PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनकपुरमा लकडाउन उल्लंघन गर्ने बढे, हाट बजार पुग्नेलाई छैन प्रशासनको डर



सुमित मिश्र

जनकपुरमा लकडाउन उल्लंघन गर्ने बढे, हाट बजार पुग्नेलाई छैन प्रशासनको डर
फोटो : सुमित मिश्र

जनकपुरधाम : कोरोना भाइरसको कहर कम भएको छैन। विश्वका अधिकांश देशमा लकडाउन लागू गरी भाइरसको संक्रमण रोक्ने प्रयास भइरहेको छ। नेपाल सरकारले पनि भाइरसको संक्रमण फलिने खतरा कायम रहेकोले लकडाउनलाई निरन्तरता दिएको छ।

कोरोना संक्रमण फैलिन नदिन देश लकडाउन भएको आज २४ दिन भएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा तेस्रो हप्तासम्म लकडाउनको पूर्ण पालना गरिएको थियो।

तर दुईदिन देखि लकडाउनको उल्लंघन गर्ने काम बढ्दै गएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले गरेको निर्णयपछि लकडाउन उल्लंघनका घटनाहरु बढेको हो। मंगलबार बसेको विपद व्यवस्थापन समितिको बैठकले खाद्यान्न, इन्धन, औषधी, दुध, खानेपानी, तरकारी लगायतका अत्यावश्क उपभोग्य वस्तु बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म खरिदबिक्री गर्न सकिने निर्णय गरेको थियो।

मंगलबारसम्म लकडाउन कार्यान्वयन गराउन पूर्ण रुपमा कडाई गरिएपनि जनकपुरधाममा विपद् व्यवस्थापनको निर्णयपछि बुधबारदेखि बजारमा चहलपहल बढेको हो।

अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा शारीरिक दूरी कायम गर्नुपर्ने हुन्छ। तर बजार पुगेहरु कुनै सावधानी बिना घुमिरहेका देखिन्छन्। सवारी साधन पनि गुड्न थालेका छन्।

बजारमा चहलपहल बढ्न थालेपछि समितिको निर्णयको यहाँका कतिपय स्थानीयले विरोधसमेत गरेका छन्।

कोरोना संक्रमणको खतरा बढिरहेको बेला लकडाउनलाई थप कडाइ गर्नुपर्नेमा यस्तो निर्णय गरेर जोखिम बढाउने काम भएको मधेस अधिकार संघर्स समितिका संयोजक सरोज मिश्रले बताए।

कोरोना संक्रमण रोकथाम गर्नु प्राथमिकता हुनुपर्नेमा विपद् व्यवस्थापन समितिको निर्णयले लकडाउनको धज्जी उडाएको उनको भनाइ छ। विपद व्यवस्थापन समितिको निर्णयपछि कामै नभए पनि सामान खरिद गर्ने बहानामा मानिसहरु सडकमा हिंड्न थालेको मिश्रले बताए।

यता व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बहाना बनाएर सडकमा हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। तर मानिसहरु बजारमा हिँडिरहेका देखिन्छन्।

समितिले अत्यावश्यक उपभोग्य वस्तुहरु मात्र खरिद बिक्री गर्न सकिने निर्णय गरेको छ तर यस बाहेकका अन्य पसल पनि खुलेका छन्। निरौलाले भने खाद्यान्न लगायतका अत्यावश्यक वस्तु बाहेक अन्य पसल सञ्चालन गर्ने निर्णय नभएको स्पष्ट पारे।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० र ११को सीमा जानकी मन्दिर देखि देवि चौक जाने बाटोमा खुल्ला रुपमै हाट बजार लागेको पाइएको छ। बजार खुल्दा समेत प्रशासनले कुनै कारवाही गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell