PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भीड नगर्नु भन्दै सम्झाउन गएका प्रहरी हवल्दार दाजुभाईबाट कुटिएपछि



सुमित मिश्र

भीड नगर्नु भन्दै सम्झाउन गएका प्रहरी हवल्दार दाजुभाईबाट कुटिएपछि

जनकपुरधाम : जनकपुरमा लकडाउनको समयमा भींड नगर्न भन्दै सम्झाउन गएका एक प्रहरी हवल्दार कुटिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा -८ स्थित जानकी आँखा अस्पताल अगाडि एकै ठाँउमा दर्जनौंको संख्यामा जम्मा भएका व्यक्तिहरुलाई सम्झाउन गएका वलवा टोल प्रहरी चौकीमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार लालबाबु साहलाई त्यहाँका स्थानीय दुई युवाले कुटपिट गरेका हुन्।

 एकैठाउँमा भेला भई सामाजिक दूरीको ख्याल नगर्दा कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै सम्झाउँदै गर्दा प्रहरी हवल्दार साहमाथि उनीहरुले हातपात गरेका छन्।

त्यहाँ दुई दर्जन बढीको संख्यामा व्यक्तिहरु एकैसाथ भेला भएका थिए, प्रहरी हवल्दार साहले भने, 'मैले त्यही कुरा सम्झाउन जाँदा तिनीहरु मध्येका दुईजना युवाले अचानक हातपात गर्न थाले।'

लकडाउन पालना गर्न सम्झाउन जाँदा प्रहरी हवल्दार साहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए।

प्रहरी हवल्दार साहलाई कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ वलवा टोलका २८ वर्षीय अमित कुमार सिंह र २३ वर्षीय सुमित कुमार सिंहलाई नियन्त्रणमा लिइएको डिएसपी कार्कीले जानकारी दिए।

पक्राउ परेका दुबै युवक दाजुभाई रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell