काठमाडौं : दुई साताअघि बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल 'कोभिड आइसोलेसन अस्पताल'मा परिणत भयो। प्रदेश पाँचको मुख्यमन्त्री कार्यालयले कोरोना भाइरस संक्रमण उपचारको विशेष अस्पताल बनाउने अनुमति दिएको हो यहाँ। यस अस्पताल व्यवस्थापनको जिम्मेवारी लियो भेरी अस्पतालले। त्यसैले तत्काल पूर्वाधार तयार पारियो। फिभर क्लिनिक, ४० वटा आइसोलेसन र ८ वटा आइसियूसहित।
त्यसपछि कोरोना संक्रमणको उपचारकै लागि कर्मचारी माग गर्यो। विशेषज्ञ चिकित्सक १७ जना, चिकित्सक २८ जना र नर्स ४२ जनाको माग गरिएको थियो। तर, दुई साता बित्दासम्म एक जना पनि विशेषज्ञले आवेदन दिएनन्।
चिकित्सक माग गर्दा एक महिने करार सम्झौतासहित राखिने भनिएको थियो। त्यसका लागि पाँच चिकित्सकहरुले आवेदन दिए र नर्सहरु भने मागिएको अनुसार ४२ जना नै तयार भए।
'माग गरेजति कर्मचारी आउनु भएन। कोरोना संक्रमणको त्रास नै त्यसरी फैलिएको छ। तर हालसम्म यहाँ संक्रमण नदेखिएकाले आवश्यक तयारी गरी नै रहेका छौं,' भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर राजन पाण्डेले भने।
उनका अनुसार संक्रमित नदेखिएको र संकास्पद बिरामीको सङ्ख्या पनि कम भएकै कारण क्यान्सर अस्पतालमा बनाइएको अस्थायी 'कोभिड आइसोलेसन अस्पताल'मा बिरामी पठाइएको छैन। त्यहाँ भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिरामीको संख्या बढेको र आइसोलेसन भरिएको अवस्थामा बिरामी पठाउन सुरु गरिने बताइएको छ।
नेपालगञ्जभरबाट हालसम्म ७६ जना कोरोना भाइरस संक्रमण लक्षणसँग मिल्दो समस्या देखिएका बिरामीको स्वाब परीक्षणको लागि बुटवल पठाइएको छ। जसमध्ये ७० जनाको नतिजा नकारात्मक देखियो र ६ जनाको रिपोर्ट आउन बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट प्रकाश थापाले जानकारी दिए। भने, 'कोरोना भाइरसलाई लिएर मानिस सतर्क भएको पाएका छौं। त्यसैले आवश्यक जाँच र परीक्षणका लागि आउनु भएको छ। अस्पतालहरुले पनि आवश्यक तयारी गरेका छौं।'
उनका अनुसार रिपोर्ट आउन बाँकी ६ जना सबै भेरी अस्पतालको आइसोलेसन शैय्यामा छन्। अस्पतालले कोरोना विशेष उपचारका लागि तयार गरेको सबै शैय्या भरिएको हो। अस्पतालमा उपलब्ध ६ वटा आइसियूमा भने अन्य बिरामी उपचाररत् भएका कारण कसैमा संक्रमण देखिएको वा स्थिति गम्भिर भएको अवस्थामा खजुरास्थित क्यान्सर अस्पताल नै पठाइने छ।
पाँच नम्बर प्रदेशको उपचार 'हब' हो भेरी अस्पताल। नेपालगन्जमा रहेको यस अस्पतालमा प्रदेशका विभिन्न जिल्लाहरुबाट बिरामी धाउँछन्। विशेषगरी गम्भीर अवस्थामा रहेका र दुर्घटनामा परेकाहरुलाई जिल्लाका स्वास्थ्य संस्थाहरुले भेरी अस्पताल पठाउने गरेका छन्। जहाँ बिरामीहरुको जाँच विशेषज्ञले गर्छन्। त्यसैले पनि स्वास्थ्य सेवा विभागले यस अस्पताललाई 'रेफर हब उपचार केन्द्र'को मान्यता दिएको हो।
दाङ, बाँके र बर्दियाका साथै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरबाट समेत बिरामीहरु धाउने यस अस्पतालमा अहिले बिरामीको चाप निकै कम छ, असर लकडाउनको।
लकडाउनका कारण भने ओपिडी सेवा ठप्प छ। आपत्कालीन उपचार सेवा खुला रहे पनि सवारीसाधन चलेको छैन। तर पनि दैनिक ६० देखि ७० जनाले सेवा लिएको बताउँछन् डाक्टर राजन।
'आपत्कालीन उपचार सेवाका लागि सामान्यतया यति धेरै बिरामी आउँदैनन्। तर, अहिले ओपिडी बन्द रहेकाले नै हो यो वार्ड व्यस्त र भरी रहने,' उनले जानकारी दिए। विशेषगरी उच्च रक्तचाप, मधुमेह र दमका बिरामीहरु सोझै एमर्जेन्सीमा धाउन थालेका हुन्।
साथै अस्पतालले मिर्गौलाको समस्या भोगिरहेका बिरामीहरुको लागि उपलब्ध डायलासिस सेवा पनि जारी राखेको छ। नियमित ११ जना चिकित्सक साथै अन्य स्वास्थ्यकर्मी एवम् कर्मचारी अस्पतालमा खटिएका छन्। 'कुनै निश्चित विभागको जिम्मेवारीका रुपमा नलिइ सबै विभागका चिकित्सकहरु स्ट्यान्डबाइ अवस्थामा हुनुन्छ,' उनले भने।
कोरोना भाइरसविरुद्ध भेरी अस्पतालले प्रवाह गरेको सावधानी सन्देश एवं सतर्कता आम मानिसले लागू गरेको उनको कथन छ। प्राय मानिसले आफूमा कोरोना भाइरसको लक्षण शंका लागेको अवस्थामा सिधैं अस्पताल आउँदैनन्। पहिले डाक्टरहरुसँग फोनमार्फत् परामर्श लिन थालेको उनले जानकारी दिए।
अघिल्ला वर्षहरुमा चैत वैशाखमा हुने मौसम परिवर्तन र विविध कारणले देखिने ज्वरो, रुघा, खोकीका बिरामीहरुको चाप हुने गर्थ्यो, अस्पतालमा। यस वर्ष फोनमार्फत् परामर्श लिएर नजिकका स्वास्थ्य केन्द्रहरुमा जाँच गराउनेको संख्या बढेको छ। जसका कारण अस्पतालमा भिड कम भएको छ। मानिस कम हुँदा कोरोना परीक्षणका लागि आएका संकास्पद बिरामीको व्यवस्थापनका पनि सहज बनेको छ।
सिधैं अस्पताल आउनेहरुको भने फिभर क्लिनिकमा जाँच गराइन्छ। लक्षण देखिएका बिरामीलाई आइसोलेसनमा राखिन्छ र स्वाब परीक्षणका लागि बुटवल पठाइन्छ।
अवस्था गम्भीर भएकाहरुलाई भने यहाँ स्थापित विशेष अस्पतालको आइसियूमा लगिने तयारी गरिएको छ।
परीक्षण आवश्यक नरहेका बिरामीहरुलाई भने उचित परामर्श र सेल्फ क्वारेन्टाइनमा रहने सुझावसहित घर फर्काइन्छ।
'पहिलो चरणमा परामर्शले धेरै सकारात्मक प्रभाव पारेको छ', डाक्टर राजन भन्छन्,'मानिसहरुले सामाजिक एवं शारीरिक दूरी कायम गर्ने र अत्यावश्यक परेको खण्डमा बाहेक अन्य स्थितिमा अस्पताल आउने गरेका छैनन्।'
तर, अस्पताल सँगै आवश्यक सुरक्षा उपकरणहरु नहुनुले भने चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरुमा त्रास सिर्जना गरेको उनको कथन छ। भने, 'हामीले सक्दो स्रोत साधनको प्रयोगमा नियमित खटिने वातावरण बनाएका छौं। तर हाम्रै लागि सुरक्षा प्रत्याभूति भएको छैन। यो डरलाग्दो स्थिति हो।'
हालसम्म बाँकेमा संक्रमण नदेखिएका कारण सुरुवाती दिनमा जस्तो डराएको स्थिति छैन। तर, हरेक दिन फिभर क्लिनिकमा २० देखि २५ जनासम्म जाँचका लागि आउने भएकाले उक्त क्लिनिक, आइसोलेसन वार्ड र आइसियूमा खटिने स्वास्थ्यकर्मीको लागि पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्टसहितको सुरक्षा सामाग्री आवश्य रहेको बताए। भने, 'हामीलाई त बानी पर्यो तर ढुक्क भएर सुरक्षा सामाग्रीविना काम गरिरहने स्थिति भने छैन। किनकि यो भाइरस कताबाट कसरी फैलन सुरु हुन्छ टुङ्गो छैन।'
केही थान पीपीई मन्त्रालय, दाताबाट उपलब्ध छन्। केही अस्पतालले नै खरिद् गरेको पनि छ। 'तर सीमित छन्। संक्रमण देखिएको अवस्थामा पुग्दैन', मेडिकल सुपेरिन्टेन्डेन्ट थापाले बताए।
प्रदेश सरकारले भेरी अस्पताललाई नै कोभिड आइसोलेसन अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिएको हो। त्यसैले उक्त अस्पतालका लागि पनि पीपीई लगायत अन्य सुरक्षा समाग्री तयारी अवस्थामा राख्न आवश्यक रहेको बताउँछन् उनी।
डाक्टर पाण्डेले भने, 'विशेषज्ञ, चिकित्सक र सुरक्षा उपकरणहरुका लागि सक्दो पहल गर्दैछौं।'