PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सर्लाहीको पहिलो कोरोना संक्रमण केस, चैत २३ मा दिल्लीबाट फर्किएका थिए किशोर



सुमित मिश्र

सर्लाहीको पहिलो कोरोना संक्रमण केस, चैत २३ मा दिल्लीबाट फर्किएका थिए किशोर

जनकपुरधामः जनकपुरस्थित प्रयोगशालामा बिहीवार कोभिड–१९ को परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सर्लाहीका किशोर हुन्। उनी चैत २३ गते भारतको नयाँ दिल्लीबाट घर फर्किएका थिए।

दुई दिन अगाडि सर्लाहीका क्वारेन्टाइनमा रहेका ६५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट एन्टिबडी परीक्षण भएको थियो। परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना जनकपुर ल्याइएको थियो।

सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने धनकौल गाउँपालिका ती किशोर क्वारेन्टाइनमा बस्दै आएका थिए। भारतबाट आएका उनलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेका थिए।

आरडीटीबाट एन्टिबडी परीक्षणमा पोजेटिभ नतिजा आएका किशोरमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाले बताए।

भारतबाट फर्केका उनलाई धनकौल गाँउपालिका–५ स्थित एक माविको क्वारेनटाइनमामा राखिएको थियो।

बैशाख ५ गते उक्त क्वारेन्टाइनमा (आरडीटी) चेक गर्दा उनमा पोजेटिभ देखिएको थियो।  आरडीटी पोजेटिभ देखिएपछि थप जाँचका लागि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा  ल्याइएको थियो।

प्रादेशिक अस्पतालमा पिसिआर जाँच गर्दा उनको रिपोर्ट निगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएपनि शंकास्पद देखिएपछि बालकलाई धनकौलस्थित क्वारेन्टाइनमै राखेर उनको स्वाब पुनः परीक्षणको लागि काठमाण्डौ पठाइएको थियो। उक्त स्वाब पुनः जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता झाले बताए।

ती किशोर एक साथीसँग रौतहटको करुणिया नाका हुँदै नेपाल भित्रिएका प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिए। महतोले भने, ‘उनीसँगै नेपाल आएका उनका साथीको रिपोर्ट नेगेटिभ आएपछि उनलाइ घर पठाइएको छ।’ रिपोर्ट पोजेटिभ आएपछि बालकलाई प्रादेशिक अस्पताल जनकपुर लैजाने कि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लैजानेबारे छलफल भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।

धनाकौल गाँउपालिकाका स्वस्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतोका अनुसार किशोरलाई हिजो घर पठाइएको थियो र आज पोजेटिभ रिपोर्ट आएपछि पुनः क्वारेन्टाइन ल्याइएको हो।

महताेले भने, 'उनका घरमा बालकका बुवा, आमा,बहिनी, भाई र उनी गरी पाँचजना सदस्य छन्। सबैलाई अहिले क्वारेन्टाइनमा राखिएकाे छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell