PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

टिचिङ, वीर, धरान अस्पतालका डाक्टरपछि एम्बुलेन्स चालकलाई अनुसन्धान केन्द्रको पीपीई, सापटी खोज्दै उत्पादन गर्दै आविष्कार केन्द्र



स्वेच्छा राउत

टिचिङ, वीर, धरान अस्पतालका डाक्टरपछि एम्बुलेन्स चालकलाई अनुसन्धान केन्द्रको पीपीई, सापटी खोज्दै उत्पादन गर्दै आविष्कार केन्द्र

काठमाडौं : असुरक्षित भन्दै विरामी बोक्न एम्बुलेन्स चालकहरु नै डराएर भाग्न थालेपछि महावीर पुनले उनीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गर्न थालेका छन्। उनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको पीपीई एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि दिएका हुन्।

कोभिड-१९ को संक्रमणमा पर्ने भन्दै कतिपय अवस्थामा एम्बुलेन्स चालकहरुले विरामी ओसार्न अस्वीकार गर्दै आएका छन्।

पुनले चैत २४ गतेदेखि चालकहरुलाई एम्बुलेन्स र लाइसेन्ससहित कीर्तिपुरस्थि त राष्ट्रिय आविष्कार केन्द्रमा उपस्थित हुन आग्रह गरेका थिए। पहिलो दिन १५ जना एम्बुलेन्स चालकलाई एकएक थान पीपीई दिइएको उनले बताए।

'आपतकालमा अत्यावश्यक सवारी साधन हो एम्बुलेन्स। यस्तै बेलामा जिम्मेवारीबाट भागेर हुँदैन। पीपीई लगाएर काम गरे सुरक्षित भइन्छ भन्ने सन्देश पनि दिन खोजेको हुँ,' उनले भने।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचार गर्नका लागि पीपीई आवश्यक रहने जनाएको छ।

'उपचार गर्ने सँगसँगै संक्रमणको जोखिम मोलेर काम गर्नेले प्रयोग गरेको राम्रो हो। त्यसैले बिरामीसँग नजिक रहनुपर्ने एम्बुलेन्स चालकका लागि पनि उपलब्ध गराएका हौं,' पुनले भने।

दैनिक १२० थानसम्म तयार

महावीर पुनका अनुसार आविष्कार केन्द्रले तीन फरक ठाउँमा उत्पादन जारी राखेको छ। दैनिक सयदेखि एक सय बीस थान पीपीई तयार भइरहेको छ।

पुनलाई शिक्षण अस्पताल काठमाडौं र वीपी कोइराला अस्पताल धरानले कोरोना भाइरस संक्रमण परीक्षणका लागि अत्यावश्क पोशाक पीपीई बनाउने प्रस्ताव गरेका थिए। हाल केन्द्रद्वारा उत्पादिन पीपीई शिक्षण अस्पताल, वीर अस्पताल, जिल्ला तथा प्रादेशिक अस्पतालहरुमा समेत प्रयोग भइरहेको छ। 'डाक्टरहरुले आफ्नो सुरक्षाका लागि उपयुक्त छ भन्ने निश्चित भएपछि प्रयोगमा ल्याउनु भएको छ। त्यसैले गुणस्तरमाथि उठेका प्रश्नहरुलाई पनि ध्यानमा राख्दै सिम सिलिङसहित उत्पादन गरेका छौं,' पुनले पहिलोपोस्टसँग भने।

पीपीई उत्पादनको सम्पूर्ण खर्च राष्ट्रिय आविष्कार केन्द्रले नै जुटाएको छ। उनले लकडाउन अवधिभरका लागि पर्याप्त पीपीई तथा अन्य सामाग्री उत्पादन गर्न रकम अभाव भएका कारण नगद सापटीसमेत मागेका छन्।

'तिर्ने शर्तमा सहयोग मागेको हो। केही मनकारीले दान नै पनि गर्नुभयो। यो संकटग्रस्त अवस्थामा तत्कालै कुनै उपायहरु निकालेर समस्याहरु सामाधान गर्न खोजेका हौं,' उनले भने।

साथै अस्पताल एवं अन्य स्वास्थ्य केन्द्रमा संलग्न मानिसलाई आवश्यक परेको खण्डमा पीपीई उपलब्ध गराउन तयार रहेको समेत बताए। भने, 'परिचय पत्रसहित केन्द्रमा चाहिँ आउनु पर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell