- स्वेच्छा राउत / प्रवीण रानाभाट-
शनिवार साँझ दाङ जान हिँडेको थियो, गंगाराम चौधरीको टोली। यो टोलीको पनि कथा उही – काठमाडौंमा ज्याला मजदुरी गरेर खानु, छोराछोरी पढाउनु। बचेको रकम गाउँमा पठाउनु, नुन तेल किन्न। लकडाउनका कारण उनीहरुको व्यथा पनि अन्य मजदुरको जस्तै – जम्मा गरेको रकम सकियो। अभाव सुरु भयो। खानका लागि अन्न बाँकी भएनन्। गाउँ जानु अन्तिम विकल्प बन्यो। बाध्यता उही – गाडी चलेको छैन, पैदलै बाटो नाप्नुको नियती।
नक्सालबाट साँझ ७ बजे निस्किएको टोलीलाई प्रहरीले कलंकीमै रोक्यो। भनिएको थियो – बिहान जताबाट आएका थियौ, त्यतै फर्काउँछौं।
गंगाराको समूहसँग प्रश्न थियो – फर्किएर त जाउँला तर के खाएर बाँच्ने?
प्रश्नको जवाफ प्रहरीसँग पनि कहाँ हुनु? केही नरम बनिदिए। उनीहरुको रात कलंकीमै बित्यो, बिहान के होला भन्ने अन्यौलता बीच। झिस्मिसेमा वरपर प्रहरी नदेखिएपछि भने टोली नागढुङ्गातर्फ हान्नियो। तर, फेरि एक पटक रोकिए, थानकोट त्रिभुवन पार्क अगाडि। त्यहाँ निकै बेर केरकार भयो। त्यसपछि पनि ओरालो लाग्ने बाटो भने खुलेन। उनीहरुलाई त पार्क भित्र पो लगियो।
'भित्र छिर्नासाथ राजाको मूर्ति रहेछ। हामीले त कुनै दरबारमा पो छिरायो भन्ठानेको होइन रहेछ,' सुरज चौधरीले भने।
उनीहरुलाई थाहै रहेनछ, राष्ट्रिय युवा संघको नेतृत्वमा चन्द्रागिरी नगरपालिकाका युवाहरुले आपतमा परेका मजदुरको उद्धार गरिरहेका रहेछन्। उद्धारकर्ता समूहको नेतृत्व गरिरहेकी छिन् अञ्जना विशंखेले जो प्रतिनिधि सभा सदस्य हुन्।
उनीहरुले नागढुङ्गाको बाटो हुँदै विभिन्न जिल्ला प्रवेश गर्न लागेकाहरुलाई सवारी साधनको व्यवस्थापनसहित पठाउन थालेको तीन दिन भयो। नागढुङ्गातर्फ जान लागेको टोलीलाई उनीहरुले सुरुमा त्रिभुवन पार्कमा लग्छन्। नाम, ठेगाना, सम्पर्क नम्बर लगायत विवरण टिपोट गर्छन्। अन्य समय पिकनिकका लागि प्रयोग हुने स्टलहरु उनीहरुको समूहअनुसार विभाजनमा राख्ने ठाउँ बनेको छ। र, गाडीको उपलब्धता अनुरुप पालैपालो त्यसरी राखिएकालाई गाडीमा हालेर पठाउँछन्।
शनिवारमात्रै त्यहाँबाट ३ सय यात्रुलाई सात फरक गाडीमा राखेर जिल्ला पठाएको खबर सुनेका थियो यो समूहले।
गंगाराम चौधरीको समूहलाई ढुङ्गा खोज्दा देउता मिले सरह भयो खबर पाउँदा। उनीहरु खुशीखुशी पार्कमा बस्न राजी भए। स्टलमा पाल र म्याट्रेसको पनि व्यवस्था रहेछ। झन् माइकमा फुकेर खाना खान बोलाउँदा खुशीको सीमा रहेन। किनकि उनीहरुले बिस्कुट र कालो चियाको भरमा दैनिकी काटेको दुई दिन भइसकेको थियो।
शनिवारको रात थानकोटमै कट्यो।
आइतवार घर जाने पालो पर्खिरहेका थिए उनीहरुले। तर, दिउँसो ४ बज्नैलाग्दा पनि एउटै टोलीलाई गाडी चढाइएन। उनीहरुको आशा निराशामा बद्लियो। केहीबेरमा गाइगुई चल्यो – पार्कमा भएकालाई वैशाख २२ गतेसम्म यहीँ राखिन्छ रे!
त्यसपछि उनीहरुले झोला कसे। पुन: नक्साल नै फर्कने भन्दै पार्क परिसरबाट बाहिरिए। प्रहरी तथा खटिएका स्वयं सेवकले उनीहरुलाई रोक्ने प्रयास नगरेका होइनन् तर उनीहरु रोकिएनन्।
'घर पुर्याउने भनेर झुटो कुरा गर्ने? गाउँ फर्कन नपाउने भए डेरामै गएर बस्छौं नि जंगलको चिसो खाएर किन बस्नु?,' शान्ता चौधरी आक्रोश पोख्दै थिइन्।
अभियान्ताले ढाँटेका हुन् त?
'असली पीडित तथा मजदुर पहिचानका लागि यहीं राख्छौं भनेका हौं। घर नपठाउने भनेपछि काठमाडौं वरपर आएका थुप्रै टोली खाना समेत नखाइ निस्किए,' समूहको नेतृत्व गरेकी सांसद अञ्जना विशंखेल भनिन्, 'साँच्चै पीडित त कहाँ जाउन्? विकल्प नभएरै त हिँडेका हुन्।'
त्रिभुवन पार्कबाट मानिसहरु गाउँ पठाइएको थाहा पाएपछि गैर पीडितसमेत हुलमुलमा आएर मिसिएको उनको दावी छ।
तर, पार्क भित्रबाट नक्साल फर्कँने भन्दै बाहिर निस्किएको गंगारामको टोलीका सदस्यहरु भने रुन थाले। प्रहरीसँग आग्रह गर्न थाले। केही आक्रोशित पनि भए। त्यस्तैमा सुरक्षाका लागि खटिएका एक प्रहरीले कलंकीतर्फतबाट आउँदै गरेको मालबाहक गाडी रोके। र, उक्त समूहका सबैलाई त्यसकै पछिल्लो भागमा चढ्न निर्देशन दिए। सडकको बीच भागमा रोकिएको ट्रकतर्फ सबै जना कुदे। केहीले त आफ्नो सामानको पोका समेत बिर्सिएछन् पुन: ओर्लिएर टापटिप पारे पनि।
परबाट अर्का प्रहरी सिट्ठी फुक्दै आए। गाडी गुड्न थाल्यो। केहीले परसम्म कुदेरै भए पनि आफूलाई ट्रकमा हुले। केही भने छुटे। छुटेकाहरु न्याउरो अनुहार लिएर पुन: त्रिभुवन पार्क भित्रै फर्काइए।