जनकपुरधाम : नासिर राइन चैत ७ गते कतारबाट स्वदेश फर्किए। लकडाउन भइसकेको थिएन। तर, कोरोना संक्रमणको त्रासले नै हो उनलाई घरसम्म डोहोर्याएको। यस भाइरसले निम्त्याउन सक्ने परिस्थितिबारे सतर्क थिए उनी। त्यसैले सोझै घर गएनन्।
परिवार र गाउँ वरपरकासँग सल्लाह गरेर आफ्नै गाउँ, धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ ठिल्लामा स्थापित क्वारेन्टाइनमा बसे। २३ वर्षीय उनी १६ दिन परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिए, स्वास्थ्यकर्मीको सल्लाहमा।
नासिरको थ्रोट स्वाब परीक्षणका लागि पठाइयो। र, आवश्यक जाँचका लागि दुई दिन अस्पतालमै रहनुपर्ने बताइयो।
भर्ना भएर आइसोलेसन वार्डमा सर्दा उनलाई खुब डर लाग्यो। पहिलो पटक कुनै नतिजा नकारात्मक आओस् भन्ने कामना गरेर बसे। तर, त्यो बसाई परीक्षणको नतिजाभन्दा बढी अस्पतालको अवस्थाका कारण तनावपूर्ण रह्यो।
'उपचारका गराउन भर्ना गरिएको हो कि झन् बिरामी बनाउँन? सोच्न बाध्य भएँ,' उनले गुनासो गरे।
कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएमा राखिने वार्डमा थिए उनी अर्थात् आइसोलेसन वार्डमा। त्यहाँ भेन्टिलेटरसहितको सघन उपचार कक्ष हुनुपर्ने थियो। तर, भेन्टिलेटर त परको कुरा अस्पतालमा हुनुपर्ने वातावरण समेत थिएन। एउटा रोगको उपचार गराउन पुग्दा अर्को रोगले समात्ने त्रासचाहिँ पर्याप्त थिए।
तौलिया,चप्पल,साबुन, मञ्जन, ब्रस, मास्क, औषधि लगायतका दैनिक उपभोग्य सामग्री प्रत्येक बिरामीका लागि उपलब्ध गराइनु पर्ने हो। एउटै कोठामा भए पनि कम्तीमा एक मिटरको दूरीमा दुईदेखि तीन वटा शैय्या राखिनु पर्ने।
'सुविधा खोजेको होइन। तर, दैनिक उपभोग्य वस्तुसमेत पाइएन। ५० रुपैयाँको रसिद काटेर अस्पताल छिरेको थिएँ। बिरामी परेर हजारौं खर्च हुने पीर पो सुरु भयो,' भने, 'साह्रै दयनीय अवस्था। बिरामीहरु बीच दूरी त थिएन नै। उस्तै फोहोर पनि।'
उनले आफ्नो स्वास्थ्यमा समस्या महसुस गरेकै कारण ठाउँ सारिदिन पटकपटक अनुरोध गरे। तर, अस्पतालका कर्मचारीको ठाडो जवाफ - 'चुप लागेर यहीँ बस्। नत्र हात खुट्टा तोडेर राख्छु।'
उनी त्यहीँ बसे। साँघुरो कोठामा ७ जना बिरामी राखिएको आइसोलेसनमा। सबैका लागि एउटै शौचालय, त्यो पनि बेलामौकामा मात्र पानी आउने। मञ्जन, साबुन, रुमाल, तौलिया आदि पनि एउटै।
'भर्खर बिरामी हटाइएकाले तन्ना फेरिदिन भने उनले। मानेनन्। झुल, सिरानी पाउनु परको कुरा! मेरो परिवारले ल्याइदिँदा समेत दिइएन,' उनी केही आक्रोशित सुनिए। किनकि अनुरोध गरिरहँदा उनलाई प्रहरी बोलाएर कुट्न लगाउने धम्की दिइयो।
त्यसपछि साबुन, सेनिटाइजर, खानेपानी माग्ने आँट गरेनन्। दुई दिन त्यही अवस्थालाई स्वीकार्नु पर्ने सोचेरै बसिरहे।
उस्तै पीडा अरु बिरामीको पनि। दिनमा दुई पटक पिउने पानीको व्यवस्था। दिनभर तिर्खाएकाहरु खानेपानी माग्दै चिच्याउँदा पनि कसैले नल्याइदिने। हाहाकार भए किनेरै खान्छौं भन्नेहरु पनि थिए। तर, उनीहरु केवल बिरामी थिए। के नै गर्न सक्थे र?
दुई दिनमा उनी डिस्चार्ज भए। परिवारलाई अस्पतालमा आउन दिइएको थिएन। उनी उक्लैलाई सडकसम्म पुर्याएर छाडियो।
दुःखी हुँदै सुनाए, ‘प्रादेशिक अस्पतालको आइसोलेसनमा मानिस नभइ जनावर राखिएको व्यवहार गरिन्छ। त्यहाँ सकुशल मानिस बिरामी पर्ने खतरा छ।'
उनी चाहन्छन् अवस्थामा सुधार आओस्। प्रविधिक र भौतिक कमजोरीको पाटो बेग्लै मानवियता महसुस गराइयोस्। 'जुन रोगबाट बच्न १६ दिन क्वारेन्टाइनमा बसेँ त्यही रोग आइसोलेसन पुगेपछि सर्ने डर थियो मलाई। धन्न त्यस्तो भएन। अरुलाई पनि नहुन अस्पतालले व्यवस्थापन गर्नुपर्छ,' उनले भने।
प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिन्टेन्डेन्ट नागेन्द्र यादव भने नासिर राइनका आरोपलाई मान्न तयार छैनन। 'कानले सुनेर हुँदैन। आँखाले देख्नुपर्छ। जसले यस अस्पतालमा सामान्य सेवा सुविधा पनि नभएको आरोप लगाउँछ ती गलत हुन्,' यादवले भने।
उनले मानिसहरुले पूर्वाग्रह र स्वार्थका कारण अस्पतालबारे भ्रामक जानकारी सार्वजनिक गरिरहेको दावी गरे।
'फेसबुक सस्तो भएको छ त्यसैले सस्तो प्रचारका लागि प्रयोग हुन्छन्। अस्पतालविरुद्धका सामाग्रीहरु पनि त्यस्तै हुन्,' उनले भने।
उनले अस्पतालमा भएका सीमित स्रोतको प्रयोग गरेर कोरोना भाइरसविरुद्ध लड्न आवश्यक तयारी गरेको बताए।
'यस्तो आपतकालीन अवस्थामा सेवामा खटिएका अस्पतालका कर्मचारीको मनोबल बढाउनु पर्नेमा गिराउँदै हिँडिनु जायज छोइन,' उनले भने।
नासिरले भने आफूले पाएको दु:खको प्रमाण अरु भुक्तभोगी पनि भएको सुनाए। 'अनुभव गरिएका कुराहरुको प्रमाण हुँदैनन्। तर अस्पतालले भनेजस्तै सबै स्रोतको प्रयोग गरिएको छ छैन अनुगमन गर्न गए बुझिन्छ।' नासिरले भने।