PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोभिड १९ पछिको मानसिक स्वास्थ्य, अर्थमनोविज्ञान र सांस्कृतिक लचकता



कोभिड १९ पछिको मानसिक स्वास्थ्य, अर्थमनोविज्ञान र सांस्कृतिक लचकता

डा नरेन्द्र सिंह ठगुन्ना र सरोज गिरी

कोभिड–१९ ले विश्व त्रासित छ। यस भाइरसको संक्रमणबाट १ लाख ८६ हजार भन्दा बढि व्यक्तिको मृत्यु भइसकेको छ। त्यस्तै २७ लाख १४ हजार भन्दा बढि संक्रमित भएका छन्। हजारौं व्यक्तिहरु यो महामारीसँग जीवन र मरणको युद्ध लडिरहेका छन्। सबैभन्दा बढि अमेरीका र युरोपका विकसित राष्ट्रमा भएको मानव क्षतिले प्रमाणित गरेको छ कि समृद्धि, सम्पत्ति र वैज्ञानिक आविष्कारले मात्र प्रकृतिमाथी विजय पाउन सम्भव रहेनछ।

कोरोना भाइरसको कारण देखिने मानसिक अस्वस्थ्ताका लक्षणहरु

लक्षणहरु व्यक्तिपिच्छे फरक हुन्छन्। प्रकोपप्रति कसरी देखाइने प्रतिक्रिया व्यक्तिको पृष्ठभूमि र समुदायमा भर पर्छ। तर, प्राय मानिस मानसिक समस्यामा पर्ने जोखिम परिस्थिति हेरी फरक स्तरको हुन्छ।

कोरोना भाइरसबाट संक्रमित होला भन्ने डर, पारिवारका सदस्य, आफन्त र प्रियजनहरूको स्वास्थ्यबारे चिन्तित हुनु, खाँदै नखाने वा धैरै खाने, आत्तिनु, छटपटी हुन,असुरक्षित महसुस हुनु, अनिश्चितता र एक्लोपनको महसुस हुनु,चिन्ता, अविश्वास र डरको महसुस हुनु, काम गर्ने उर्जा र क्षमतामा परिवर्तन आउनु, ध्यान केन्द्रित गर्नमा कठिनाइ, निदाउनमा कठिनाइ जस्ता लक्षणहरु देखिन सक्छन्। त्यस्तै डरलाग्दो सपना र नराम्रो सोचाइ तथा झझल्को आइरहनु, टाउको दुख्ने, शरीर दुख्ने, पेट तथा पाचन प्रणालीमा गडबडी, रक्तचाप बढ्ने, श्वासप्रश्वासको गतिमा परिवर्तन हुने, छालामा डावर आउने जस्ता शारीरिक प्रतिक्रियाहरू देखिनु,दीर्घकालीन स्वास्थ्य समस्याहरू भएमा अझै बिग्रँदै जानु,चिडचिडापन बढ्नु, झनक्क रिस उठ्नु,मद्यपान, धुम्रपान वा लागूपदार्थको प्रयोग गर्नु तथा मात्रा बढ्दै जानु,उदाससिनता वा निराशा महसुस हुनु,निराशापन, असहायपनको महसुस हुनु आदी हुन्।

जोखिममा रहेको समुह:                                                                        

बालबालिकाको मानसिक स्वास्थ्य

सन् २०१३ मा प्रकाशित ‘डिजास्टर मेडिसिन एण्ड पब्लिक हेल्थ प्रिपेयर्डनेस’ शीर्षकको अनुसन्धानले महामारीको बेला क्वारेन्टाइनमा बसेका र नबसेका बालबालिकामाथि गरेको अध्ययनले क्वारेन्टाइनमा बस्नेमा चार गुणा बढी मानसिक समस्या भएको देखाएको छ। बालबालिका तथा किशोरकिशोरीहरुले कम उमेरको बावजुद निराश हुने जस्ता भावनाहरू देखाउन सक्छन्। केही बालबालिकाले तुरून्त प्रतिक्रिया देखाँउछन् जबकी अरूले धेरै पछि कठिनाईको संकेत देखाउन सक्छन्। जब आमाबुबा र हेरचाहकर्ताहरूले आपतकालिन अवस्थामा शान्त र आत्मविश्वासका साथ व्यवहार गर्छन तिनीहरूले आफ्ना बालबालिकाको लागि सबै भन्दा राम्रो समर्थन प्रदान गर्न सक्छन्। बिशेष गरी बालबालिकाहरुले आफ्ना अभिभावकसँग टाँसिने अथवा छोड्न नमान्ने, बिस्तरामा पिसाब फेर्ने, औंला चुस्ने,रुने, सपनामा बर्बराउने जस्ता लक्षण देखाउँछन्।

जेष्ठ नागरीकको मानसिक स्वास्थ्य

चीनमा कोभिड १९को कारण भएको मृत्यु मध्ये अधिकांश जेष्ठ नागरिकहरू थिए। विश्व कोभिड १९ सँग लड्नको लागी एकजुट भएको बेलामा मनोवैज्ञानिकहरूले जेष्ठ नागरीकहरूमा एक्लोपनको जोखिम भएकोले मानसिक स्वास्थ्य सेवा प्रदायकहरूलाई मद्दतको लागि सक्रिय रहन आग्रह गरेका छन्। किनभने कोभिड १९ बाट मृत्युको जोखिम जेष्ठ नागरीकको उमेरसँगै बढ्छ।

नर्सिङ होम वा आफ्नै घरमा बसेका परिवारका सदस्य र साथीहरूले वृद्ध व्यक्तिहरूको भ्रमणलाई सीमित गर्दैछन्। सामाजिक अलगाव र एक्लोपनको लागी सामाजिक दुरीको नयाँ अभ्यास र अरूसँग घनिष्ठ शारीरिक निकटता कम गर्नाले जेष्ठ नागरिकहरूको बीचमा अर्को घातक महामारीमा योगदान पुर्‍याउन सक्छ भन्ने धारण मनोविदको रहेको छ।

स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य

मनोवैज्ञानिक अनुसन्धानकर्ताहरु (जीयांवो लाइ र इट अल,२०२०) ले २ जनवरी २०२० देखि ३ फेबु्रअरी २०२० सम्म अध्ययन गरेका थिए। समग्रमा ४२% स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई सीधा हेरचाह गरिरहेका थिए। जसमध्ये सबैभन्दा बढी ५० प्रतिशतमा उदासिनता, ४५ प्रतिशतमा चिन्ता ३४ प्रतिशतमा अनिद्रा र ७२ प्रतिशतमा तनाव वा व्याकुलता भएको देखिएको थियो। उच्च जोखिम रहेको वुहानमा बिरामीहरूको प्रत्यक्ष हेरचाहमा संलग्न महिला नर्सहरूमा लक्षणहरू बढी थिए।

स्वास्थ्यकर्मीहरू कुनै पनि प्रकोप प्रतिक्रियाको अग्रपंक्तिमा हुन्छन् र उनीहरू खतरामा पर्ने खतरा हुन्छ। यसमा लामो काम गर्ने अवधि, मनोवैज्ञानिक समस्याहरु, थकान, व्यवसायिक बर्नआउट, शारीरिक र मनोवैज्ञानिक हिंसा हुने सभ्भावना हुन्छ।

अध्ययनले उपचारमा संलग्न डाक्टर तथा नर्सहरू सबभन्दा बढी जोखिममा रहेको देखाएको छ। उनीहरू एकैपटक धेरै भाइरसको सम्पर्कमा आउने हुँदा बिरामी पर्ने सम्भावना धेरै भएको चीन, अमेरिका र इटालीको अनुभवले देखाउँछ। भारतको मुम्बईस्थित एक अस्पतालमा पनि २६ नर्स र तीन जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

महिलाको मानसिक स्वास्थ्य

हरेक विपद् वा महामारीले महिलाको मानसिक स्वास्थ्यमा बढी प्रतिकुल असर पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ। घरायसी व्यवस्थापनको कारण बढि सोच्दा, घरका पुरुष सदस्यहरुले पारिवारिक जिम्मेवारी र घरायसी कामको बाँडफाँड मा सहयोग नगरेमा समस्या आउने सम्भावना हुन्छ। सानो बच्चा भएका, सुत्केरी र गर्भवती महिलामा झन् समस्या ल्याउँछ। फलस्वरुप घरायसी झगडा हुने संभावना हुन्छ।

विकाशोन्मुख देशहरुमा प्रत्येक ३ जनामा १ जना गर्भवती र सुत्केरी महिलामा मानसिक समस्या देखिने विभिन्न अध्ययनले देखाएको छ। महिलामाथि हुने विभिन्न प्रकारका दुर्व्यवहारको श्रृखलाहरु लगातार रह्यो भने ती महिलाहरुमा विभिन्न खालका मानसिक समस्याहरु जस्तै उदासिनता, चिन्ता, मनोशारीरिक आलश्यता, विभिन्न खालका संवेगात्मक समस्याहरु, आघातजन्य घटना पछिको तनाव, न्युन आत्मसम्मान, खानासँग सम्बन्धित गडवडी, रुपान्तरित(हिस्टेरिया) शोक र छतीको मानसिक असर, आत्महत्याको प्रयास गर्ने, सोचबाट ग्रसित हुन्छन्।

दैनिक ज्यालादारी गर्ने मजदुरको मानसिक स्वास्थ्य

हुन त जुन सुकै समस्याले जब अर्थतन्त्रमा प्रभाव पार्छ तब सबै भन्दा पीडित हुने जनसमुदाय नै दैनिक ज्यालादारी मजदुर हुन। यो समुह विश्वभरी नै ठुलो संख्यामा रहेको छ।

विश्वव्यापी महामारी र त्यसपछिको बन्दाबन्दीले सिधा नराम्रो प्रभाव यो समूहको जीविकोपार्जन र दैनिकीमा परेको छ। जीवनको आधारभूत आवश्यकता मध्यको पहिलो आवश्यकता गासमा सिधा नकारात्मक असर परेको यो समुह र उनीहरुको पारिवारमा आर्थिक अभावको चपेटोले गहिरो मानसिक असन्तुलन वा बिचलन पार्ने गर्दछ।

इतिहासलाई केलाउने हो भने हरेक महामारीले वर्गबीचको विभेद र त्यहाँ बिध्यमान खाडल झन गहिरो बनाउदै जान्छ जसले हुने खाने र हुँदा खाने बीचको वर्ग संघर्ष अझ चरम अवस्थामा लान सक्दछ। यो संघर्ष अर्थतन्त्रको आयामबाट मात्र नभईकन मनोसामाजिक दृष्टीकोणबाट पनि हुने सम्भावना बढी रहन्छ।

जति यो विभेद बढ्छ यसले बढाउने चुनौती भनेकै सामाजिक द्वन्द्व र विद्रोह हो। महामारीको दीर्घकालिन असरले दैनिक ज्यालादारीमा जिविकोपार्जान गरिरहेका मजदुरहरु जब सहज दैनिकीमा फर्कदैनन, चरम बेरोजगारीबाट गुज्रन्छन र आर्थिक अभावमा रुमल्लिन्छन तब त्यो समुहलाई कुनै न कुनै शक्तिले अनेक बहानामा दुरुपयोग गर्न सक्दछ। निर्णयार्थ यो असरले कुनै विकासोन्मुख राष्ट्रभित्र गृह युद्ध हुन सक्ने वा विद्रोह गरिरहेको समुहलाई थप हौसला प्रदान गर्न सक्दछ। गौण रहेको तर एकदम महत्वका साथ हेरिनु पर्ने मनोसामाजिक बिषय यो पनि हो।

बन्दाबन्दी पछिको मनोसामाजिक स्वास्थ्य र अर्थमनोविज्ञान

मानसिक र मनोसामाजिक स्वास्थ्यका हिसावले केहि व्यक्तिहरुमा मानसिक स्वास्थ्य समस्या जस्तै आघातजन्य घटना पछिको तनाव, चिन्ता, उदासिनता, आत्महत्याको जोखिम, निन्द्रा सम्बन्धी गडवडी आदि देखिन सक्ने सम्भावना रहन्छ। बन्दाबन्दी पछि र कोभिडको कहरमा कमीसँगै सामाजिक चहलपहल बढ्ला, विद्यालय खुल्लेछन, सामाजिक संस्कार र साथीभाइको जमघट बढने छ भने समाजिक प्रतिमानमा परिवर्तन आउन सक्ने जोखिम छ।

पश्चिमी समाजमा प्रचलित व्यक्तिवादी समाजको धारणाले पूर्वीय समाजमा विध्यमान सामूहिक समाज पद्धतिमा परिर्वतन आउन सक्ने सम्भावना छ। सामूहिक समाजले समूह सदस्यताको हिसाबले आफूलाई बढी परिभाषित गर्छन भने व्यक्तिवादी समाजहरूले स्वयंलाई स्वायत्त र समूहहरूबाट स्वतन्त्रको रूपमा परिभाषित गर्छन्। व्यक्तित्ववाद व्यक्तिगत लक्ष्य र व्यक्तिगत व्यक्तिको अधिकारमा जोड दिन्छ। सामूहिक समाज समूह लक्षहरुमा केन्द्रित हुन्छ, उसले कुनै कुरा पनि पहिले के सामूहिक समूहको लागि उत्तम छ भनि सोच्दछ।

कोरोना महामारीले अर्थतन्त्रमा निकै गहिरो असर पार्ने प्रायःनिश्चित छ। पर्यटन अनि सेवालगायत उद्योग धराशयी बनेको छ। यातायात व्यवसायमा, वैदेशिक रोजगारीमा पनि यसको असर पर्ने छ। खाडी अनि भारतबाट फर्कने लाखौँले रोजगारी गुमाउने छन्। जस्तै कतारलगायत खाडी मुलुकबाट नेपालीलाई फर्काउन बताइरहेका छन्। तर पनि अथाह ज्ञान र प्राकृतिक श्रोतको धनी हामीमा यो महामारीलाई कृषी उत्पादनमा विशाल क्रान्ती, विद्ध्युत उत्पादनमा क्रान्ती र प्राकृतिक जडिबुटी र चिकित्सा शास्त्रको प्रबर्धनमा विशाल क्रान्ती गर्ने उत्साहजनक अवसर पनि हुनेछ। यसको लागी स्थानीय तह देखि केन्द्रसम्म हरेक व्यक्ति देखि सरकार र सरोकारवाला ले पहल गर्नु बुद्धिमता हुनेछ र हाम्रो आर्थिक सबलीकरण पनि हुनेछ।

कोरोना र संस्कृतिक लचकता

नेपालमा करीव ७९ जनजाति छन भने १२५ भन्दा बढि भाषा बोलिन्छ। प्रत्येक जातिको या समुदायको चाड, पर्व, रीतिरिवाज, चालचलन, जीवनशैली, संस्कार, मेलापर्व आदिमा प्रयोग गरिने संस्कृतिक लचकताको मध्यम लोकगीत हो। लोक गीतले संस्कृतिको संरक्षण गरेको हुन्छ। लोक संस्कृति समुदायको जीवन शैलीसँग सम्बन्धित छ। त्यसैले कुनै पनि स्थानमा बसोबास गर्ने जनसमुदायको संस्कृतिबारे जानकारी लिनु परेमा त्यस समुदायमा प्रचलित लोक गीतको अध्ययन गर्नुपर्ने हुन्छ।

लोक गीतमा विशेष गरेर नारी, यौन र बाल मनोविज्ञानसँग सम्बन्धित विषयवस्तुहरू प्रस्तुत भएको हुन्छ। समाजिक बाध्यताको कारणले व्यक्त गर्न नसकिने मनका विभिन्न पिडा, कुण्ठा, चाहनाहरू, युगौं युगदेखि शोषित, पीडितका वेदना, हिनताबोधी र आक्रोशजस्ता पक्षहरूका भाव लोक गीतमा व्यक्त भएको हुन्छ। ऋनिकाल पर्दा होस या महामारीका वेलामा वेदना र विरहका कुराहरु गरेर मनमा भएका भावनाहरु समाजमा मान्यहुने गरी अभिव्यक्त गर्ने गरेको पाइन्छ।

केहि सकारात्मक सोच बृद्धि गर्न र मनोबल बृद्धि गर्न हाम्रै समाजमा विद्यमान केहि संस्कृतिहरुलाई प्रतक्ष्य प्रोत्साहन गरिनु पर्दछ। यो बन्दाबन्दीमा कुनै पनि क्षेत्रका कामदार र कर्मीको अभावलाई टाल्न शारीरिक दुरी कायम गरि परम्परागत परम्पराको अभ्यास गर्न सकिन्छ। जसले कृषि प्रधान हाम्रो देशको कृषि उत्पादनमा ह्रास आउने छैन र दोश्रो पुस्तामा पनि कृषिजन्य सीप हस्तान्तरण हुने गर्दछ।

साथै खाद्य सामग्रीको चरम अभाव बढ्न सक्ने सम्भावनालाई हेर्ने हो भने हामीले सदियौ देखि अभ्यास गरेको ऐचो पैचो अभ्यासले पनि केहि तनाब ब्यबस्थापन गर्न सहयोग गर्दछ।

यस महामारीको बेलामा मानसिक सुस्वास्थ्य राम्रो राख्नको लागि प्रयोग गर्न सकिने केहि लोकगीत अन्तर्गत भजन, आरती, सेलो, झ्याउरे लोक गीत, संगिनी, घाँसे गीत, डेउडा, झोडा, चाचरी, छपेली आदिको प्रयोग गरी विभिन्न समाजमा रहेका मानिसहरुको मनको पीडा कम गर्न सकिन्छ।

मनको शान्तीको लागी परम्परा अनुसार पूजाआजा र घरघरमा हुने आराधनाको बेला भजन गाउने चलन रहेको छ। भगवान सम्बन्धित भक्ति, आराधना, उपासना र श्रद्धाविशेषका विषय भएकाले यसलाई भजन भनिएको हो। नित्य कर्मको लागि आरती साँझ, बिहान गाइन्छ भने आरती पुराण, सप्ताह, यज्ञ, उत्सव तथा जात्राको बेलाविशेष भजन प्रारम्भ गर्नुअघि ईश्वर, आराधनाको लागि आरती गाइने प्रचलन रहेको छ।

त्यसैले मानसिक लचकताको लागी हाम्रो सांस्कृतिक परम्परमा विद्यमान तरिका अपनाएर नयाँ मोडलहरु निमार्ण गर्ने अवसरको रुपमा यसलाई उपयोग गर्न सकिन्छ।

मनोविज्ञ डेनियल गोलमेनका अनुसार भावनात्मक वुद्धिमताले सामान्यतया व्यतिmको जीवनमा स्वव्यवस्थापन, स्वचेतना, सामाजिक सचेतना र सम्बन्ध व्यवस्थापनमा मद्दत पुर्‍याउँछ। आत्म जागरूकता भनेको तपाईको मुड, भावना र ड्राइभ पहिचान र बुझ्ने क्षमता र तिनीहरूको प्रभाव अरूमा कस्तो पर्दछ भन्ने जान्नु हो।

स्वनियमन(सेल्फ रेगुलेशन) आफ्ना नकारात्क आवेगहरू र मुडहरू नियन्त्रण गर्ने क्षमता र व्यवहार गर्नु अघि सोच्ने तपाईंको क्षमता हो। सकारात्मक तरिकाले सोच्ने, योजनाबनाउने, प्रकृतिलाई बुझ्ने उपयोगी र हाम्रो संस्कृति सँग मिल्नेखालका परम्परागत ज्ञान र शिक्षा सिक्ने अवसरका रुपमा यसलाई लिई अगाडि बढ्न सके भावनात्मक वुद्धिमताको सदुपयोग गरेको मान्न सकिन्छ।

(मनोविज्ञानमा विद्यावारिधी गरेका डा नरेन्द्र ठगुन्ना द स्कुलअफ साइकोलोजीका अध्यक्ष हुन्। त्यस्तै सरोज गिरी सामाजिक कार्यविभाग त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत छन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell