गोरखा, आरुघाटका खड्गबहादुर गुरुङलाई एक्कासी पेट दुख्न थाल्यो। खाना रुच्नै छाड्यो। बल्लबल्ल खाएको पनि सबै वान्ता। गाँस हाल्नै मुस्किल पर्न थालेपछि उनले भने – 'अब त अस्पताल जानुपर्छ बुढी।'
८० वर्षकी साइली गुरुङ आत्तिइन्। घरमा ८६ वर्षका श्रीमान र आफू मात्रै। छोरो देहरादुन, भारत। गाउँ लकडाउनका कारण ठप्प। गाडी चलेको छैन। अस्पताल कसरी जाने?
गोर्खामै रहेका ज्वाइँलाई खबर गरे। केही घण्टामा ज्वाइँ विकास गुरुङ आइपुगे। उनले ससुरा खड्गबहादुरलाई घरबाट सबैभन्दा नजिकको अस्पतालमा पुर्याए।
अस्पतालले गोर्खामा उपचार सम्भव नभएको बतायो। काठमाडौं नै पुर्याउनु पर्ने सल्लाह दिए डाक्टरहरुले पनि।
एम्बुलेन्समै यात्रा गर्नुको विकल्प थिएन। काठमाडौंसम्म पुगेकै १३ हजार रुपैयाँ। खेती किसानी गरेर चामल, तरकारी जोहो गर्ने परिवारको लागि त्यो ठूलो रकम थियो। अनि, रकमभन्दा ठूलो जीवन।
महँगो रकम तिरेरै भक्तपुरस्थित क्यान्सर अस्पताल आइपुगे उनीहरु। ससुरा र ज्वाइँ मात्र आउने योजना थियो। तर, मानिनन् साइली।
खड्गबहादुरलाई पेटको क्यान्सर भएको रहेछ। उपचारका लागि केही समय बस्नु पर्ने निश्चित भयो। त्यसपछि अवस्था झनै गाह्रो भयो। विकासले भने, 'दुवै जना उमेर ढल्केकाहरु। बुबालाई हेर्दाहेर्दै आमा बिरामी पर्ने डर! फेरि क्यान्टिनको मीठो भएन भनेर खाना पनि खानु भएन।'
साइँलीको पनि गुनासो - बुढो जिब्रोले जे पनि नरुच्ने। 'बुढो जिब्रोलाई जे पायो त्यही रुच्दैन। झन् काठमाडौंको महँगको खाना त चिन्दै चिन्दैन,' साइलीले भनिन्।
यता आएको दुई दिनपछि भने कसैले बिरामी कुरुवालाई नि:शुल्क खाना खुवाएको थाहा पाए। विकासले सुनाए, 'त्यसपछि दुवै छाक उहाँहरुले ल्याउनु भएको खाइरहेका छौं।'
+++
बिहान ठीक साढे ९ बजे भक्तपुरको कौशलटारबाट छुटेको मानव सेवा आश्रमको गाडी क्यान्सर अस्पतालको प्राङ्गणमा पुगेर रोकिन्छ। अस्पताल परिसरमा घाम तापिरहेका प्राय: जर्याक जुरुक उठ्छन्। कोही हात धुन्छन्, कोही लाम लाग्छन्।
गाडीबाट आश्रमका सेवक बाहिर निस्कन्छन्। लाम लागेकालाई पालैपालो स्यानिटाइजर दिन्छन्, हात सफा गर्ने। केही भने प्लास्टिकको प्लेट बाढ्छन्।
गाडीको पछाडिको भाग खुलेपछि देखिन्छ दाल, तरकारी, भात राखिएका तीन ठूला भाडा। तिनमा डाडु पन्यु चलाउन बसेका स्वयं सेवकहरु मास्क, पञ्जासहित पीपीइमा हुन्छन्। उनीहरु पालैपालो ढोकासम्म आउनेका लागि खाना पस्कन्छन्। अनि सोध्छन् – 'कस्तो लाग्यो भन्नुस् है।'
लाम लागेकाहरु बिरामी कुरुवा हुन्। क्यान्सर अस्पतालका उपचाररत् आफ्ना मानिसको रेखदेखमा खटिएका। उनीहरुमध्ये धेरैजसो उपत्यकाभन्दा टाढा टाढाबाट आएका छन्।
सीमित खर्च। महङ्गा औषधी। त्यसमाथि लकडाउन। बस्न खान होटल बन्द। पैसा सकिए ऋण वा सापट खोज्न कता पुग्नु? अनि कोठा भाडा लिएरै बसेकाहरु पनि खाना खानकै लागि कसरी ओहोर दोहोर गर्नु?
भोजन सेवा लिन बसेको लाइनमा मिसिएका थिए, क्यान्सर पीडित खड्गबहादुर गुरुङ पनि।
'आफूलाई त रुच्दैन। बुढीले खान्छ नि,' उनले पहिलोपोस्टसँगको कुराकानीमा भने। उनको छेवैमा उभिएका ज्वाइँ विकास मुसुक्क हाँसे। उनकी श्रीमती साइँली भने नजिकैको पेटीमा घाम तापिरहेकी थिइन्। खड्गबहादुरले गुरुङ भाषमा केही भनेपछि उनी उठेर खाना लिन गइन्।
खड्गबहादुर हातमा बोकेको कागजको बक्साको टुक्रा भुईंमा राखेर थचक्क बसे र ज्यान अढेस लगाए। अनि आफूहरु काठमाडौंसम्म आइपुग्दाको कथा सुनाए।
आफ्नो पेटमा क्यान्सर हुर्किएको कुरा थाहा रहेछ। तर, उनको बोलीमा एकरत्ती पनि चिन्ता सुनिएन। 'डाक्टरले त ठीक पार्न सकेन। चिन्ता लिएर ठीक हुन्छ त?,' उनले सरल शब्दमा जटिल प्रश्न गरे।
पाँच दिनको उपचारपछि डाक्टरले उनमा क्यान्सरको संक्रमण भइसकेको जानकारी दिए।
'ठीक हुँदैन गाउँ फर्काउनु भन्नु भएको छ,' डाक्टरलाई उद्धृत गर्दै विकासले सुनाए। खाना गास हाल्दै बोलिरहेका ज्वाइँलाई चुप लाग्न निर्देशन दिँदै खड्गबहादुर फेरि बोले, 'खान सक्ने मान्छे त गमगम खानु नि!'
उनी ज्वाइँलाई खाना थप्ने निर्देशन दिँदै थिए। श्रीमती आइपुगिन्। फेरि अघिकै पेटीमा गएर बसिन्। खाना काखमा राखेर खान थालिन्। खड्ग आफू बसेको कार्टूनको एक टुक्रा उनलाई दिन पुगे।
'चिसो लाग्ला,' खड्गले भने, 'टन्न खानु बाटोमा भोक लाग्छ।'
उनीहरु गोर्खा फर्कँदै रहेछन्, डाक्टरले उपचार सम्भव नभएको बताएकै कारण। खड्गलाई थाहा छ एम्बुलेन्स बाटोमा रोकिँदैन। रोकिए पनि बाटामा पसल छैन।
सिन्धुलीका निर्मल कार्की पनि भोजनले राहत दिएको सुनाउँदै थिए। उनी आफ्नी १८ वर्षीया छोरीको उपचारका लागि अस्पतालमा छन्।
'महिनौंदेखि अस्पतालमा छौं। कति पीडा छ कति अभाव छ सबै भोगिरहेकै छौं। तर, लकडाउनले स्थिति झन् गाह्रो बनायो। धन्न यसरी आउने दुई छाक खानाले केही राहत दिलाएको छ,' कार्कीले भने
केही दिन यता छोरीको ज्वरो बढेपछि औषधी थपिएको छ। खर्च बढेको छ। सापट माग्नका लागि यहाँ कोही छैनन्। चिनजानका सबै गाउँ फर्किए।
छोरीकै लागि यताउता भौतारिँदा भौतारिँदै उनी भोकाउँछन्। खाना पाइने पसल खुलेको छैन। लकडाउनका कारण कोठामा गएर खाना खाएर अस्पताल नै फर्कन सम्भव छैन। यस्तोमा बिहान बेलुकै अस्पतालमा ल्याइने खाना पर्खने गरेको बताउँछन् उनी।
भन्छन्, 'बिरामी कुर्नु कि खाना खोज्दै कुद्नु भएको अवस्थामा खाना पाउनु ठूलो कुरा हो। सक्नेहरुले सम्भव र आवश्यक भएका ठाउँहरुमा यसैगरी खाना पुर्याउनु हुन्छ भन्ने आशा छ।'
संस्थाले भक्तपुर कौशलटारदेखि क्यान्सर अस्पताल बाहिरसम्म भेटिएका बेसहारा र घरविहीनहरुलाई पनि खाना पानी खुवाउँदै आएको छ। आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, 'नभएकाहरुको सेवा नै आजको आवश्यकता हो। यस संकटकालीन अवस्थामा केही मानिस हुनुन्छ जो दिल खोलेर मुट्ठी, माना, पाथी दान गर्नुहुन्छ। अनि हामी त्यो दान भोकाहरुसम्म पुर्याउँछौं।'