PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौंदेखि सुनसरी यात्रा : ‘काम र माम दुवै बन्द भएपछि साइकल लतार्दै घर हिँडें'



सुमित मिश्र

काठमाडौंदेखि सुनसरी यात्रा : ‘काम र माम दुवै बन्द भएपछि साइकल लतार्दै घर हिँडें'

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि देश लकडाउन भएको २५ दिन भयो। लकडाउन घरभित्रै रहेर पनि खान पाउनेका लागि रोगबाट बच्न गज्जव उपाय बन्यो। तर, कतिको भने गरिखाने बाटोहरु नै ठप्प भए। विशेषगरी ती प्रभावित भए जो घरबाट टाढा बस्छन्, कमाउँछन्, खान्छन् अनि अलि अलि जम्मा गर्दै परिवारका लागि पठाउँछन्।

प्रभावित तीनै मजदूरहरु रोगभन्दा अगाडि भोकले मरिने डरले धमाधम घर फर्कदै छन्। सयौं किलोमिटर टाढा टाढासम्म हिँडेर पुगिने आँट गर्दैछन्। एक मानिसको त्यस्तै कष्टकर यात्राको कथा…

शरीर पसिनाले लछप्पै भिजेको थियो। खुट्टाहरु सुन्निएको प्रष्ट देखिन्थ्यो। उमेरले ३५ हाराहारीका हुँदा हुन्। बर्दिवास, गौरीडाँडामा पानी पिउन मालवहाक ट्रकबाट ओर्लदा उनको अनुहार पनि थकित देखिन्थ्यो।

'दाइ कहाँबाट आउनु भयो?'

पुलुक्क हेरे। तर, हाम्रो प्रश्नको जवाफ दिएनन्। सरासर नजिकको धारामा गए। हात मिचिमिची पखाले। मुख धोए, हातमा बोकेको बोतल भरे। अनि फर्किए। यस पटक त हामीतर्फ हेर्दा समेत हेरेनन्। हातको बोत्तल ट्रकको पछिल्लो भागमा फुत्त फाले। र, हामी भएतर्फ आए। परिचय मागे। दियौं।

सीधैं सोधे, 'तिमीहरुले सहयोग गर्न सक्छौ त?'

उनी काठमाडौंबाट हिँडेका रहेछन्। कहिले पाइडल, कहिले पैदल। कुनै कुनै मालवाहकले साइकल र उनलाई लिफ्ट पनि दिए। तर, पनि यात्रा उनले सुनाएजस्तै सहज भने रहेन।

सुनसरी जिल्लाको सिमरिया नगरपालिका ५ दुहबी रहेछ सेवालाल चौधरीको घर। परिचय दिइसकेर दु:ख पोखे, ‘यस्तो अप्ठ्यारो अवस्था आँउछ भन्ने सोचेकै थिइँन।’

सरकारले लकडाउन लागू गर्‍यो। वर्ल्डलिंक इन्टरनेट कम्पनीका लागि दैनिक ज्यालादारी मजदूरी गर्थे। तार जडान गर्ने काम। काम ठप्प भयो। 'काम बन्द भएपछि माम बन्द हुने अवस्था आयो। शरीर लतार्दै घर जान निस्किएँ’, उनले सुनाए। साथीसँग एक हजार रुपैयाँ सापटी लिएर निस्किएका रहेछन्। काठमाडौँको स्वयम्भुबाट सुनसरीसम्म साइकलमा पुग्ने आँट लिएर।

तर चौधरीको साइकलले त सिन्धुली, खुर्कोटको उकालो समेत छिचोल्न सकेन। गुडाउन थाले। उनले भने, ‘ म थला नै परी सकेको थिएँ।

धन्न एउटा ट्रक आएछ। रुखमुनि थकाइ मारिरहेका उनले हात हल्लाए। भने,'म निकै गलिसकें। जहाँसम्म पुग्नु हुन्छ त्यहीँ छोडिदिनुस्।'

थकित उनको विन्ती नकार्न सकेनन् ट्रकका ड्राइभरले। ट्रकको पछाडि साइकल राखे र ट्रकले नै खुर्कोटबाट बर्दिवाससम्म पुर्‍याइ दियो। तर बाटोमा देखेको दृश्यले उनलाई यसरी दु:ख पाउने आफू मात्र होइन रहेछु भन्ने महसुस समेत गरायो। उनले साइकल परको कुरा खाली खुट्टा हिँड्नेहरुको लस्कर समेत देखे।  

सरकारसँग अनुनय गर्दा लकडाउन उलङ्घन गरेको आरोप लाग्ने पीर। चुपचाप हिँड्दा पनि पटक पटकको केरकार। दु:ख सबैको उस्तै। चौधरीले चालकसँगै बालबालिका धेरै देखिएको टोलीलाई गाडीमा हाल्न अनुरोध गरे। चालकले यो पटक पनि नकारेनन्।

सबै बर्दिवासमा ओर्लिए। आ-आफ्नो बाटो लागे। चौधरी पूर्वतर्फ साइकलमा हुत्तिए। गाडी ठीक विपरित दिशा लाग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell