PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा, उपकरण खरिदका लागि ६८ करोड निकासा



सुमित मिश्र

प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा, उपकरण खरिदका लागि ६८ करोड निकासा

जनकपुरधाम : कोराना नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्‍याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो।

पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई मध्यनजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने योजना ल्याएको छ।

स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको सूचीको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरी वडालाई जिम्मा लगाउने र वडाले प्राप्त गरेको २४ घण्टा भित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ।

स्थानीय तहले बुझाएको  सूचीमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानबिन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ। उक्त रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गरिने जनाइएको छ। त्यस्तै, मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोनाका बिरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell