१९ वर्षीया सावित्रा शाही ४ महिने छोरी च्यापेर धुलिखेलबाट हिँडेको तीन दिन भयो। तेस्रो दिन सतुङ्गल आइपुग्दा उनीहरुको हिसाब बिग्रियो। पन्ध्र दिनमा त जुम्ला नै पुग्ने अनुमान थियो। अब कहीँ रोकतोक भएन र सरासर हिँड्न पाए १८ दिनमा पुगिएला भन्ने छ। तीन दिन बढी हिँड्नु पर्ने भयो, अनुमान गरेभन्दा। अड्कल काटेर बोकेको खाजा सकिएला, चप्पल अलि बढी खिइएला। पैताला अलि बढी दुख्ला। तर, जसरी हुन्छ गाउँ पुग्नुछ। त्यहाँ उनलाई सुत्केरी भनेर माया गर्नेहरु भेटिनेछन्। तातो मीठो पकाएर खान दिनेछन्। च्युरा र दालमोठले दुखाएको दाँतले आराम पाउनेछ।
धुलिखेलको मुडीबाट २५ जनाको टोली हिँडेको हो। सबै जुम्ला, तातोपानीका। बाटोबाट सुर्खेतका दुई जना जोडिए। समूहको आकार बढ्यो। यी सबै ज्याला मजदुरी गरेरै छोराछोरीलाई काठमाडौंमा पढाउन आएकाहरु। तीन वर्षमात्र भयो यहाँ आएको। आएपछिमात्र थाहा पाए काठमाडौंमा पढाउनु भनेको आफूले गाह्रो लगाएर अग्ल्याउने घरमा बस्ने सपना देख्नुजस्तै हो।
सपना देख्न छाडिदिए। छोराछोरीलाई पायक पर्ने अरुणोदयमा माध्यमिक विद्यालयमा भर्ना गरिदिए। सरकारी विद्यालय भए पनि गाउँमा भन्दा राम्रो पढाइ हुन्छ भन्ने आश्वासन दिलाउँदै। आश्वासनले एउटा अभिभावकको सपनामा चाहिँ कति रङ भर्छ उनीहरुलाई नै पत्तो छैन। त्यो सपना जसले छोराछोरीलाई आफूजस्तै ज्यामी काम गरिरहेको कहिल्यै देखेन। कहिले काहीँ तरकारीमा हाल्न नुन कम हुँदा साहुलाई बीस पटक फोन रिडायल गर्नुपर्ने अवस्थामा देखेन, अनि देश बन्द हुँदा सरकारले दिने तीन किलो चामल लिने लाइनमा देखेन।
चैत ५ गतेअघि नै ती छोराछोरीको विद्यालय बन्द भयो। उनीहरु पनि बाआमा सँगसँगै बालुवा चाल्न, मसला घोल्ने काममा सघाउन हिँड्न थाले, रहरै रहरले। बाआमा भने त्यो कहर उनीहरुले भोग्न नपरोस् भनेरै गाउँ छाडेर आए। बुढा भएका बुबाआमालाई गाउँनै छाडे। खेतीपाती पनि छाडे। ‘जुम्ला विकट छ’ भनिनुलाई नै सत्य स्वीकारे। तर, आफू बस्ने ठाउँसम्म गाडी किन पुग्दैन? कहिल्यै सोधेनन्। आफूले पढेको स्कूलले किन केही सिकाएन, त्यो पनि सोधेनन्। आफू किन पढेर पनि ज्यामी बन्नु पर्यो र छोराछोरीलाई किन त्यहीँ पढाउने आँट गर्न सकिएन? आफैँसँग पनि सोधेनन्।
आज जसका लागि सपना देखेर खाल्डोमा टेके तिनै लालाबाला काखी च्यापेर गाउँ फर्किँदैछन्।
-शुक्रवार-
घाम टाउकोमाथि आइपुग्नुअघि नागढुङ्गा कट्ने योजना बनाएर धुलिखेलबाट हिँडेका थिए उनीहरु। अनेक प्रश्न र केरकार सहँदै भक्तपुर पुगे। पहिलो दिनको यात्रा त्यहीँ ब्रेक लाग्यो। उनीहरुलाई नजिकैको स्कूलमा बनाइएको क्वारेन्टाइनमा राखियो।
फेरि धुलिखेल फर्कँनु पर्ने डर थियो। फर्किए कोठामा दाल, चामल, नुन, तेल केही छैन। भोकै मरिने डरले फेरि एकपटक ठेकेदारलाई फोन गर्ने प्रयास गरे। सम्पर्क हुन सकेन।
ठेकेदार त चैत ९ गतेदेखि नै सम्पर्कविहीन। उनले त कहिले काहीँ पेश्की भन्दै दिएको रकमबाहेक कसैको ज्याला समेत दिएका रहेनछन्- एक वर्ष अघिदेखिको।
कलिन्द्र शाहीले भने, 'उसलाई हाम्रो भोकको मतलब हुन्थ्यो भने एक मुट्ठी चामल लिएर भए पनि आउँथ्यो। मनमा देउता नभएपछि यस्तो अलपत्र पार्यो।'
कलिन्द्रले यस समूहको नेतृत्व गरेका रहेछन्। त्यसैले सबैलाई धैर्य गर्न भने। सम्पर्कमा रहेका जुम्लाका केही स्थानीय नेतालाई फोन गरे।
‘सुर्खेतसम्म आइपुगे गाउँ पुर्याउने जिम्मा हाम्रो भन्ने’ आश्वासन पाए। क्वारेन्टाइनमा रात बिताए।
-शनिवार-
क्वारेन्टाइनदेखि क्वारेन्टाइनसम्मकै यात्रा बन्यो त्यस दिन। भक्तपुरबाट हिँडेर क्षेत्रपाटी पुगेका थिए। स्थानीयले सम्झाउँदै बुझाउँदै त्यहीँ राखे। खान र बस्नको राम्रै सुविधा। तर, पनि घर पुग्ने योजना पूरा नहोला भन्ने डर।
‘यो ठाउँ नै यस्तै हो भन्ने सोचेर हिँडेका थियौं। यस्तो बेला दुई छाक मीठो खान दिने मान्छे पनि देउता नै हो। सबै मान्छे हाम्रो ठेक्दारजस्ता नहुँदा रहेछन्,’ कलिन्द्र बोले।
धेरै राहत त सावित्रा शाहीजस्ता आमालाई मिल्यो जो ३ महिने बच्चा काखी च्यापेर हिँडेका थिए।
क्षेत्रपाटीको क्वारेन्टाइनमा खबर सुने – सरकारले घर जान हिँडेका मजदूरको उद्धार गर्दैछ।
'त्यो रात त सपना गाडी चढेरै घर पुगेको देखेँ,' सावित्राले भनिन्।
-आइतवार -
बिहानै झोली बोके। बास दिनेहरुसँग बिदा मागे। खुशीखुशी कलंकी हुँदै नागढुङ्गातर्फ हान्निए। छोटो बाटो खोज्दै हिँडेका थिए उनीहरु। चन्द्रागिरीस्थित पुरानो नैकापको एउटा डाँडामा पुगे। उकालो लाग्दै गर्दा प्रहरीले रोकिहाल्यो। लामै केरकार भयो।
केही बेरमा त्यहाँ खटिएका प्रहरीलाई निर्देशन आयो – जहाँबाट आएको त्यतै फर्काउनु।
यसपटक जुम्लाको टोलीका लागि ‘देउता’ बनिदिए चन्द्रागिरी- १३ का वडाध्यक्ष बालमुकुन्द बिडारी। उनले आफ्नो वडामा अलपत्र परेकाको उद्धार गर्ने वचन दिए। स्थानीय दीपशिखा युवा समूहसँगको सहकार्यमा खाजा खुवाए। उनीहरुलाई मालबाहक गाडी चढाउने र जहाँ पुगेर गाडी छुट्छ त्यहाँबाट अर्को सवारी साधन चढाउनका लागि सिफारिस बनाइदिने भए। उनीहरु दिनभर त्यही डाँडोमा पर्खिए जहाँ उनीहरुलाई रोकिएको थियो।
करिब पाँच घण्टा बित्दा पनि कुनै गाडी आएन। फेरि धुलिखेल नै फर्काउने गाइँगुँइ चल्न थाल्यो।
‘गाउँ गइयो भने भोकै चाहिँ मर्न पर्दैन। कुटोले कतै खोताल्दा जरो भेटिन्छ। वरपर छरछिमेकीले पानी खुवाएर पनि पाल्छन्। यहाँ त पिउने पानी पनि किन्नु पर्छ। अनि हामीसँग कहाँ छ र पैसा?,' डेरामा फर्कने चिन्ता व्यक्त गर्छन् भोजराज शाही।
डेरा अर्थात् काम गर्ने ठाउँमै बनाएको छाप्रो। त्यो छाप्रो रित्तो भने छैन। गाउँकै एक गर्भवती त्यहीँ छिन्। गाउँको टोली सबै निस्कदै गर्दा आँखा रसिलो पारेर बिदा गरिन् तिनले। भनेकी थिइन् – 'चाँडै फर्कनु है। हामी एक्लै हुन्छौं।'
सबैले आफूसँग भएको सय, पचासको नोट उनकै श्रीमानलाई थमाएर निस्किए। उनीहरुलाई सम्झँदा सावित्राको पनि आँखा रसाउँछन्।
'अहिले कुदेर गइहालुँ जस्तो हुन्छ,' सावित्राले भनिन्।
उनलाई भारी उठाउन मद्दत गर्ने ती साथीको साह्रै माया लाग्छ। सँगै भोक पनि। जति आँट तीन महिने छोरी बोकेर १५ दिन हिँड्नका लागि जुटाइन् त्यति नै आँट 'डेलिभरी डेट' नजिकिँदै गरेको साथीलाई छाड्न गरेकी थिइन् उनले।
बाटोमा पटक पटक रोकिँदै गर्दा, फर्काउन धम्की खेप्दै गर्दा भने साथी नआएर ठीक भएको महसुस गरिन्। छेउमा बच्चा च्यापेर बसेकी सावित्रा यतिन्जेल सुकसुकाउन थालेकी थिइन्। पटकपटक बर्कोले आँशु पुछ्दै बोल्दै थिइन् - 'आफ्नै सुरले हिँड्न पाएको भए एउटा पहाड नाघिन्थ्यो होला। अझै कति ठाउँमा रोक्छन्? आफू भोकै परेर बच्चाको लागि समेत दूध आएन।'
सेवामा खटिएका प्रहरीको पनि जवाफ उही – 'रुट मिल्ने गाडी आउँदैन। आधा बाटो भए पनि पठाउँ न त भन्यो उहाँहरु धेरै जना हुनुन्छ अट्न गाह्रो। अर्को समूहमा मिलाएर पठाउन न भन्यो नचिनेको मान्छे हाल्न मान्दैनन्। कोरोनाले तर्साएको छ। अब हामी निर्देशन मान्ने कि भावनामा बग्ने?'
’हामीले जिम्मा लिएका छौं। सिफारिस सहित सुर्खेतसम्म जसरी पनि पठाउँछौं,‘ यो समूहको खाजा पानी व्यवस्थापन गरिरहेका दीपशिखा समूहका अध्यक्ष रवि बुढाथोकीले भने।
उनी बोल्दा राहतको सास फेर्छिन् सावित्रा।
गरिबलाई हेर्नेहरु थोरै हुन्छन्। धेरैको भिडमा ती थोरैलाई निर्णय लिन मुश्किल पर्ने निष्कर्ण निकालेका छन् कलिन्द्रका साथी कविन्द्र शाहीले। ‘ठूल्ठूला पुलिसले फर्काउनु भनेपछि यहाँको सरहरुलाई काम गर्न गाह्रो भयो जस्तो छ। नत्र उहाँहरु त कोसिस गर्दै हुनुन्छ,’ उनले तर्क अघि सारे।
आइतबार साँझ, घर लैजाने गाडी पर्खँदा पर्खँदै मेघ गर्जेर आएको पानीले भेट्यो उनीहरुलाई। समूहमा धेरैले गाडी आउने आश मारिसकेका थिए।
राती करिब ९ बजे सम्पर्कमा आए कलिन्द्र। केटाकेटी च्यूरा र पानी खाएर निदाएको सुनाए। १२ बजेसम्ममा नारायणगढ पुग्ने अनुमान थियो उनको। तर, त्यहाँबाट उता के? त्यसबारे भने सोचेकै रहेनछन्।
गाडी पाएको खुशी साट्दासाट्दै सम्झिए – वडाध्यक्षले बनाइदिएको सिफारित त आफ्नो हातमा परेकै छैन। भने, 'अब यो टडकले हामीलाई कहाँसम्म लिन्छ त्यहीँसम्म हो यात्रा। त्यहाँबाट कहाँ पुगिन्छ त्यो चाहिँ थाहा छैन।'
यात्रा त छोट्टियो उनीहरुको। तर, अड्चन र त्यसले दिने पीडा भने हिँड्दा पैतालाले पाउने कष्टभन्दा बढी भयो। उनलाई थाहा छैन अब भोट हाल्ने दिन कहिले आउँछ।
यति भने सोचेका छन् – 'हात खुइलाएर कमाएको पैसाले गाडी भाडा तिरेर नेता छान्न जान्न।'
-सोमवार-
प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरु अलपत्र परेको हामीले देख्दैनौं, पत्रकारले मात्र कसरी देखछन्? भन्ने प्रश्न गरेको १२ घण्टा नबित्दै सम्पर्कमा आएका थिए कलिन्द्र शाही। समूहमा निकै हट्टाकट्टा देखिएका उनी पनि गलिसकेका थिए। आइतबारको रात नारायणगढमै बिताएछन् उनीहरुले। बिहान तीन बजेतिरै प्रहरीले ट्रकमा हालेर कोहलपुरका लागि गाडी चढाए। तर, त्यो गाडीले त कोहलपूरभन्दा २ सय १५ किलोमिटर वरै सालझुण्डीमा छाडिदिएछ। जंगलको बीचमै।
केटाकेटी र महिला रुँदै थिए। जंगलको बीचमा छाडिएकाले होला, कलिन्द्रहरु पनि निकै निराश सुनिन्थे। उनीहरु हिँड्दै गरे। प्रत्येक दश मिनेटको अन्तरालमा फोन सम्पर्कमा रहँदै। उनीहरुलाई लाग्थ्यो – पत्रकारले भनेपछि प्रहरीले सुन्छन्, नेताले सुन्छन्, मन्त्रीले सुन्छन्, सरकारमा भएकाले सुन्छन्। त्यही बाटो भएर हिँड्ने गाडीलाई निर्देशन दिन्छन्। सुत्केरी र बालबालिकासहितको जंगलको बीचमा अलपत्र परेकाको उद्धार गर्छन्।
तर, स्थानीय सरकारदेखि प्रहरी र अन्य निकायबाट 'कार्यक्षेत्र नपर्ने' जवाफ आइरहेको थियो। अचानक उनीहरु जंगलको कुनै कुनामा पुगे। र, सम्पर्कविच्छेद भयो।
-मंगलवार-
फेरि सम्पर्कमा आउँदा बबई पुगेको जानकारी दिए। अघिल्लो दिन करिव तीन घण्टा हिँडेपछि एक ट्रक चालकले कोहलपूर पुर्याएछन्। कोहलपूरका स्थानीय नेताले स्कूल बसमार्फत् बबईसम्म पुर्याएछन्। त्यहीँ खाना दिएछन् अनि गाडीमै सुत्ने व्यवस्था मिलाइ दिएछन्।
शाही टोलीको ७ जना अझै कोहलपुरमै रहेछन्। उनीहरुलाई लिएर आउने गाडी पर्खँदै छन् सबै।
'यहाँबाट सुर्खेत पुगेपछि त आफ्नो गाउँ सजिलै पुगिन्छ। हाम्रो मुख्य मन्त्री महेन्द्र शाहीले चिन्ता नगर तिमीहरु मेरो जिम्मा भन्नु भएको छ,' कलिन्द्र घर पुग्नेमा विश्वस्त सुनिए।
थाहा छैन, कर्णाली प्रदेशका मुख्य मन्त्री, सिडिओ, प्रहरीहरुले चाहिँ यी मजदुरलाई देख्छन् या देख्दैनन्। गन्छन् या गन्दैनन्।