PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ को प्रादेशिक अस्पतालमा आइसोलेसन वार्ड निर्माण हुँदै, संक्रमणको खतरा भन्दै स्थानीयले गरे विरोध



सुमित मिश्र

प्रदेश २ को प्रादेशिक अस्पतालमा आइसोलेसन वार्ड निर्माण  हुँदै, संक्रमणको खतरा भन्दै स्थानीयले गरे विरोध

जनकपुरधाम  : प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा सुविधा सम्पन्न आइसोलेसन वार्डको निर्माण कार्य थालिएको छ।

नेपालमा समेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सावधानी अपनाउनका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइसोलेसन वार्डको निर्माण कार्य भएको हो। प्रादेशिक अस्पतालमा आकस्मिक सेवा मात्रै संचालन रहेको अवस्थामा अत्यावश्यक सेवा समेत दिनुपर्ने आवश्यक रहेको भन्दै संघिय सरकारले तीन दिन पहिला मात्रै आइसोलेसन वार्ड निर्माण गर्न पत्र पठाएको थियो। सो आइसोलेसनमा कोरोनाको लेभल २ सम्मको जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार गरिने छ।

संघ सरकारले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा कोरोना लेभल १ र जनकपुरधामस्थित प्रादेशिक अस्पताल तथा वीरगंजस्थित नारायाणी अस्पतालमा कोरोना लेभल २ सम्मको उपचार गर्ने निर्णय गरेको हो।

प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. जामुन सिंहले नेपाल सरकारको निर्देशन अनुसार प्रादेशिक अस्पतालमै सुविधा सम्पन्न आइसोलेसन वार्डको निर्माण गर्न निर्देशन दिएपछि सोको निर्माण कार्य भईरहेको जानकारी दिए। उनका अनुसार प्रादेशिक अस्पतालको प्राङ्गणमै रहेको नर्सिंग क्याम्पसको छात्रावासलाई आइसोलेसन वार्डमा रुपान्तरण गरिँदैछ। छात्रावासमा ५० शैयाको आइसोलेसन वार्ड तयार हुनेछ। वार्डको निर्माण जति छिटो चाँडै सम्पन्न गर्ने सिंहले बताए।

निमित्त मेसु सिंहले आइसोलेसन वार्ड बाहिर संक्रमण फैलिन नदिनका लागि झ्यालहरुलाई एयर ब्लक, प्रत्येक कोठामा एसी लगाउने, ठाउँ ठाउँमा सीसीटिभी लगाइने बताए। जटिल प्रकृतिका विरामीहरुलाई सीसीटिभीबाटै निगरानीमा राख्ने तयारी भइरहेको छ।

यता, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको हाता भित्रै रहेको नर्सिंग कलेजको छात्रावासमा आइसोलेसन वार्डको निर्माण हुन लागेपछि स्थानीयवासीले विरोध जनाएका हुन्।

घनावस्तीको बीचमा रहेको छात्रावासलाई आइसोलेसन वार्डको रुपमा परिणत गर्ने सरकारको निर्णयलाई जनकपुरधाम वडा नम्बर १०का स्थानीयले विरोध गरेका हुन्।

स्थानीय सुशिल कर्णले सरकारले यहाँ छात्रावासमा आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय गरेर अपरिपक्व काम गरेको आरोप लगाए। उनले यहाँ आइसोलेसन वार्ड निर्माण गर्दा पूरै टोलमा संक्रमण बढ्न सक्ने डर रहेकोले यसलाई घनावस्ती बाहिर निर्माण गर्न सुझाव दिएका छन्।

स्थानीय जिवेश झाले विकल्पहरु हुँदा हुँदै घनावस्तीमा आइसोलेसन वार्ड निर्माण गर्नु आफूहरुलाई मान्य नरहेको बताए। उनले अव्यवस्थित हिसाबले गरिदै आएको यो निर्माण कार्यले पूरै वडालाई खतरामा पुर्‍याउने सक्ने तर्फ सचेत हुन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन्।

यता, स्थानीयको विरोधलाई निमित्त मेसु डा. जामुन सिंहले स्वाभाविक रुपमा लिएका छन्। उनले स्थानीयको सुरक्षालाई ध्यानमा राखेर नै निर्माण कार्य भईरहेको दाबी गरे।

अस्पतालले छात्रावास नजिकै रहेको दुई वटा घरको मालिकलाई छात्रावास तर्फको झ्याल ढोका नखोल्न आग्रह गरिसकेको उनले बताए। छात्रावास नजिकै रहेको बाटोलाई प्रत्येक दिन सेनिटाइज गर्ने योजना अस्पतालले बनाएको उनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell