PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ मा लकडाउन पालना गराउन सुरक्षाकर्मीलाई हम्मेहम्मे, सांसदबाटै उल्लङ्घन



सुमित मिश्र

प्रदेश २ मा लकडाउन पालना गराउन सुरक्षाकर्मीलाई हम्मेहम्मे, सांसदबाटै उल्लङ्घन

जनकपुरधाम: कोरोना संक्रमण विश्वभर फैलिएको छ। संक्रमण फैलिन नदिन सामाजिक दूरी उत्तम उपाय मानिएको छ। यो विकल्पलाई विश्वका अधिकांश मुलुकले पालना गरिरहेको छन्।

नेपालमा पनि जोखिम न्यूनीकरणका लागि झण्डै एक महिनादेखि लकडाउन छ। तर प्रदेश २ मा लकडाउनको पूर्ण पालन भएको पाइँदैन। ग्रामीण भेगको अवस्था त झनै अस्तव्यस्त छ।

लकडाउनको पालन गराउन खटिएका सुरक्षाकर्मीहरुलाई कतिपय स्थानमा चुनौतीको सामना गर्नु परिरहेको छ। केही दिन अगाडि लकडाउन उल्लंघन गरी सडकमा घुमिरहेका युवाहरुलाई सम्झाउन खोज्दा एक प्रहरी हवल्दारमाथि जनकपुरधाममा आक्रमण भयो। दई युवाले ढुंगाले प्रहार गरेपछि प्रहरी हवल्दारको टाउकोमा ६ वटा टाँका नै लगाउनु पर्‍यो।

लकडाउन पालन गराउन सिराहामा प्रहरीलाई २३ राउण्ड हवाई फायर नै गर्नु पर्‍यो। सिराहा नगरपालिकाको पटेर्वामा भीडभाड गरेर बसेका स्थानीयहरुलाई घरभित्र बस्न भनेपछि प्रहरीमाथि आक्रमण भयो र स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाइ फायर गर्नु परेको थियो। घटनामा संलग्न रहेका १३ जनालाई प्रहरीले पक्राउ समेत गर्‍यो। अन्य फरार छन् भने गाउँ सुनसान छ।

हुन त कतिपय स्थानीय लकडाउनको नाममा सुरक्षाकर्मीले ज्यादती गरेकोे आरोप समेत लगाइरहेका छन्।

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भने, ‘लकडाउन पालना गराउनु निकै नै चुनौतीपूर्ण बनेको छ।खास गरेर ग्रामीण भेगतर्फ लकडाउन उल्लंघन गरेको खबर आँउछ, खबर आएपछि सुरक्षाकर्मी जाँदा कति ठाउँमा दुर्व्यवहार समेत भएको छ।’

कतिपय स्थानमा स्थानीयहरुले स्वयम् गाउँ प्रवेश गर्ने नाकामा बार लगाएर अपरिचित व्यक्तिहरुको आवतजावत बन्द पनि गरेका छन्। तर, अधिकांश स्थानमा लकडाउनको पूर्ण पालन हुन सकेको छैन्।

जनप्रतिनिधिहरुले समेत लकडाउनको महत्व र आवश्यकताबारे जनतालाई बुझाउन नसक्दा यस्तो अवस्था आएको हो।

कतिपय स्थानमा जनप्रतिनिधिहरुले नै लकडाउन उल्लंघन गरेका छन्। कोरोनाका शंकास्पदहरुलाई राख्न स्थापना गरिएको क्वारेन्टाइन जनप्रतिनिधिहरुले तामझामका साथ उद्घाटन गरेका तस्विरहरु पनि सार्वजनिक भएका छन्।

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले केही दिन अगाडि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीको एकडारा गाउँपालिकामा कोरोना शंकास्पदहरुलाई राख्न स्थापना गरिएको क्वारेन्टाइनको रिबन काटेर उद्घाटन गरिन्। क्वारेन्टाइन उद्घाटन गर्दा सामाजिक दूरीको कुनै ख्याल गरिएको थिएन। सहभागी अधिकांशले मास्कसमेत प्रयोग गरेका थिएनन्।

आफ्नो चाहना नभए पनि गाउँपालिका अध्यक्षको दबाबमा क्वारेन्टाइनको उद्घाटन गर्नुपरेको तिवारी बताउँछिन्। अहिलेको संवेदनशील समयमा ‘लकडाउन’ को पालना र सामाजिक दूरी कायम गर्नु आवश्यक रहेको उनको भनाइ छ।

लकडाउन पालन गराउन सुरक्षाकर्मी प्रतिबद्ध

पूरै देश लकडाउनमा रहेको समयमा यसलाई पालन गराउन सुरक्षाकर्मीहरु दिनरात खटिएका छन्। प्रदेशभर लकडाउन पालन गराउन सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए। लकडाउन पालन गराउन प्रत्येक चोकमा ३ जना सुरक्षाकर्मीको समूह बनाएर परिचालन गरिएको उनले बताए। यसका अतिरिक्त पेट्रोलिका लागि प्रदेशभरी ८ हजारभन्दा बढी सुृरक्षाकर्मी परिचालन गरिएको सापकोटाले जानकारी दिए।

उनका अनुसार प्रहरी प्रशासन लकडाउन पालना गराउन गम्भीर रहे पनि स्थानीयले विभिन्न बहाना बनाएर लकडाउन तोड्ने गरेका छन्। जनकपुरधाममै स्वास्थ्यकर्मीको पास देखाएर २ सयभन्दा बढी व्यक्ति ओहोरदोहोर गर्ने गर्छन् तर अस्पताल तथा क्लिनिकहरुमा चिकित्सक नै नदेख्दा आश्चर्य लाग्छ।

सर्वसाधारणले नै सामाजिक दूरी तथा लकडाउनकोे महत्व बुुझ्न नसक्दा समस्या श्रृजना भएको प्रवक्ता सापकोटाले बताए। प्रदेश २ को दक्षिणी भेग नेपाल भारतको खुला सीमासँग जोडिएकोले सुरक्षा चुनौती थपिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell