PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डडेल्धुराको उच्च भागमा किन उक्ल्यो बाघ?



डडेल्धुराको उच्च भागमा किन उक्ल्यो बाघ?
नेपालमा पहिलोपटक डडेल्धुरामा समुन्द्र सतहदेखि २५०० मिटरको उचाइमा स्वचालित क्यामेरामा परेको बाघ। फोटो : वन तथा भू संरक्षण विभाग/डब्लुडब्लुएफ नेपाल

  • राजु आचार्य -

नेपालका पहाडी क्षेत्रमा गाउँलेहरुले ‘बाघले बाख्रा खाएर हैरान’ भनेको बर्सौँ बित्यो। तर अनुसन्धानकर्मीहरु त्यो बाख्रा खाने बाघ नभएर चितुवा भन्दै आएका थिए। अब भने त्यसो भन्न पाउने छैनन्, कम्तीमा पश्चिम नेपालको डडेल्धुरा जिल्लामाl डडेल्धुरा जिल्लाको उच्च भागमा पहिलो पटक बाघ भेटिएको छ। नेपालमै समुन्द्र सतहबाट २५०० मिटर उचाइमा भेटिएको यो पहिलो घटना हो। नयाँ वर्षको दिन प्रेस विज्ञप्ति जारी गर्दै  डिभिजन वन कार्यालय, डडेल्धुराले सो जानकारी गराएको हो। फोटोहरू सहित डिभीजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले आफ्नो फेसबुकमा समेत जानकारी गराएका छन्।

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा प्राणी शास्त्र विभागका प्रमुख डा. तेजबहादुर  थापाले भने ‘भुटानमा यो भन्दा पनि उचाइमा अभिलेख गरिएको छ। त्यसैले यसलाई प्राकृतिक नै मान्न सकिन्छ,’ उनले थपे ‘  प्राकृतिक वन/ सामुदायिक वनको सुधार, डडेल्धुराको वन र तराईको वन जोडिएको कारणले सो बाघ आएको वा पहिला देखिनै भएको पनि हुन् सक्छ। यदि एउटा मात्र तस्बिर परेको हो र अन्य कुनै पनि पदचिह्न नभेटेको हो भने, कुनै कारणले अस्थायी रूपमा गएको हुन् सक्छ।'

प्रकृतिका साथीहरूका वन्यजन्तु संरक्षण निर्देशक यादव घिमिरे पनि डा. तेजबहादुर  थापाको भनाइसँग सहमत छन्। उनी थप्छन् ‘बाघको लागि राम्रो वासस्थान र आहारा दुवै आवश्यक पर्दछ। नेपालको पहाडी भूभाग अझै पनि स्थायी रूपमा बाघलाई राखिराख्न योग्य भए जस्तो लाग्दैन। यदि त्यसो भयो भने यो भन्दा खुसीको कुरा के हुन् सक्छ र!’ उनी तराईसँग जोडिएका वनहरूमा थप अनुसन्धान गर्न जोड दिन्छन्।

बाघमा विद्यावारिधि गरेका तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका युवा 'वन्यजन्तु अनुसन्धान अधिकृत' डा. बाबुराम लामिछाने अहिलेको तस्वीरबाट उत्साहित छन्। उनी भन्छन् ‘ सन् २०१० भन्दा अघि हामी तराई क्षेत्रमा मात्र बाघको अध्ययन गर्थ्यौँ। सन् २०१० तिर चुरेमा डा. झमकबहादुर कार्कीसँग म पनि गएको थिए। चुरेमा पदचिह्न र दिसा भेटेपछि यो क्षेत्रमा पनि अध्ययन सुरु भयो। अब अहिले महाभारत क्षेत्रमा भेटेपछि हाम्रो अध्ययन  र संरक्षणको दायरा पनि फराकिलो हुने भयो। अब महाभारत क्षेत्रमा साइन सर्वे (पदचिह्न र दिशा) र स्वचालित क्यामेरामार्फत यिनको अध्ययन थाल्नुपर्छ।’ 

डडेल्धुराका डिभीजनल वन अधिकृत विष्णुप्रसाद आचार्य, खुसीसँगै चुनौती थपिएको अनुभव गरिरहेका छन्। नयाँ काम गर्न रुचाउने अचार्यले केही महिनाअघि फिल्डमा घुम्ने क्रममा स्थानीयले पाटे बाघ पाइने र ठुला ठुला गोरुसमेत मार्ने गरेको गुनासो गरेको थिए। उनलाई पहिला विश्वास लागेन। जब गाउँलेहरुले प्रस्ट रुपमा चितुवा र बाघको  फरक भने, तब उनि अनुसन्धान गर्नु पर्ने कुरामा विश्वस्थ भए।

उनले यो कुरा तराई भू परिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपाललाई राखे। सबैको सहमति भयो। क्यामेरा ट्रयाप राखियो। लकडाउनमा पनि प्राविधिक विज्ञहरु लागिरहे। भौगोलिक कठिनताका बाबजुत सुमन सुवेदी, गौतम पौड्याल, करुण देवान, समुन्द्र सुब्बा, सविता मल्ल  लगायतको मेहनतले राम्रो नतिजा दियो। मार्च ६ देखि अप्रिल ६ सम्म एक महिना राखिएको ३२ जोडी क्यामेरामध्ये १ क्यामेरामा बाघ परेको थियो। आचार्य भन्छन्, ‘अब हामीले तीन वटा योजनाहरूमा काम गर्नुपर्छ। पहिलो विस्तृत अध्ययन गर्ने र यो बाघ स्थायी रूपमा बस्छ वा पर्यटकीय रूपमा आएको हो पत्ता  लगाउने। दोस्रो यिनको सुरक्षा गर्ने। र तेस्रो भनेको कञ्चनपुर देखि डडेल्धुरा हुँदै दार्चुलासम्मको कोरिडोरको अध्ययन र संरक्षणमा चासो दिने’।

अन्त्यमा

डडेल्धुरा जिल्ला कञ्चनपुर र कैलाली जिल्लाको उत्तरतर्फ  पर्दछ। यदि स्थायी रूपमा बाघ यो क्षेत्रमा बस्दैन भने बाघ कञ्चनपुर वा कैलाली जिल्लाबाट माथितिर लागेको अनुमान गर्न सकिन्छ। अथवा महाकाली नदी पारी भारतमा रहेको नन्धाउर वन्यजन्तु स्याङ्गचुरिबाट समेत आएको हुन् सक्छ।

यो क्षेत्रमा बाघ पाइनुका कारणमा ‘नेपालमा सामुदायिक वनको सुधार तथा तराई भू परिधि कार्यक्रमको सफलताको रूपमा’ पनि हेर्न सकिन्छ। तर यी सबै अनुमानहरू ठीक साबित हुनको लागि विस्तृत अनुसन्धान हुनु आवश्यक हुन्छ ।

नेपालमा हालसम्म तराइ र चुरे  भेगमामात्र अभिलेख गरिएको बाघ भारत र भुटानमा भने उच्च हिमाली भेगमा समेत विचरण गर्ने गरेको छ। भारतको उत्तराखण्डमा समुन्द्र सतहदेखि ३४०० मिटर र भुटानमा ४४०० मिटरको उचाइमा बाघ स्वचालित क्यामेरामा परेको छ। भारत र भुटानको उदाहरणलाई तुलना गर्ने हो भने  यसले यही अर्थ राख्छ, बाघ हिजोदेखि नै थियो, हामी मात्र अहिले पुगेको हौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell