PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

लकडाउनमा भोकमरीसँग जुध्दै मजदुर, ‘भोट लिएर वडा अध्यक्ष फर्केर नि आएनन्’



सुमित मिश्र

लकडाउनमा भोकमरीसँग जुध्दै मजदुर, ‘भोट लिएर वडा अध्यक्ष फर्केर नि आएनन्’

‘घर टुटेको छ, धेरै कठिनाइका साथ हामी जसोतसो बस्छौँ। यो कस्तो बन्दी भयो, छोराछोरीलाई खान पनि पुग्दैन। दुईजना बच्चा छन्, श्रीमान र म छौँ। चार जनाको यो परिवार निकै कठिनाइका साथ चलिरहेछ। वार्ड अध्यक्ष त भोट लिएपछि फर्केर हेर्न पनि आएनन्।’

गहभरी आँसु पार्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ की नैनकुमारी राउतले यसरी आफ्नो परिवारको दुःख पोखिन्। राउत र उनका श्रीमान् साहूको खेतमा दैनिक ज्यालादारीको काम गर्छन्। राउत एक उदाहरण मात्र हुन्, उनी जस्तै प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२४ बसहियामा  केहि व्यक्तिहरू दैनिक चुल्हो नबलेर भोकमरीसँग जुधिरहेका छन्।

राउत भन्दा पनि बढी पीडा राउतका ३५ बर्षीया छिमेकी रीना देवीको छ। घरमा ५ छोरी र रीना गरी ६ सदस्य छन्, त्यसमा पनि दुई छोरी बोल्नै नसक्ने। रीनाका श्रीमान् विश्वनाथ दास कामको सिलसिलामा २०७२ सालमा आफ्ना गाउँकै साथीहरुसँग काठमाडौं गएका थिए। उनका श्रीमान् काठमाडौं त गए तर अझैसम्म फर्किएका छैनन्।

श्रीमानको २०७२ सालको भूकम्पमा परेर ज्यान गएको हुन सक्ने रीनाको आशंका छ। श्रीमानको पत्तो नभएपछि ५ छोरीको पालन पोषण गर्ने जिम्मा पनि रीनाकै काँधमा थपिएको छ। दुई छोरी बोल्नै नसक्ने भएपछि उनीहरुको विवाहको चिन्ताले पनि उनलाई दिनरात सताइरहेको हुन्छ।

रीना भन्छिन्, ‘बिहान खाए बेलुका के खाने चिन्ता त छँदै थियो, त्यसमाथि अहिले लकडाउन भएपछि झनै समस्या थपिएको छ। केही दिन सम्म त बचाएर राखेको रकमबाट खर्च धानियो अब हामीमाथि बज्रपात खसे जस्तै भएको छ। घर पनि ऐलानी जग्गामा छ। वैदेशिक रोजगारीमा रहेका केहि सहयोगीहरुले सामाजिक सञ्जालमा मेरो पीडा देखेपछि ८३ हजार रुपैयाँ घर बनाउनका लागि सहयोग गरेका थिए, अनि मात्रै घर बनाउन पाएँ।’

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने अनिता देवीको पनि पीडा उस्तै छ। अनिता देवी ५० वसन्त पार गरिसकेकी छिन्। यद्यपि काममा भने अझै फूर्तिलो स्वभावकी छिन्। तर, लकडाउन भएपछि उनी पनि कामविहीन बनिन्। काम नपाएपछि पूरै परिवारको जीविका चलाउन निकै गाह्रो भएको छ, उनलाई।

घरमा श्रीमानसहित ५ जनाको परिवार छ। श्रीमान् र छोरा दुबै बिरामी छन्। तर, लकडाउनका कारण उपचारको कुरा त परै जाओस् उनको परिवारको दुई छाक खाना पनि भगवान भरोसे छ।

उनले भन्छिन्, ‘हामी सबै भगवानको भारमा बाँचेका छौँ। गाउँकै अन्य व्यक्तिहरुसँग माँगेर खान्छौं।’

सञ्चार माध्यममा सरकारले राहत उपलब्ध गराउने समाचार सुने पनि राहत भने नपाएको अनिताले गुनासो गरिन्।

सोही स्थानका भोला कर्ण जिल्ला प्रशासन कार्यालय धनुषामा लेखापढीको काम गर्दै आइरहेका थिए। परिवारको आवश्यकता राम्ररी नै पूर्ति आएका थिए। दैनिक जीविका धान्न केहि गाह्रो थिएन। तर, लेखापढी गर्नेहरुलाई सरकारले एक्कासी हटाइदिएपछि उनी बेरोजगार भए। दुःखले कमाएर जम्मा गरेको १ लाख रुपैयाँ र बैंकबाट केहि ऋण लिएर उनले ई-रिक्सा किने।

तर, अचानक कोरोना भाइरसको संक्रमणको त्रासका लकडाउन जारी भएपछि ई-रिक्सा पनि बन्द छ। काम पनि छुट्यो, रिक्सा पनि बन्द त्यसमाथि बैंकको ऋण तिर्ने बोझ।

घरमा खाने चामल पनि नभएको सुनाउँदै उनले भने, ‘दाल र तरकारी झन कहाँबाट आउँछ।’

उनका छोराको शरीरमा रगतको कमी छ। उसको उपचार पनि अत्यन्त जरुरी छ।

‘तर भोक मेटाउने उपाय नहँदा रोग भगाउने उपायको जोहो कसरी गर्ने,’ गहभरी आँसु झार्दै भोलाले आफ्नो पीडा सुनाए।

स्थानीयमा एकातर्फ कोरोनाको डर छ भने अर्कोतर्फ दिनहुँ ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई खान नपाएर भोकै मरिन्छ कि भन्ने चिन्ता। प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२४ बसहियामा विभिन्न पीडासँग जुधिरहेका यी व्यक्तिहरूलाई सरकारले समयमै राहत उपलब्ध गराउन आवश्यक देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell