PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

पाहुना बसेको कोठामा रित्तियो रासन, सडकमा यसरी हुँदै उनको गाँसको जोहो

पाहुना बसेको कोठामा रित्तियो रासन, सडकमा यसरी हुँदै उनको गाँसको जोहो

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौं : गत चैत ९ गते बिहान, पूर्ण लामा नुवाकोटको ओखरपौवाबाट ओरालो लागे। गाउँबाट माछापोखरीसम्म पुर्‍याउने गाडीमा भिड थियो। त्यसैले सहचालकले शुरुमा त उनलाई चढाउन नै खोजेनन्। तर, उनी त जसरी पनि काठमाडौं पुग्नैपर्ने थियो। बसभित्र चढेरै छाडे। कच्ची बाटोमा ढल्किँदै ढल्किँदै गाडी काठमाडौंतर्फ सोझियो। पूर्णले शुरुमा त भनेका थिए – बरु उभिन्छु तर जान चाहिँ जान्छु।

तर, केही बेरमै उनको गोडा फतक्क गले। अनि इस्टकोटको भित्री गोजीमा सम्हालेर राखेको जेष्ठ नागरिक परिचयपत्र निकाले। अनि ज्येष्ठ नागरिक सिटमा बसेका युवातर्फ कार्ड सोझ्याउँदै भने – बाबु यो सिट त हामी बुढापाकाको लागि पो हो त।

‘खलासीले त आँखा पुलुक्क पल्टाएर हेर्‍यो,’ उनले रौसिँदै काठमाडौं आउँदाको कथा सुनाए।

उनको काठमाडौंमा आफन्त छैनन्। तर, गाउँका चिनेजानेका छन्। हरेक वर्ष घोडेजात्रा हेर्न आउँछन् उनी। अनि तीनै गाउँलेको कोठामा बस्छन्। यस वर्ष पनि योजना उही थियो।

चैत ११ गते परेको घोडेजात्राका लागि ९ गते नै आइपुगे। कसको कोठामा जाने सोचेका थिएनन्। त्यसैले माछापोखरीबाट रत्नपार्क जाने गाडी चढे।

‘त्यै दिन पो घोडा कुदाइ रहेका थियो त। म त गाडीबाट ओर्लेर माथि पुलमा चढेँ। दिनभरी त्यही हेरेर बसेँ,’ उनले सुनाए।

त्यसदिन उनले घोडे जात्राका लागि गरिएको तयारी हेरेका रहेछन्। दिनभर हेरेर रमाए। बेलुकी भक्तपुर, थिमिस्थित साथीको डेरामा गए। आफू घोडेजात्रा हेर्न आएको सुनाए। जात्रा सकिएको भोलिपल्टै फर्कने योजना थियो उनको।

तर, यस वर्ष घोडेजात्रै भएन। जात्राकै दिन घोडेजात्रा स्थगित भएको सूचना आयो। घोडेजात्राका लागि गरिएको साजसज्जा र तयारी थियो। तर, सब बेकार। अनि घोडेजात्रा हेर्नै भनेर काठमाडौं आएका पूर्णको रहर पनि।

त्यसदिन उनी साथीको डेराबाट मुल सडकमा पुगेकामात्र थिए। प्रहरीले केरकार थालिहाले। घोडेजात्रा नहुने जानकारी पनि गराए।

‘त्यत्रो राजा महाराजाको पालादेखि गरेको कार्जेक्रम पनि नहुने कुरा हुन्‍छ त? शुरुमा त ढाँटेजस्तो लाग्यो तर साँच्चै भएनछ,’ उनले सुनाए।

डेरामा गएर साथीलाई सबै घटना सुनाए। अनि अन्तिम गाडीमा त्यही दिन ओखरपौवा जाने योजना बनाए। उनलाई थाहै रहेनछ, त्यही दिनदेखि देशमा ‘लकडाउन’ शुरु भएको।

‘त्यसपछि त म यतै थुनिएँ नि,’ उनले सुनाए। पूर्ण आफ्नो गाउँलाई 'दुनियाँले फोहोर फाल्ने ठाउँ' भनेर सुनाउँछन्। अनि हाल आफू नै 'फोहोर जसरी थुप्रिएको' महसुस गरेका छन् उनले।

जसको कोठामा बसे उनीहरु दैनिक ज्याला मजदुरी गरेर खाने मानिस परे। लकडाउन सकिएपछि रासन पानी सकियो। खर्च बाँकी रहेन। पाहुना लागेका पूर्णलाई पनि त्यहाँ बसिरहनु सकसपूर्ण थियो।

तर कहाँ जानु?

एकबिहान उनी आँटेरै सडकतिर निस्किए। सके हिँडेरै नुवाकोट पुग्ने योजना बनाएर। मुल सडकमा तैनाथ प्रहरीले देख्नुअघि उनी मानिसहरुको लाममा मिसिए। कसैले आफू अगाडि उभिएर ‘हात थाप्नु बुबा’ भनेको सुनेपछि पो झस्किए।

‘खाना बाड्न आएको रै'छ। हात सफा गर्न के हो छिस् छिस् पारिदियो अनि थालभरी दाल भात तरकारी दियो,’ उनी खुशी सुनिए, ‘कार्ड नै देखाउनु परेन।’

यति सुनाउँदासम्म उनले मैलिएको स्टकोटको गोजीबाट ज्येष्ठ नागरिक परिचयपत्र निकालिसकेका थिए। उमेरले ७६ वर्ष पुगेका रहेछन्। परिचयपत्र चाहिँ ६ वर्षअघि बनाएका रहेछन्।

सात दिन भयो उनले थिमिचोकमा उस्तैगरी पर्खिएर खाना खान थालेको, बिहान बेलुकै। यस्तो अभाव र अफ्ठ्यारोबीच दाल, भात, तरकारीको एउटै स्वाद उपत्यकामा टिकिरहने बहाना बनेको छ। भने, ‘कम्तिमा भोकले त मर्नु परेन।’

थिमि चोकमा उनीलगायत करिब २० जनालाई खाना खुवाउँदै आएको छ मानव सेवा आश्रमले। असाय, घरबारविहीन र अशक्तहरुलाई आश्रय दिँदै आएको यस संस्थाले लकडाउनका कारण प्रत्यक्ष रुपमा प्रभावितहरुको समस्यालाई नजरअन्दाज गर्न सकेन। त्यसैले गत सातादेखि बिहान र बेलुका दुई छाक खाना लिएर निस्कन थाल्यो सडकतिर।

काठमाडौंमा त महानगरपालिकाले अशाय, मजदुर र सहाराविहीनलाई खाना खुवाउने जिम्मेवारी प्रत्येक वडा कार्यालयलाई दिएको छ, बजेट विनियोजन गरेरै। त्यसैले भक्तपुरका विभिन्न ठाउँमा यसरी खाना खुवाउँदै हिँडेका हुन्।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘सडकका मानिस हाम्रो जिम्मेवारी हुन् जस्तो लाग्छ। चाहे ती छाना नभएर आएका हुन् या खाना नभएर। लकडाउनले धेरैलाई खानाकै अभावका कारण सडकमा ल्याएको छ। उहाँहरुलाई खुवाउनै निस्किएका हौं।’

मानव सेवा आश्रमले चैतसम्ममा काठमाडौंलाई पूर्ण रुपमा सडक मानवमुक्त बनाउने लक्ष्य राखेको थियो। तर, कोरोना भाइरस संक्रमण फैलिएसँगै अभियानमा ब्रेक लाग्यो। सावधानी अपनाउँदै, आवश्यक परीक्षण गरेर केहीको रेस्क्यु पनि भयो। तर, लकडाउनपछि काम ठप्प।

‘सबैको रेस्क्यु गर्न नसकेपनि उहाँहरुलाई खाना त दिन सकिन्छ नि। फेरि उहाँहरु धेरै गरेरै खानेहरु हुन्। आज ल्याएर भोलि फेरि सडकमै छाड्न मानवताले दिँदैन। त्यसैले उहाँहरु भएकै ठाउँमा पुगिरहेका छौं,’ उनले भने।

संस्थाका सचिव सुमन बर्तौलाका अनुसार भक्तपुर आसपासका लागि यस भोजन सेवा शुरु गरिएको थियो। भक्तपुर नगरपालिकाले भने नगरपालिका तहबाटै खाना खुवाउने कार्यक्रम अघि बढाउने भनेपछि आश्रमको समूह र स्वयं सेवकहरु कौशलटारदेखि भक्तपुर क्यान्सर अस्पतालसम्म आवश्यक परेकाहरुलाई खाना खुवाउँदै आएका छन्।

खाना खुवाउन हिँडेको टोली सुरक्षा सामाग्रीसहित खटिएका छन्। सबैलाई एक मिटर दुरीमा राखी हात स्यानिटाइज गराएपछि बल्ल खाना दिन शुरु गर्छन्। थपेर खान पाइन्छ तर फाल्न चाहिँ पाइँदैन। सचेत गराउनेहरु यताउता गर्छन्। कसैलाई केही चाहिएको छ कि? सोध्छन्।

खाना खाइरहेका रामबहादुर तामाङले खाना थपे। खाना आइपुग्ने बेलामै कतै गएको छोरा आइहाल्छ कि भनेर आँखा तन्काउँदै थिए उनी। भने, ‘भरे भोक लाग्यो भन्यो भने चाहिँ थप्पड खुवाउँछु। खाने बेलामा खेल्न जान्छ।’

सिन्धुलीका उनी भारी बोकेर खर्च जुटाउँथे। तर, लकडाउनले भारी खोस्यो, गाँस खोस्यो।

खाना राखिएको गाडी देखाउँदै भने, ‘धन्न उहाँहरुले खोजेर ल्याइदिनु भएको छ। एक सिता पनि फाल्नु हुँदैन।’

यति भनिसकेर उनले प्लास्टिकको प्लेटमा बाँकी रहेको खाना चटक्कै बनाए।



ट्रेन्डिङ पोस्ट

Ncell