PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मेरो बोली उनीहरुले सुन्ने अन्तिम आवाज नबनोस् : अमेरिकी अस्पतालमा कोरोनाविरुद्धको युद्ध लड्दै गरेकी नेपाली डाक्टरको कामना



स्वेच्छा राउत

मेरो बोली उनीहरुले सुन्ने अन्तिम आवाज नबनोस् : अमेरिकी अस्पतालमा कोरोनाविरुद्धको युद्ध लड्दै गरेकी नेपाली डाक्टरको कामना

न्यूयोर्क, ब्रुकलिनका एक ४७ वर्षीय पुरुष उपचारका लागि माइमोनिडेस मेडिकल सेन्टर पस्दै गर्दा दिक्षा शर्माको एउटै कामना थियो – 'यी मानिसले देख्ने अन्तिम अनुहार मेरो नहोस्। उनले सुन्ने अन्तिम बोली मेरो नबनोस्।'

त्यही अस्पतालमा उनले एक महिनायता सयौं कोभिड-१९ संक्रमितको उपचार गरिसकेकी छिन्। हरेकका लागि उस्तै मिहेनत गर्छिन्। हरेकको उस्तै ख्याल राख्छिन्। हरेकका लागि उस्तै कामना पनि गर्छिन् उनी। तर, जति बल गर्दा पनि बेलाबेलामा संक्रमणले जितिदिन्छ। अनि हरेक पटक उस्तै निराशा छाउँछ उनमा। चौबीसै घण्टा कोरोना संक्रमितहरुको भिड रहने अस्पतालमा पनि शून्यता महसुस गर्छिन् उनी।

करिब दुई साताअघि हो, ती पुरुष आशा बोकेर अस्पताल छिरेको। आफूलाई कोरोना संक्रमण भएको थाहा थियो उनलाई। समुदायकै स्वास्थ्यकर्मीले परीक्षण गरेका थिए उनको। त्यहाँ कोभिड-१९ का लक्षण मिल्दो देखियो। तर, स्वास्थ्य पूरै खराब भइसकेको थिएन। त्यसैले केही समय आफैलाई आइसोलेट गरे, घरमै। परिवारमा कसैलाई संक्रमण सर्ला भन्ने डर थियो उनमा। त्यसैले सतर्क रहे।

डाक्टर दिक्षा

सावधानी अपनाउँदा अपनाउँदै सास फेर्नै गाह्रो हुने स्थिति आयो। निसास्सिएका उनी घरबाट अस्पताल हान्निएका थिए, एक्लै। परिवारबाट टाढिए। कति टाढा पुग्छु? भन्ने सायदै सोचेका थिए उनले।

उमेरले ५० वर्ष पनि नपुगेका ती मानिसको अवस्थाले दिक्षाको हृदयमा निकै गहिरो असर पार्‍यो। उनको चित्त दुख्यो। सोचिन् – मानिसहरु ठमठम हिँड्दै अस्पताल आइरहेका छन्। उनीहरुलाई थाहा छैन उस्तै गरी फर्कन पाउँछन् कि पाउँदैनन्?

डर त दिक्षालाई पनि लाग्छ। तर, आफ्नै साससँग संघर्ष गरिरहेकाहरुलाई झन् कस्तो हुँदो हो? कस्तो महसुस होला तिनलाई जो सधैं जित्दै आएको रुघा, ज्वरोका कारण भेन्टिलेटरसम्म पुग्छन्? तिनै पीडितको अनि तिनका परिवारको ठाउँमा आफू अनि आफ्नालाई राखेर हेर्छिन् उनी। डरसँग पैठे जोहोरी चल्छ, दिल र दिमाग दुवै शान्त रहँदैन।

अन्तत: बिरामीको नजिकै जान्छिन्। उनीहरुको कपाल मुसार्छिन्। हात समाएर आश्वासन दिन्छिन्- सबै कुरा ठीक हुन्छ।

'साह्रै नाजुक स्थिति हो त्यो। छट्पटाइरहँदा समेत परिवारले भेट्न पाउँदैनन्। हात समात्न अनि प्रेम अभिव्यक्त गर्न पाउँदैनन्', दिक्षा भन्छिन्, 'म महसुस गर्न सक्छु त्यो पीडा।'

महसुस गरिन् र त परिवारसँगै भएको अनुभूति दिलाउने कोसिस गरिन्, संक्रमणको त्रास र सम्भावनाबीच।

ती मानिस अस्पतालमा भर्ना भएको दिनदेखि उनकी श्रीमतीलाई फोन गर्नु दिक्षाको दैनिकीको महत्वपूर्ण हिस्सा बन्यो। खबर राम्रो होस् या नराम्रो, उनले जानकारी गराइरहिन्। तर, उनकी श्रीमती भने प्रतिक्रियाविहीन। सायद्, उनलाई पनि थाहा थियो, चाहेर पनि रोक्न सकिने केही छैन। मृत्यु पनि।

'साँच्चै चाहेर पनि केही गर्न सकिन्न, यही सत्यले त सबैभन्दा बढी दुखाउँछ,' दिक्षा भन्छिन्,' अवस्था स्वीकार्नुको विकल्प हुँदैन। तर, पनि म हरेक बिहान एउटै अठोट लिए अस्पताल छिर्छु – आज मेरो हातमा यति बिरामी छन्। तिनको जीवन रक्षाका लागि सक्दो कोसिस गर्छु।'

माइमोनिडेस मेडिकल सेन्टरको एमर्जेन्सीमा अप्रिल ७ मा संक्रमितलाई लगिँदै। फोट : दी स्टार

भर्ना भएको केही दिनसम्म पनि ती मानिसको स्‍वास्थ्यमा सुधार भएन। बरु उनको किड्नीले बिस्तारै काम गर्न छाड्यो। ठीक एक साताअघि भेन्टिलेटरमा पनि उनको सास जोगिन सकेन। हतासमा आएका ती व्यक्तिलाई पहिलोपटक देख्दा दिक्षाले गरेको कामना पूरा भएन।

उनी कार्यरत् माइमोनिडेस मेडिकल सेन्टरमा हालसम्म ४ सय कोरोना संक्रमित मध्ये २ सय जनाको  मृत्यु भइसकेको छ। उपचारका क्रममा गरेका कुन अनुमान ठीक हुन्छ, कुन बेठीक, टुंगो छैन। कुन कामना पूरा हुन्छ कुन हुँदैनन्, त्यो पनि थाहा छैन।

तर, ब्रुकलिनका ती व्यक्तिको मृत्युले उनलाई खुब पिरोल्यो। उनलाई थाहा छैन, के गर्दा यो सबै रोकिन्छ अनि के गर्नु हुँदैन। निश्चित निर्देशिका अनुरुप यस भाइरसविरुद्ध कति समय लड्नु पर्छ, कतिले ज्यान गुमाउनु पर्छ, अनि कति खुशीखुशी आफ्नो प्रिय मानिसको हात समातेर निस्कन्छन्, त्यो पनि थाहा छैन। वास्तवमा यो रोगको बारेमा नै कसलाई पो धेरै थाहा छ र?

त्यसैले बिरामीले आशावादी भएर आफूलाई हेर्दा उनीहरुसँग आँखा जुँधाउन नसक्नु आफूहरुको बाध्यता रहेको बताउँछिन् उनी।

+++

दिक्षाका भाइ मन्दर दाहाल भर्जिनियामा पीएचडी गर्दैछन्। गत मार्च पहिलो साता उनी न्यूयोर्क पुगे, दिदी र भिनाजु भेट्न। ठीक त्यही बेला हो, दिक्षा कार्यरत् अस्पतालमा मात्र नभइ न्यूयोर्कमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको।

अस्पताल जानु, संक्रमितको उपचारमा खटिनु, परिस्थितिसँग जुँध्नु आफ्नो जिम्मेवारीका रुपमा लिएकी थिइन्, दिक्षाले। अनि सोचिन्, 'यही कामका लागि हो मैले मेडिसिन पढेको।'

इन्टर्नल मेडिसिनमा एमडी गरेकी उनी 'काम हाप्ने' वा जिम्मेवारीबाट पछि हट्ने पक्षमा थिइनन्।

उनका श्रीमान् परितोष काफ्ले पनि चिकित्सक। उनी इन्टरफेथ मेडिकल सेन्टरका चिफ रेसिडेन्ट। त्यहाँ पनि कोरोना संक्रमणको केसहरु देखिन थालेको थियो।

भाइ मन्दरसँग दिक्षा

अमेरिकामा कोरोनाको इपिसेन्टरमा छन्, उनीहरु। जसको तुलनामा भर्जिनिया सुरक्षित थियो। त्यसैले दिक्षाले भाइलाई फर्काइन्। भनिन् - 'अहिले छुट्टिउँ। आ-आफ्नो ठाउँमा सुरक्षित रहौं। हामी छिट्टै भेट्नु पर्छ।'

मनमा भने डर थियो। आफूलाई भेट्न खुशी बोकेर आएको भाइ भाइरस बोकेर नफर्कियोस् – बस् यत्ति चाहन्थिन् उनी।

हाल साताको चार दिन, दैनिक १२ घण्टा अस्पतालमा खटिनु पर्छ उनले। एमर्जेन्सी वार्डमा मानिस कहिल्यै घट्दैनन्। भेन्टिलेटरमा उपचाररत् उत्तिकै। अन्य विभागका डाक्टरहरु पनि सबै कोभिड-१९ कै बिरामीको उपचारमा लागि परेका छन्। बिरामीको चाप अनुसार चिकित्सक, स्वास्थ्यकर्मी अनि अन्य कर्मचारी पर्याप्त छैनन्। त्यसैले ड्युटी अवधिभर राहतको सास फेर्न पाउँदिनन्।

अवस्था श्रीमान् परितोषको पनि अवस्था उस्तै।

पहिले उनीहरुको सुत्र थियो - 'ड्युटीबाट घर फर्किएपछि कामको कुरा नगर्ने।'

डाक्टर दिक्षा र उनका पति परितोष

आजभोलि अस्पताल, संक्रमित, उपचार, मृत्यु, पीडा अनि प्रयास, यस्तै बाहेक अरु विषयमा कुरा नै हुँदैन, घरमा पनि। कुरा नगर्नु टाढाको कुरा, त्यस विषयमा नसोची बस्नसमेत् सम्भव छैन। हरेक दिन कोरोना भाइरस संक्रमणका बारेमा मिडिया सामाग्रीदेखि अध्ययनको रिपोर्ट सार्वजनिक भइरहेको हुन्छ। नयाँ केही थाहा हुन्छ कि भन्ने आशमा पनि पढ्नै पर्छ।

'संक्रमितका आफन्त हामीलाई सोध्छन्। हामी पनि अलिकति मात्र भन्न सक्छौं,' दिक्षा चिन्तित सुनिन्छन्।

सुरुवाती दिनमा अरु देशमा यस संक्रमणले निम्त्याएको त्राहिमाम् अवस्थाबारे खुब पढ्थिन् उनी। जब उनी काम गर्ने अस्पतालमै कोरोनाको लक्षण मिल्दो बिरामीहरु देखिन थाले तब अवस्था सामान्य रहने कुरै भएन। त्यहाँ शंकाष्पद् बिरामीहरुमा अन्य फ्लुले दिने समस्याबारे जाँच गरिन्थ्यो। जब ती सबै नेगेटिभ देखिन्थे तब कोरोना नै हो भन्ने अनुमानसहित उपचार अघि बढाइन्थ्यो। किनकि त्यस समय कोरोना परीक्षणको नतिजा आउनै पाँच दिन लाग्थ्यो।

आकष्मात् निम्तिएको यस परिस्थितिले छोटो समयमै उनको दैनिकी बदल्दियो।

'सामान्य जीवन कस्तो हुन्छ नै बिर्सिसकेँ। बाहिर निस्कनु भनेको निकै नौलो लाग्छ। साथीभाइसँग भेटघाट परको कुरा, भर्चुअल सम्पर्क पनि छैन,' उनले अनुभव सुनाइन्।

घरबाट निस्किँदा चिकित्सकीय 'स्क्रब'मा निस्किनु पर्छ। दिनभर पीपीईभित्र अनि फर्कँदा फेरि स्क्रबमै। जतिसुकै थकान किन नहोस्, गएर आफ्नै सोफामा पल्टनुअघि पनि पटकपटक सोच्नुपर्छ। यो सबैले उनलाई केही चिन्तित बनाएको पक्कै हो।

उनका श्रीमान् भने हौसला दिलाउँदा रहेछन् – 'छिट्टै सबै ठीक हुन्छ। हामीले त अहिले रोगसँग लडिरहेकाहरुको लडाइमा साथ दिने हो' भन्दै।

घरबाट हरेक दिन नेपालबाट बुबा दिनेश र आमा महिमाले सन्देश पठाउँछन् – 'छोरी तिमीले सक्छौ। तिमीले आफू सुरक्षित रहेर धेरैलाई बचाउनु छ।'

फोनमा बोल्दै गर्दा घाँटी खस्खसाए भाइ मन्दरले सोध्छन् – खोकी लाग्यो कि क्या हो? आज ज्वरो नापिस् नि?

आफ्नाहरुको यिनै शब्द र हौसलाले उनलाई आँट दिलाउँछ।

'यही आँट कायम राख्न सकुँ। यसरी खटिँदा छुटेका कुराहरु पछि कतै भेटिहालिन्छ नि,' उनले भनिन्।

के- के छुटे त?

अप्रिलमा उनका दुई साथी विवाह गर्दै थिए। त्यो विवाह समारोहका लागि निकै अघिदेखि उत्साहित थिइन् दिक्षा। अनि उनको दीक्षान्तका लागि बुबाआमा नेपालबाट अमेरिका पुग्ने योजना, जुन समारोहले उनका लागि भव्य अर्थ राख्थ्यो। उनी चाहन्थिन्, आफू दीक्षित भइरहँदा दर्शक दीर्घामा आफ्नो अभिभावक गर्विलो अनुहार लिएर बसेर हेर्न। तर, कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पनि संकटकाल घोषणा भयो। अब सम्भवत: समारोह नहोला।

'सायद मैले यो परिस्थितिमा बलियो उभिएर केही मानिसको जीवन जोगाउन सकेँ भने त्यो नै मेरो ग्र्याजुयसनपछिको उपलब्धी हुनेछ,' उनले आत्मविश्वास सहित भनिन्, 'अनि म मेरो बाबा मामु झनै गर्विलो उभिएको देख्न पाउनेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell