PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनकपुरका वडाध्यक्षहरुको आरोप : मेयरले कमिसन खोज्दा राहत वितरण हुन सकेन



सुमित मिश्र

जनकपुरका वडाध्यक्षहरुको आरोप : मेयरले कमिसन खोज्दा राहत वितरण हुन सकेन

जनकपुरधाम : कोरोना संक्रमण रोकथाम गर्न मुलुक ‘लकडाउन’ मा गएको एक सातापछि १६ चैतमा प्रदेश नम्बर २ सरकारले गरिब तथा विपन्न परिवारलाई स्थानीय तहमार्फत राहत दिने निर्णय गर्‍यो। सर्वदलीय बैठक लगत्तै बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले महानगरलाई २५ लाख, उपमहानगरलाई २०, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख गरी प्रत्येक स्थानीय तहमा  रकम पठाउने निर्णय गरेको थियो।

निर्णयअनुसारको रकम पठाउँदै सोही बराबरको रकम थपेर ‘लकडाउन’ को मारमा परेका विपन्न परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थानीय तहलाई पत्रचार गरिएको थियो। चार दिनअघि प्रदेश सरकारले दोस्रो चरणको राहतको समेत घोषणा गरिसकेको छ। पछिल्लो पटक प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत सामान खरिद गरेर वडा कार्यालयसँग समन्वय गरेर सोझै पीडित परिवारसमक्ष राहत पुर्‍याउने निर्णय गरेको छ।

प्रदेश सरकारले प्रभावित परिवारका लागि दोस्रो चरणको राहतको घोषणा गरिसके पनि जनकपुरधाम उपमहानगरपालिकामा पहिलो चरणको राहतसमेत वितरण हुनसकेको छैन।

प्रदेश सरकारले पहिलो चरणको राहत दिन स्थानीय तहहरुमा रकम पठाएलगत्तै उपमहानगरले गरिब तथा विपन्न परिवारको तथ्यांक पठाउन सबै वडालाई पत्राचार गरेको थियो। उपमहानगरको पत्रअनुसार जनकपुरधाम उपमहानगरका  सबै वडा कार्यालयले तथ्यांक पठाएको पनि १० दिनभन्दा बढी भइसकेको छ। तर, जनकपुरधामका गरिब तथा विपन्न परिवारले हालसम्म सरकारी राहत पाउन सकेको छैनन्।

‘लकडाउन’ का कारण प्रभावित गरिब, विपन्न तथा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आइरहेकाहरु बिचल्लीमा रहे पनि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले चासो नदिँदा राहत वितरण हुन नसकेको वडाध्यक्षहरुले आरोप लगाएका हुन्। ‘लकडाउन’ लागू भएको एक महिना पुगिसकेपनि राहत वितरण नहुनुमा मेयर साह प्रमुख जिम्मेवार रहेको भन्दै वडाध्यक्षहरु बैठक बसेर मेयर साहलाई दवाब दिएका हुन्। भेलामा जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये १७ जना वडाध्यक्षहरु सहभागी थिए।

एक महिनादेखि जारी ‘लकडाउन’ का कारण विपन्न परिवार दुई छाक टार्न समस्यामा रहेको गुनासो आफूहरुले सुन्नुपरेको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए। विपन्न परिवारका लागि राहत उपलब्ध गराउन बोर्ड बैठकबाटै आफूहरुले निर्णय गरिसके पनि मेयरले खासै चासो नदिएको अध्यक्ष साहले बताए।

वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले राहतमा पनि कमिसन लिने लोभमा मेयर फसेका कारण उपमहानगरमा राहत वितरण हुन नसकेको आरोप लगाए बताए।

‘गरिबलाई वितरण गरिने राहतमा पनि कमिसन आओस् भन्ने उहाँका चाहना छ, कहाँबाट बढी कमिसन आउँछ खोज्दै हिंड्नु भएको छ? कमिसनकै खेलको कारण राहत वितरण हुनसकेको छैन,’ वडाध्यक्ष साहले भने।

साहले थपे, ‘मेयर साहले विराटनगरबाट चामल मगाउनु भएको सुनेको छु, अन्य जिल्लाले जनकपुरबाट खाद्यान्न लगिरहेका छन्, तर उहाँले बाहिरबाट मगाउनुको अर्थ के? सब कमिसनको खेल जस्तो लागेको छ ।’

वडा नम्बर २० का वडाध्यक्ष भोगेन्द्र झाले मेयरको ढिलासुस्तीका कारण कोरोना महामारीभन्दा पनि आफ्नो वडाका विपन्न परिवारहरु भोकमरीले ज्यान गुमाउने हो कि चिन्ता बढेको बताए। विपन्न परिवारहरुलाई राहत उपलब्ध गराउन पटकपटक ध्यानाकर्षण गराउँदासमेत मेयरले चासो नदेखाएको झाको भनाइ छ।

‘जनताका पीडा बुझ्न सक्नु हुन्न भने पदमै किन बस्नु पर्‍यो, छोडे भइहाल्यो नि,’ उनले भने।

वडा नम्बर १३ का वडाध्यक्ष शुभनारायण मण्डलले सामाजिक संघसंस्थाको सहयोगमा वडाध्यक्षहरुले प्रभावित परिवारको लागि राहत उपलब्ध गराएपनि पर्याप्त नरहेको बताउँछन्। सरकारले राहत वितरण गर्न पैसा पठाइसके पनि मेयरले चासो नदिँदा गरिब परिवारले राहत पाउन नसकेको मण्डलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell