PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

भारतीय नौसैनिक बेस क्याम्पमा कोभिड-१९ को संक्रमण, २६ जनामा पोजेटिभ



भारतीय नौसैनिक बेस क्याम्पमा कोभिड-१९ को संक्रमण, २६ जनामा पोजेटिभ
फोटो: livemint.com

नयाँ दिल्ली: भारतीय नौसैनिक सुरक्षा बेस क्याम्पमा कोभिड-१९ को संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार ४७ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै कोभिड-१९ सुरक्षा बेसक्याम्पमा समेत देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्

भारतको मुम्वईस्थित पश्चिमी नौसैनिक कमाण्डका २६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। यो भारतीय सुरक्षा अंगमा समूहगत रुपमा देखिएको पहिलो केस हो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म पछिल्लो २४ घण्टामा नौ सय ५७ जनामा संक्रमण पुष्टि हुँदा ३६ जनाको मृत्यु भयो। यो सँग संक्रमितको संख्या १४ हजार सात सय ९२ जनामा संक्रमण देखा परेको छ भने मृत्यु हुनेको संख्या चार सय ८८ पुगेको छ।

संक्रमितहरु मध्ये १२ हजार दुई सय ८९ जना अझै उपचारका क्रममा छन् भने दुई हजार १४ जनाको उपचार भइसकेको छ।

पछिल्लो तथ्यांक अनुसार भारतमा संक्रमित मध्ये ३.३ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म विश्वव्यापि रुपमा कोभिड-१९ बाट २३ लाख २८ हजार एक सय २४ जना संक्रमित भइसकेको जोन हप्किन्स विश्व विद्यालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये एक लाख ६० हजार पाँच सय १८ जनाको मृत्यु भइसकेको छ।

सबै भन्दा बढी अमेरिकामा सात लाख ३४ हजार पाँच सय ५२ जना संक्रमित भएका छन्। यहाँ ३६ लाख ९८ हजार पाँच सय ३४ जनामा कोभिड-१९ को परीक्षण भइसकेको छ।

अमेरिकामा मृत्यु हुनेको संख्या ३८ हजार आठ सय ३५ पुगिसकेको छ। त्यस्तै इटालीमा २३ हजार दुई सय २७ जनाको मृत्यु भइसकेको छ। स्पेनमा २० हजार ६ सय ३९, फ्रान्समा १९ हजार तीन सय २३ र बेलायतमा १५ हजार चार सय ६४ जनाको मृत्यु भइसकेको छ।

मृत्यु हुने मध्ये सबै भन्दा बढी न्युयोर्क शहरमा छन्। यहाँ १३ हजार एक सय ५७ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell