुबालाई पनि सञ्चो रहेनछ। बोक्न सकेनन्। सुधिर आफैले बोके र गाडी भएको ठाउँसम्म पुगे।
अस्पताल पुगेपछि थाहा पाए, उनलाई पाँच दिनअघि नै अस्पताल बोलाइएको रहेछ। समयमा नपुग्नाले घाउ बिग्रँदो थियो। डाक्टरले गाली गरे। तिनै डाक्टरले दिएका रहेछन् बालकका बुबालाई सुधिरको समूहको नम्बर। नि:शुल्क सेवा लेखेको देख्दा आँट गरेर फोन गरेका रहेछन्।
'उहाँहरु सर्लाहीबाट आउनु भएको रहेछ। त्यसैले पाँचपाँच दिन अल्मलिएर बस्नु भयो। त्यो बाबुको खुट्टा के हुन्छ थाहा छैन। तर केही नराम्रो नहोस्। कसैलाई पनि पीडा भोग्न नपरोस् भनेरै खुलेर फोन गर्न, सेवा लिन आग्रह गरेका हौं,' उनले भने।
हालसम्म सुभाष श्रेष्ठले आफ्नै बुतामा इन्धन खर्च जुटाएका छन्। लकडाउन अवधिभर सेवा उपलब्ध गराउने बताउँछन् उनी। साथै घरमै रहेका बिरामीहरुका लागि मेडिकल पुगेर आवश्यक औषधी ल्याइदिने काममा समेत सक्रिय छ यस समूह। उनीहरु डाक्टरको प्रेस्किप्सन बमोजिम औषधीहरु सम्बन्धित व्यक्ति रहेको वडाको कार्यालयसम्म पुर्याइदिन्छन्। र, नगरपालिकाले सम्बन्धित व्यक्तिसम्म औषधी पुर्याउने काम गरेको छ।
'सबै रोग घातक हुन्छन्। समयमा उपचार र औषधी कति आवश्यक छ भन्ने कुरा सबैले बुझेका छौं। त्यसैले जहाँसम्म जसरी सक्छौं त्यसरी सहयोग गरेका हौं,' सुभाष भन्छन्।
उनीहरु खुशी छन् सबैकुरा ठप्प रहँदा पनि मानवीयता जारी राख्न पाएकोमा।