PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

समाजवादी पार्टीको आरोप, 'प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण भयो' यादवको परिवारको यस्तो छ भनाई



सुमित मिश्र

समाजवादी पार्टीको आरोप, 'प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण भयो' यादवको परिवारको यस्तो छ भनाई

जनकपुर: समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरणमा परेको दाबी गरिएको छ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य यादवको अपहरण गरिएको दाबी गरेका हुन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। 

बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरेका छन्। 

उनले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ।’

यसबारे बुझ्दा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख  प्रहरी उपरीक्षक रमेश बस्नेतले अपहरण गरिएको विषयमा आफूलाई केही जानकारी नरहेको बताए। बस्नेतले भने, 'मैले त पूर्व राज्यमन्त्री सुरेन्द्र यादवज्यूलाई चिनेको पनि छैन।'

यता उनकी श्रीमती रेणु यादवले प्रहरीले नियन्त्रणमा लिएको विषयमा आफूलाई केही थाहा नभएको बताइन्। उनले भनिन् ‘दिउँसो साढे १२ बजेतिर खान खाएर निस्कनु भयो। आज आउन वा नआउन नि सक्छु भन्नुभएको थियो। निजी गाडीमा सुरक्षागार्ड र चालकसहित निस्किनुभएको छ।' यादवले थपिन्, 'अहिले फोन गर्दा उहाँसँग सम्पर्क हुन सकेको छैन। उहाँको फोन पनि लागिरहेको छैन। उहाँको सुरक्षा गार्डको फोन पनि लागिरहेको छैन।'

हामीले सम्पर्क गर्दा यादवको फोन अफ गरिएको छ।

सांसद यादवका भान्जा राजेश यादवले आफूसँग दिउँसो दुई बजेसम्म सम्पर्कमा रहेको बताए। भने, 'दिउँसो २ बजेसम्म सम्पर्कमा हुनुहुन्थ्यो। घरमै छु भन्नुभएको थियो। अहिले त तीनवटै फोन स्विच अफ छ। लाग्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell