
जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दुई जना महिलाले सडकमै १० रुपैयाँको नोट विभिन्न ठाउँमा छरेर भागेपछि कोराना फैलिने त्रास बढेको छ। सो रकम फालेको देखेपछि अहिले स्थानीयवासी निकै त्रसित बनेका छन्। जनकपुरधाम वडा नम्बर ४ स्थित महावीर चोकमा २ जना महिलाले सडक र पसल अगाडी रकम फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका हुन्।
शुक्रवार दिउँसो २ जनाको समूहमा आएका महिलाले १० रुपैयाँको नोट जथाभावी छरेर भागेको प्रहरीले जनाएको छ। निलो र हरियो रंगको साडी लगाएकी ति महिलाहरुले करिब सय मिटरको दुरीसम्म सडक र पसल अगाडी १० रुपैयाँको नोट फालेको स्थानीयवासीहरुले समेत बताएका छन्।
सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि ति महिलाहरु पेठिया बजारतर्फको बाटोबाट भागेको स्थानीयवासीहरुले बताए।
‘निलो र हरियो रंगको लुगा लगाएकी दुईजना महिलाहरु पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फालेको भनेर सोधेपछि दुवैजना एकाएक भागे,’ महावीर चौकका भरत साहले भने।
तीनचारजना मानिसले उनीहरुले फ्यालेको नोट सडकबाट उठाएको साहले बताए। त्रसित बनाएका स्थानीयवासीहरुले तत्कालै प्रहरीलाई जानकारी गराएसँगै प्रहरीको टोली सो ठाउँमा तत्कालै पुगेर सेनिटाइजर समेत छर्केका थिए। सडकमा फालिएका १० रुपैयाँको केहि नोटहरु प्रहरीले बरामद गरेको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले पैसा छरिएको स्थानलाई पहिचान गरी गोलो घेरा हालेर सेनेटाइजर गरेका छन्।
सडकमा पैसा फाल्ने महिलाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा पैसा उठाउने व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरी निरिक्षक अशोक झाले बताए।
प्रहरीले नजिकैको एक घरमा रहेको सिसिटिभी क्यामराको फुटेज लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।