PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

आएन एम्बुलेन्स, टेरेन ट्याक्सीले, पति गुमाएकी पीडितको प्रश्न : कोरोनाबाहेक जुन रोगले मर्दा पनि हुने?



स्वेच्छा राउत

आएन एम्बुलेन्स, टेरेन ट्याक्सीले, पति गुमाएकी पीडितको प्रश्न : कोरोनाबाहेक जुन रोगले मर्दा पनि हुने?

गत चैत १३ गते। छवि गुरुङ साविकभन्दा केही चाँडै उठे। नित्यकर्म सके। पेट अस्वभाविक बढेकाले हल्का व्यायम गरे, नियमित झै। श्रीमती हेमकुमारीले नास्तामा जाउलो पकाइदिएकी थिइन्। त्यो खाए।

त्यसपछि लुगा फेरेर तयार भए, अस्पताल जान।

छवि मिर्गौलाको समस्या भोगिरहेका थिए। त्यस दिन उनको डायलासिस गर्ने पालो थियो। छिटो पुगेर नाम लेखाउँदा धेरै कुर्नु नपर्ने भएकाले बिहान करिव साढे नौ बजे नै छवि र उनकी श्रीमती निस्कने सुर कस्दै थिए। अचानक छवि जोडले 'आय्या' भन्दै चिच्याए। र, ढङ्रङ्ग भुईंमा ढले।

हेमकुमारीले अत्तालिँदै उठाउन खोजिन्। तर, छवि बेहोस् भइसकेका रहेछन्। त्यसपछिको तीन घण्टा जिन्दगीको सबैभन्दा सकसपूर्ण समय बिताइन् हेमकुमारीले।

सुरुमा राष्ट्रिय मिर्गौला केन्द्रकै फोन नम्बर डायल गरिन्। डायलिसका लागि त्यतै निस्कन लाग्दा घटेको घटना सुनाइन्। गाडी पठाउन आग्रह गरिन्। तर केन्द्रबाट तत्काल कुनैपनि गाडी उपलब्ध गराउन नसक्ने जवाफ पाइन्।

भएभरका सबै एम्बुलेन्समा फोन लगाइन्। अहँ! धेरैको फोन उठेन। जतिको उठे, तिनले आउन मानेनन्।

सडकमा निस्किएर रुँदै, कराउँदै ट्याक्सी गुहारिन्। देखे जति सबै गाडी रोक्न खोजिन् – लकडाउनमा नियम अवज्ञा गर्दै कुदेकाहरुले किन रोक्थे?

प्रहरीमा पटकपटक फोन नलगाएकी होइनन्। प्रत्येक चोटी एउटै जवाफ पाइन् – १०२ मा फोन गर्नुस्। 

अन्तत: पोखरास्थित घरबाट आफन्तले काठमाडौंमा चिनेको ट्याक्सी चालकलाई फोन गरेर उनीहरुको नयाँ बजारस्थित कोठामा पठाइदिए। त्यतिखेर साढे बाह्र हुनै लागेको थियो। ट्याक्सीमा श्रीमानलाई राखिन् र हतारहतार राष्ट्रिय मिर्गौला केन्द्र, वनस्थली पुर्‍याइन्। इमर्जेन्सी वार्डमा पुर्‍याएको केही मिनेटमै छविलाई मृत घोषित गरियो।

'सक्ने भए आफैं बोकेर पुर्‍याउँथेँ होला अस्पताल। सकिनँ। त्यस दिन साह्रै कमजोर महसुस भयो', हेमकुमारीले भनिन्, 'लकडाउन नभइदिएको भए मेरो बुढालाई अस्पताल पुर्‍याउन सक्थेँ होला। उहाँ बाँच्नुहुन्थ्यो होला।'

उनले गुहारेको एम्बुलेन्स अनि ट्याक्सी चालकहरु, आम मानिस र प्रहरी, सबैको त्रास बुझेकी छिन् उनले। थाहा छ, सबैलाई कोरोना भाइरसले अत्याएको छ।

'त्यसो भन्दैमा मान्छे मर्ने त? कम्तीमा पुलिसले यस कुरामा साथ दिनुपर्ने होइन? कोरोना लागेर मर्नु दु:ख हो। अरु रोगले मर्दा चाहिँ पीडा हुँदैन?', उनीसँग प्रश्नमाथि प्रश्न छ।

भक्तपुरमा डायलासिसको प्रतीक्षा।

५ महिनामात्र भएको थियो छविको डायलासिस सुरु भएको। गत असोजमा केही बिसञ्चो महसुस भएपछि हङ्कङ्बाट फर्किएका थिए उनी। पहिलो परीक्षणमै दुवै किड्नीमा खराबी देखिएपछि उपचार सुरु भयो। उपचारकै लागि पोखरामा छोराछोरीलाई छोडेर छवि र हेम काठमाडौँ बस्न थाले। नियमित औषधि सेवन र राष्ट्रिय मिर्गौला केन्द्रमा डायलासिस जारी थियो। सातामा दुई पटक चार/चार घण्टाका लागि पालो आउँथ्यो।

तर, कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै केन्द्रले डायलासिसको समय अवधि घटाएर तीन घण्टा बनायो। श्रीमान् बितेर गएपछि उनी अन्योलमा रहिन् – डायलासिसको समय घटाएर हो या गाडी समयमा नपाएर? श्रीमानको मृत्युको कारण के? कि कोरोनाको त्रासका कारण?

'मान्छे बितेर जानुभयो अब धेरै सोचेर के गर्नु?,' हेमकुमारीले आफैँलाई सम्हालिन्।

तर, यस घटनाले डायलासिस गराइरहेका अन्य बिरामीलाई भने नराम्ररी अत्याएको छ।

'लकडाउन सुरु भएपछि नियमित डायलासिस गराइरहेका दुई बिरामी बिते। छवि र रीता श्रेष्ठ। सँगै डायलासिस गराउँथ्यौँ। अरु समस्या थिएन तर एक्कासी त्यस्तो भयो। मलाई त डर लागेको छ,' मिर्गौला केन्द्रमै नियमित डायलासिस गराइरहेकी जीतमाया चौधरीले भनिन्।

जीतमायाको पनि शरीर सुन्निन थालेको छ। पहिलेको तुलनामा तिर्खा धेरै लाग्न थालेको छ उनलाई। 'डायलासिसको समय ह्वात्तै एक/डेढ घण्टा घटाउनु हुँदैनथ्यो कि,' चौधरी सशंकित सुनिन्छिन्।

+++

'नेपालका आम मिर्गौला पीडितहरुले समयमा मिर्गौला प्रत्यारोपण गराउन सक्दैनन्। बिग्रिएको मिर्गौलाले रगत सफा गर्दैन। त्यसैले बिरामीलाई बचाउनका लागि नियमित डायलासिस आवश्यक पर्छ,' किड्नी रोग विशेषज्ञ डाक्टर सन्तोष गुरुङले पहिलोपोस्टलाई बताए। 'मिर्गौला बिग्रनु निकै संवेदनशील समस्या हो। त्यसैले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डायलासिस गरिनुपर्छ,' उनले भने।

अमेरिकाको नेशनल किड्नी फाउन्डेसनका अनुसार हेमोडायलासिस सातामा कम्तिमा तीन पटक, चार/चार घण्टाका लागि गरिनुपर्छ।

सातामा तीन पटक भनिए पनि नेपालका अधिकांश बिरामीको साताको दुई पटकमात्र डायलासिस सेवा पाउँछन्। लकडाउन सुरु भएसँगै अधिकांश अस्पतालका डायलासिस सेन्टरले त्यही दुई पटक पनि चार/चार घण्टाका लागि नभएर साढे दुईदेखि तीन घण्टा मात्र गराउन थालेका छन्।

डाक्टर गुरुङ भन्छन्, 'मृत्यु नै हुन्छ भन्न त मिल्दैन तर नियमित चार घण्टा डायलासिस गराइरहेका बिरामीको समय कटौती गर्दा अन्य स्वास्थ्य समस्या चाहिँ देखिन्छ।'

उनका अनुसार डायलासिसको मापदण्ड पूरा नहुँदा बिरामीको शरीर सुन्निने, अधिक टाउको दुखाई, बान्ता आउने, शरीरका अङ्ग दुख्ने, श्वासप्रश्वास बढ्ने, मुटुमा पानी जम्ने जस्ता समस्या देखिन सक्छन्। तीमध्ये केही प्राणघातक हुने सम्भावना रहन्छ।

'त्यसैले बिरामीको सम्पूर्ण स्वास्थ्य परीक्षण गरेर मात्र डायलासिसको समय कटौती गरिनुपर्छ,' उनले भने, 'बिरामीले पनि उत्तिकै सतर्क हुन आवश्यक छ। मुख बार्नुपर्छ। विशेषगरि पानी थोपा थोपा गरेर पिउनुपर्छ।'

डाक्टरले भनेजस्तै अस्पतालहरुले आवश्यक स्वास्थ्य परीक्षण नगरी सबै बिरामीलाई एउटै घानमा हाल्नुले बिरामीहरुलाई च्याप्नेदेखि मृत्युसम्मको परिणाम देखिएको दावी गर्छन् मिर्गौला पीडित सरोकार समितिका अध्यक्ष बलराम सुवेदी।

'लकडाउनको बहानामा मिर्गौला पीडितलाई समस्यामा धकेलिँदैछ। पीडितका परिवार आफन्त गुमाउँदै जाने अनि अस्पताल पन्छिनै रहने?,' सुवेदीको प्रश्न छ।

उनी केही आक्रोशित पनि सुनिन्छन्। उनको आक्रोश स्वाभाविक पनि हो। किनकि उनकी ५६ वर्षीया श्रीमती तुलशीदेवी सुवेदीको स्वास्थ्य बिग्रँदो छ। ६ वर्षदेखि साताको तीन पटक, चार घण्टाका लागि डायलासिस गराउँदै आएकी उनको लकडाउन सुरु भए लगत्तै साताको दुई पटकमा झारियो। त्यो पनि साढे दुई देखि तीन घण्टामात्र।

तुलशीदेवीको पनि प्रश्न छ, 'कसैलाई भाइरस नलागोस् तर वर्षौदेखि आफ्नै शरीरको अंगसँग जुँधिरहेका हामीले यस्तै बेला सास त्याग्नुपर्ने अवस्था आउनु उचित हो?' 

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रका प्रशासन अधिकृत हरि पोखरेल भने डायलासिसको समय कटौतीले बिरामीको शरीरमा धेरै असर नगर्ने दावी गर्छन्।

'खानपिनमा ध्यान दिने हो भने पनि सबैकुरा नियन्त्रणमा रहन्छ। हामीले पनि रहरले समय कटौती गरेका होइनौं। लकडाउनले गर्दा औषधिजन्य सामानको अभाव छ, स्टाफ कम छन्, संक्रमणको चुनौती छ। बिरामी घटाउन वा फर्काउन मिल्दैन। त्यसैले सीमित स्रोत साधनको प्रयोगमा सेवा जारी राख्न खोजेका हौं,' पोखरेलले प्रष्टीकरण दिए।

दैनिक एक सय ७० जना सम्मको डायलासिस हुने गरेको छ, भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा। त्यसैले सीमितताबीच सबैको व्यक्तिगत परीक्षण गरी डायलासिस गर्नु कठिन भएको बताउँछन् उनी।

राष्ट्रिय मिर्गौला केन्द्रका व्यवस्थापक विमल बरालको पनि उस्तै तर्क छ। ‘डायलासिसका लागि आवश्यक पानी र हेपारिन नामक औषधिको अभाव सुरु भइसकेको छ। अहिले संयमित भएर नचलाए केही समयपछि डायलासिस नै बन्द हुनसक्छ,' बरालले भने।

नेपाल सरकारले डायलासिस नि:शुल्क गराएको छ। डायलासिस केन्द्रहरुले बिरामीसँग पैसा लिँदैनन्। अस्पतालको खर्च स्वास्थ्य मन्त्रालयले तिर्ने गर्छ।

'तर, स्वास्थ्य मन्त्रालयले बजेट निकासा नगर्नाले ‍औषधि सप्लायरलाई १४ करोड तिर्न बाँकी भइसक्यो। यता औषधी नपाएको खण्डमा बाहिरबाट ल्याउने अवस्था छैन। सीमा खुलेको खण्डमा पनि आयात गर्ने खर्च खोइ?,' बरालले उल्टै प्रश्न गरे।

औषधि अभावकै बहानामा गोंगबुस्थित बुलन्द सिद्धी अस्पतालले त बिरामीलाई औषधि किनेर ल्याएको खण्डमा मात्र डायलासिस गराउन सकिने बताइसकेको छ।

'नि:शुल्क भनिएको औषधि समेत बिरामीलाई किनेर ल्या भन्ने?,' बलराम सुवेदीको प्रश्न छ। अस्पतालका निर्देशक कृष्ण महर्जनको पनि गुनासो औषधि उपलब्ध नहुनुमै गएर टुंगिन्छ।

यस विषयमा औषधि व्यवस्था विभाग के गरिरहेको छ त?

'कहाँ छ अभाव? कसैले औषधि नभएकै कारण उपचार सम्भव नभएको बताउँछ भने त्यसमा उनीहरुको स्वार्थ छ,' विभागका महानिर्देशक नारायण ढकालले भने। प्रस्ट जवाफ नदिएका उनी नेपाली फ्लुड सप्लायरका अभिषेक राजसँग आवश्यक जानकारी लिन भन्दै पन्छिए। अभिषेकले पनि औषधिको अभाव नभएको दावी गरे।

'लकडाउनका कारण सबै ठाउँमा समयमा उपलब्ध गराउन केही अप्ठ्यारो भएको हो। तर अभाव नै चाहिँ छैन,' औषधि व्यवस्था विभागका महानिर्देशकको भनाई र उनको मत मिल्यो।

उनले बिरामी बोकेर आएका एम्बुलेन्सहरुमार्फत् काठमाडौंबाहिर समेत आवश्यक मात्रमा पानी पठाइरहेको दावी गरे।

यस विषयमा अस्पताल, बिरामी र औषधि व्यवस्था विभागका अधिकारीको मत पूरै बाझिएको छ। आखिर अवस्था के हो त? स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तावलाई हामीले सोध्यौं।

'औषधि व्यवस्थाको जिम्मेवार व्यक्ति भनेकै विभागका महानिर्देशक हुन्। उहाँले जे बोल्नु भयो त्यो नै मन्त्रालयको आधिकारिक भनाइ हो,' श्रीवास्तवले जवाफ दिए।

+++

प्रधानमन्त्री केपी शर्मा ओलीले भोगेका छन्, डायलासिसको सबै प्रक्रिया। अहिले ओलीलाई डायलासिस भने गर्नु पर्दैन किनकि उनले हालै मिर्गौला प्रत्यारोपण गराएका छन्। उनको जस्तो भाग्य सबैको कहाँ हुन्छ र? मिर्गौला प्रत्यारोपण गराउन लाग्ने खर्च सबैले बेहोरुन कसरी? बेहोर्न सक्नेले पनि सहजै मिर्गौला पाउन कसरी? राष्ट्रिय मिर्गौला केन्द्र होस् या मानव अंग प्रत्यारोपण केन्द्र, मिर्गौलाको प्रतीक्षा गर्नेको लामो सूची छ। पैसा, शक्ति र दाताको जोडमा मात्र हुनसक्छ यसको प्रत्यारोपण। मिर्गौला फेर्न नपाएपछिको विकल्प डायलासिसबाहेक अरु छैन।

तर, त्यही डायलासिसको समय अवधि पनि काटिएको छ, लकडाउनका कारण। ठीक यही अवस्थामा केही बिरामीको मृत्यु पनि भएको छ। समयमा अस्पताल पुग्न सवारी साधनको उचित व्यवस्थापन छैन, आपतकालीन भनिएको एम्बुलेन्स पनि।

अस्पताल अभावलाई कारण बताउँछ। जिम्मेवार निकाय अभाव नभएको दावी गर्छन्। अनि हेमकुमारी जस्ता पात्रहरु भने कामना गरिरहन्छन् – मलाई जुन बज्रपात पर्‍यो त्यो अरु कसैलाई नपरोस्। कोरोना भाइरसका कारण मात्र होइन कुनै पनि रोगको समयमा उपचार नपाउँदा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस्। किनकि सबैको भाग्य प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell