PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कोरोनाका कारण ब्राजिलमा मन्त्री, भारतमा डाक्टरजस्तै के नेपालमा कारवाहीमा परेका हुन् चिकित्सक पुन?



स्वेच्छा राउत

कोरोनाका कारण ब्राजिलमा मन्त्री, भारतमा डाक्टरजस्तै के नेपालमा कारवाहीमा परेका हुन् चिकित्सक पुन?

काठमाडौं : शुक्रवार ब्राजिलको एक टेलिभिजनबाट त्यहाँको स्वास्थ्य मन्त्री लुइज हेनरिक मनडेटाले नागरिकलाई कोरोना भाइरसविरुद्ध लड्न विश्वका अन्य देशबाट सिक्ने सुझाव दिए। उनले भनेका थिए, 'सामाजिक दूरी कायम गर्नु आजको आवश्यकता हो।'

लगत्तै, राष्ट्रपति जायर बोलसोनारोले उनलाई बर्खास्त गरेको घोषणा गरे।

बरखास्तीको कारण थियो, उनीहरु बीचको मतभेद। कोरोना संक्रमण रोकथामबारे राष्ट्रपतिले स्वास्थ्य मन्त्रीभन्दा ठीक फरक तर्क राख्दै आएका थिए। उनले 'कोरोना एक सामान्य फ्लू हो' र यसलाई रोक्न लकडाउन आवश्यक नरहेको बताइरहेका थिए। यसरी दुईबीच मत बाझियो र स्वास्थ्य मन्त्री बर्खास्त नै भए।

भारतमा त मतभेदकै कारण एक डाक्टर कामबाट निकालिए। कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर सुधाकर रावले मास्क लगायत अन्य सुरक्षा उपकरणको अभाव भएको बताउँदै भिडियो सन्देश सार्वजनिक गरेका थिए। अत्यावश्यक अवस्थामा अस्पतालका संयोजकले समेत सक्रियता नदेखकाएको उनले बताएका थिए। भिडियोमा उनले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको गुनासो समेत पोखेका थिए।

उक्त भिडियो भाइरल भयो। र, नतिजा उही - आन्ध्र प्रदेश सरकारले उनलाई बर्खास्त गर्‍यो

नेपालमा पनि उस्तै प्रकृतिको घटना घटेको खबर सार्वजनिक भयो। सञ्चार माध्यममार्फत् कोरोना भाइरस संक्रमणका बारेमा जानकारी दिएकै कारण डाक्टरसँग स्पष्टिकरण मागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि स्पष्टिकरण माग्दै पत्र पठायो। शुक्रबार पुनको नाममा टेकुस्थित अस्पतालमै पत्र पठाएको पुनको दावी छ।

'मिडियामार्फत् धेरै नबोल्न पहिलेदेखि नै एक खालको दवाव थियो। अब चाहिँ पत्राचार गरेरै स्पष्टिकरण मागिएको रहेछ,' पुनले भने। पत्र अस्पतालको प्रशासनमा आइपुगे पनि आफ्नो हातमा भने नपरेको जानकारी दिए।

मिडियामा धेरै देखिएको र कोरोनाबारे आवश्यक जानकारी दिएकै कारण समस्या सिर्जना भएको उनको दावी छ। साथै आफूमाथि अस्पतालमा उपचाररत् बिरामीहरुको नम्बर सार्वजनिक गरेको समेत आरोप लागेको बताए।

'यो सबै फसाउनका लागि चालिएको कदम हो। मैले त आफूलाई जानकारी भएको सूचना, सावधानीका उपायहरु बताएको हुँ। यो मेरो पेशागत् धर्म हो,' उनले भने, 'मलाई भ्रमण र भत्ताको लोभ छैन। सार्वजनिक हितका लागि आवश्यक जानकारी दिइरहन्छु।'

डाक्टर पुन टेकु अस्पतालको क्लिनिकल अनुसन्धान विभागको संयोजक हुन्।

सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले भने मन्त्रालयबाट पुनको नाममा कुनै पत्र नआएको बताए। पहिलोपोस्टसँगको कुराकानीमा भने, 'मौखिक रुपमा डाकिएको हो। मैले नै एक पटक मन्त्रालय पुगेर कुरा के रहेछ बुझ्नु भनेको थिएँ। तर, पत्र आएको होइन।'

पुनले भने मौखिक जवाफपछि पत्र आएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा र सूचना अधिकारी गणेश श्रीवास्तवले यस विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताए।

सह सचिव रघुराम विष्टले भने पत्र पठाएको स्वीकार्दै भने, 'कर्मचारीको सरुवा बढुवा हुन्छ। अनेक हुन्छ। पत्राचार हुनु स्वभाविक हो नि।'

आफूहरुले केही जानकारीका लागि डाक्टर पुनलाई मन्त्रालयमा बोलाउँदा उनी उपस्थित नभएपछि पत्र पठाएको बताए। उनले पहिलोपोस्टसँग भने, 'उहाँ काममा हुनुहुन्छ। त्यसैले केही छलफलका लागि बोलाएका हौं। उहाँले पत्रै नहेरी किन र कस्तो पत्र नबुझी किन सार्वजनिक रुपमा बोल्नु भयो थाहा छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell