नाटक बीचबाट छोड्नु पर्ने पीडा र एउटा फरक अवसरको दोसाँधमा थिए कलाकार, भोलाराज सापकोटा। २०६७ साल फागुनको दोस्रो साता। पाँच दिनमात्र मञ्चन हुँदै थियो नाटक 'एल्ममुनिको तिर्खा।' एक महिना लामो रिहर्सलपछि मञ्चनको जोश बेग्लै थियो उनीसँगै आरोहण गुरुकुलका सबैमा।
तर, नाटक सुरु हुनुभन्दा केही दिनअघिमात्र खबर आयो – बलिउड फिल्म 'बर्फी'का लागि अडिसन दिन पुग्नुपर्ने भयो। नाटक मञ्चन र अडिसनको मिति जुध्यो।
'म दुवै छोड्न चाहन्नथेँ,' भोलाराज ती दिन सम्झन्छन्, 'केही सो गरेपछि सबैका सुझाव अनुसार अडिसन दिन गएँ। किनकि एक महिना लामो रिहर्सलमा धेरै कुरा सिकेकै थिएँ। नाटक छोड्नुको थक्थकी भने रहिरह्यो।’
नाटक छुट्यो। फिल्म बर्फीका लागि भने चयन भए। फर्किएर अरु नाटकमा काम गरे। नेपाली फिल्महरुमा व्यस्त रहन थाले।
ठीक दुई वर्षपछि, २०६९ सालमा अनुराग बासु निर्देशित ‘बर्फी’ सार्वजनिक भयो। रणवीर कपुरको साथीका रुपमा देखिए उनी। समीक्षकले उनको अभिनयको तारिफ गरे। भोलाराजका लागि खुशीको वर्ष बन्यो त्यो।
त्यही वर्ष गुरुकुल भत्कियो। उनका लागि सबैभन्दा दु:खद् वर्ष पनि त्यही बन्यो।
पुरानो बानेश्वरबाट मैतिदेवी झर्ने ओरालोको त्यस ढिस्कोमा एउटा सिंगो दशक बिताएका थिए उनले। राष्ट्रिय नाचघरमा सिकेको अभिनयको कखरालाई निखार्ने मौका पाए। नेपाली रङ्गमञ्चको एउटा कुशल समूह बन्यो, त्यहीँ।
हिजो तिनै दिन सम्झिए उनले। गुरुकुलमा बिताएको पलहरु झल्झल्ती भए उनलाई।
थिएटर मलले आयोजना गरेको भर्चुअल नाट्य महोत्सवमा फेसबुकमार्फत् करिब ३१ हजार दर्शकसँगै नाटक ‘एल्ममुनिको तिर्खा’ प्रत्यक्ष प्रसारण हेरिरहेका थिए, सापकोटा। दर्शकले कमेन्ट बक्समा नाटकको तारिफ गरेको हेर्दै दङ्ग परे उनी।
भने, ‘एउटा पाको पुस्ताले हेरेको थियो यो नाटक। आज नौ वर्षपछि फेरि अर्को एउटा पुस्ताले हेर्यो। यो दर्शक सँगसँगै हाम्रो लागि पनि निकै सुन्दर बन्यो यो अवसर।'
गुरुकुल पहिलो ब्याच अनि यही नाटक समूहकी अर्की सदस्य सरिता गिरी पनि थिइन्, नाटक प्रसारणमा। नाटकमा उनको भूमिका चाहिँ सह निर्देशक। अमेरिकी रङ्गकर्मी डेबोरा मेरोलालाई निर्देशनमा सघाएकी थिइन् उनले। भनिन्, 'विल्कुल फरक अनुभव संगाल्ने मौका थियो त्यो।’
भाषाको सीमाले केही अप्ठ्याराहरु ननिम्त्याएका होइनन्। तर, दोभाषे थिए। केही सहज बन्यो सहकार्य। त्यससभन्दा बढी सहज बनायो नाटकप्रतिको उस्तै लगाव र मेहनतले।
‘एक महिना लामो वर्कसप। नाटक मञ्चन। दर्शकहरु। प्रतिक्रिया। ब्याक स्टेजको त्यो हतारो सबै याद आए,’ सरिताले सुनाइन्, ‘स्टेजमा देखिएका प्रप्सहरु समेत याद आए।’
नाटक निर्माण प्रक्रियाको ‘अनुशासन र व्यवसायिकता’ उनलाई सबैभन्दा महत्वपूर्ण लागेको पाटो थियो जुन सिकाइ आजसम्म प्रत्येक नाटक बनाउँदा, अभिनय गर्दा व्यवहारमा उतार्न पाएकी छिन् ।
‘समयको हिसाब हुँदैन। तर, सम्झनका लायक कामले भने सधैं गर्विलो महसुस गराउँदो रहेछ। आज त्यस्तै महसुस भयो। नोस्टाल्जिक भैयो,’ उनले सुनाइन्।
भिडियोमै सही, दर्शकको ताली र हाँसोको गुञ्जनले फेरि गुरुकुल पुर्यायो जहाँ भौतिक रुपमा नै सपना भत्किएको थियो। अहिले कुनै कर्पोरेट भवन ठडिरहेको ठाउँमा भएको त्यो मञ्च झल्झल्ती भए।
सरिताका लागि नाटकले दिएको खुशी भने सह निर्देशनभन्दा अलग्गै थियो। सरस्वती चौधरीले पहिलो पटक केन्द्रिय भूमिका पाएकी थिइन्, गुरुकुल प्रवेश गरेको छोटो समयमै।
सरस्वतीसँगै फिल्महरुमा रुचाइएका कलाकार प्रवीण खतिवडा, राजकुमार पुडासैनी, कमलमणि नेपाल, विपिन कार्की, अरुणा कार्की लगायतलाई वर्षौअघि बनेको त्यो भव्य मञ्चमा देख्दा दर्शकहरु उत्साहित भए।
मञ्चमा समेत देखिएकी कलाकार पशुपति राईले नाटकका लागि कस्ट्युम डिजाइन गरेकी थिइन् जसको चर्चा भयो।
सन् १९२४ मा लेखिएको थियो 'डिजाइर अन्डर दी एल्म'। न्यू इङ्ल्यान्डको परिवेश। कथामा तत्कालीन समय शहरभन्दा पर खेती किसानी गरेर बसेको परिवारका सदस्यहरुमा ग्रिक मिथकका पात्रहरुको झल्को पाइने। पात्रहरु तिर्खाएका हुन्छन्। सम्पत्तीको तिर्खा, आमाको स्नेहको तिर्खा, प्रेमको तिर्खा। तिर्खाले निम्त्याउने पारिवारिक, सामाजिक अनि मानसिक द्वन्द्व पनि प्रष्ट छ नाटकमा।
तीमध्ये एक पात्रको भूमिका निर्वाह गरेका थिए कमलमणि नेपालले।
'नाटकको कथा कति सान्दर्भिक भन्ने कुरा खुट्याउने जिम्मा दर्शकको। हामीले भने पात्रका रुपमा फरक जीवन बाँच्ने मौका पाएका थियौं। वर्षौपछि पनि ती संवाद, मञ्च ताजा भए,' कमलमणिले भने।
नौ वर्षअघि नौ वर्षीय बालक १८ वर्षको भयो। उनले त्यससमय हेर्न नपाएको नाटक अहिले हेर्न पायो। त्यो पनि एउटा विपद्विरुद्ध लड्न खाली समय बिताइ रहेको बेलामा।
कमलमणि घर गएका छन्। परिवारसँग समय बिताइरहेका छन्। बारी खनिरहेका छन्। अनि हरेक साँझ नाटक हेरिरहेका छन्।
थिएटर मलले आयोजना गरेको भर्चुअल नाट्य महोत्सव अर्थात् ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा, फेसबुकमार्फत्।
‘थिएटरले दिने आनन्द त महसुस नहुँदो रहेछ तर नाटकले दिने आनन्द दिन्छ। दर्शकसँग जोडिन पाइएको छ। नोस्टाल्जिक भइएको छ,’ उनी खुशी सुनिन्छन्, ’सबै सुरक्षित रहन सके त फेरि फेरि थिएटरमा भेट भइहाल्छ नि।’