पेट दुखेर उठ्न नसकेका बुबा किन पाइतालादेखिको बल निकालेर जुरुक्कै उठे? रामलक्ष्मीले सोच्न नभ्याउँदै आशराम चिच्याउन थाले - 'खाटमुनि आऊ, खाटमुनि आऊ।'
निकै पुरानो अनि काँचो माटोले बनेको घर। छेवैको सडकमा गाडी गुड्दा समेत हल्लिने। माथिल्लो तलामा कोही खुट्टा बजार्दै हिँड्दा त भत्किएला झै हुन्थ्यो। दलिनको माटो पनि बुर्बुर झर्ने। कम्पनको बानी परिसकेको थियो रामलक्ष्मीलाई। त्यसैले भूकम्प भएको चालै पाइनन्।
बुबा अत्तालिएर मुसा लुके जसरी खाँटमुनि पसे। त्यसपछि उनी, सँगै पढिरहेकी सानीमाकी छोरी निरु र साथी सरिता पनि त्यही पलङमुनि छिरे।
रामलक्ष्मी होसमा आउँदा बुबा चिच्याइ रहेका थिए – 'गुहार गुहार… म मर्न लागेँ।'
उनको देब्रे हातको डुँडुलोमा खाँटको फल्याकले थिचेको थियो। हत्केलामा चाहिँ साथी सरिताको टाउको।
'म सरिताको टाउकोको भारी र उसको नाकबाट बगेको रगतको तातो अझै महसुस गर्नसक्छु,' रामलक्ष्मी दुवाल त्यो दिन सम्झन्छिन्।
उनले आफ्नो आँखाको धुलो पुछिन्। त्यसपछि आँखीभूईं उचालेर सरितातर्फ ध्यान दिएर हेरिन्। सरितामा कुनै छट्पटाहट थिएन। उनका आँखाका परेला पनि चलेका थिएन।
करिब दुई मिनेट चिच्याएपछि बुबा पनि बोल्न छाडे। सायद् बेहोस् भए।
+++
२०७२ साल वैशाख १२ गते।
अकाउन्टको हिसाब मिलिरहेको थिएन। कापीमा केरमेट जारी थियो। तीनै जना पालैपालो क्याल्कुलेटर थिच्दै थिए।
कोठाको एउटा कुनामा ओच्छ्याइएको डस्ना रामलक्ष्मीको सिङ्गो कोठा थियो। सिरानमाथिको भित्तामा ऐना र तखता। त्यसैमा चिपस्टिक, गाजल, काइँयो मिलाएर राखेको। ओच्छ्यानकै एउटा कुनामा कक्षा १२ का किताब र कापीको खात पनि थियो। त्यसैले तीन जना निकै मुस्किलले अटेर बसेका थिए - कम्बाइन् स्टडीका लागि।
केही मिटर पर किचन र्याक र सिलिन्डर टाँसेर राखिएको थियो, वरपर भाँडाकुडा।
कोठाकै अर्को कुनामा खुट्टे खाँट थियो। रामलक्ष्मीका बुबा आशराम पेट दुखेर त्यहीँ पल्टिएका थिए। छिनछिनमा बोल्दै थिए – भोज गएर आउ न।
तर, रामलक्ष्मी र उनका साथीहरुलाई 'बोर्ड एग्जाम'को चटारो थियो।
७ वर्षीय भाइ आशिष पनि दिदी नगइ जाने मुडमा थिएनन्। रामलक्ष्मीले फकाउँदै भाइलाई आफू नजिक डाकिन्। कलेजको ब्यागको भित्री गोजीबाट पाँच रुपैयाँको नोट झिकेर थमाउँदै भनिन् – 'तिमी जाँदै गर न ल। मम्मी पनि खेतबाट सिधैं भोजमै जानुहुन्छ। म पनि पढिसकेर आइहाल्छु।'
दिदीको प्रेमले जित्यो या पाँच रुपैयाँको लोभले? आशिष दङ्ग पर्दै निस्किए।
निस्किए र त त्यो भयावह दुर्घटनाबाट जोगिए। जुन दुर्घटनाले रामलक्ष्मीको हातमा अनि पूरा परिवारको जिन्दगीमा कहिल्यै नमेटिने खत छाडेर गयो।
+++
पाँच तले कच्ची घर माथिदेखि नै थचक्क भूईंमा बसेको थियो। सरिताले ‘बचाउ’ समेत भन्न पाइनन्। आशरामको चित्कार उनकै छोरी र निरुलेमात्र सुने। त्यही चित्कारको आवाज पनि केही बेरमा ठप्प।
राज्यलक्ष्मीको हात जोडले थिचिएको थियो। निरुको भने भाग्य मानौं - उनलाई फल्याक, दलिन, माटोको इँटा, गाह्रो केहीले थिचेन। उनी एक जनालाई खाटले नै जोगायो।
दुई जना रोए कराए। ‘बचाउ… बचाउ…’ कति पटक भने हिसाब छैन। बाहिरबाट मानिसहरुको हल्लाखल्लादेखि कुकुरको भुकाई भित्रसम्मै आइपुगेको थियो। तर, त्यहाँ उज्यालो पनि पसेन।
‘हामी यहाँ छौं भन्दै सयौं पटक चिच्यायौं। तर, कसैले पनि सुनेन। सुनेको भए त उद्धार गर्न आउँथे होलान् नि,’ रामलक्ष्मीले सुनाइन्।
केही बेरपछि कतैबाट भ्यार… भ्यार… भ्यार… आवाज आउन थाल्यो। सरिताले आफ्नो फोनको भाइब्रेसन भेउ पाइहालिन्। तर, कहाँ छ कसरी थाहा पाउनु? थाहा पाए पनि कसरी निकाल्नु? हात थिचिएको छ।
‘त्यसपछि बुबाको फोन सम्झिएँ। सानो किप्याडवाला फोन थियो। प्राय पाइन्टकै गोजीमा राख्नु हुन्थ्यो। म त चल्मलाउनु सम्भव नै थिएन,’ उनले त्यो क्षण सम्झिइन्, ‘सानिमाको छोरी घिस्रिँदै बुबा छेउ पुगेर तन्किइन्। फोन निकालिन्।‘
जीवनको आशा थियो त्यो फोन। सेभ भएका अनि याद भएका कुनै नम्बरमा पनि डायल गर्न बाँकी राखेनन्। तर, उनीहरुलाई के थाहा? त्यस बखत् सम्पर्कहरु विच्छेद भइरहेका थिए। सम्बन्धहरु पनि।
ओठ सुक्यो। रुँदारुँदै आँशु पनि सुक्यो। बाँच्ने भोकले होला पेटको भोक महसुस नै भएन। घण्टौंसम्म कोही नआएपछि उनीहरु कामना गरेर बसे – कसैले हामी यहाँ छौं भन्ने थाहा नपाउन्जेल माथिबाट केही नखसोस्।
उनले त्यस दिनको अवस्थाबारे सुनाइरहँदा आमा पूर्णलक्ष्मी छेउमा बसेर सुनिरहेकी थिइन्।
‘म त घरतिर आउन पनि पाइँन। सबैले त्यहाँ ताला लगाएको छ। कोही छैन। कसैको आवाज आएको छैन भने,’ उनले भनिन्, ‘म छोरो च्यापेर बसेँ। भोजमा जान लगाएको लुगा भारी भइरहेको थियो।‘
उनले पनि उस्तै गरी फोन पटकपटक डायल गरेकी रहिछिन्। छोरीको फोनमा केही घण्टी गयो। साँच्चै भित्र रामलक्ष्मीको फोन भाइब्रेट गरिरहेको थियो।
तर, श्रीमानकोमा सम्पर्क हुन सकेन। उनले सास फेर्न छाडिसकेका थिए।
साँझ पाँच बजेतिर हो, एउटा टोली उनीहरुलाई नै खोज्दै आएको।
हरेक पाइला सोचेर चाल्नु पर्थ्यो। नत्र घरको बाँकी रहेको पाटो जहाँबाट जसरी पनि खस्न सक्थ्यो। फेरि अर्को अनिष्ट हुनसक्थ्यो।
निकै सतर्क अनि सावधान रह्यो उद्धार टोली। केही बेरको प्रयासमा निरुलाई सर्लक्क निकाल्न सके।
‘अब मेरो पालो भनेर चिच्याएँ। मलाई डर लागिरहेको थियो,’ उनले सुनाइन्।
उनको डर सही सावित भयो। उक्त टोलीले निकै कोसिस गर्दा पनि दलिनहरु पन्छाउन सकेनन्।
चाँडै अर्को टोली आउने आश्वासन दिँदै उनीहरु हिँडेपछि निशब्द रहिन् उनी।
+++
रात परेपछि बेग्लै सन्नाटा। भक्तपुर जेंलास्थित भत्किएको त्यस घरमा दुई वटा लाश थियो। त्यही लाशको आँडमा भर्खर १८ वर्ष टेकेकी रामलक्ष्मी पीडा र त्रासबीच छट्पटाइ रहेकी थिइन्।
बाहिर आमा पूर्णलक्ष्मी र भाइ आशिष हारगुहार गर्दै थिए, छोरीको उद्धारको आग्रहमा। भित्र छोरी हातमा थुप्रिएको काठ, ढुङ्गाका टुक्रा अनि माटोको धुलोहरुसँग लड्दै थिइन्।
‘उद्धार टोली आएन। मम्मी आउनु भएन। मलाई सबै स्वार्थी महसुस भइरहेको थियो। आफू ननिकालिएको रिस थियो ममा,’ उनले सुनाइन्, 'सायद त्यही रिस उर्जा बन्यो। बरु हात छिनोस् तर यो अन्धकारमा बस्दिँन भनेर बल लगाएँ। दिनभर प्रयास गर्दा नहटेको काठ सर्यो।'
यति सुनाइसक्दा उनी अन्तिम मिनेटमा गोल गरेर सिङ्गो टिमलाई जिताउने खेलाडीजस्तै सुनिइन्। खुशी र पीडा दुवै उनको आँखामा झल्कियो।
रातको दश बजे उनी झ्यालको छेउमा गएर बेस्सरी चिच्याइन्। अनि केही मानिस आएर उनलाई त्यहाँबाट निकाले। त्यसपछि होस आउँदा उनी कोरीया मैत्री अस्पताल, भक्तपुरमा थिइन्। त्यहाँ उनको उपचार सम्भव नभएको भनेर फर्काइयो। मध्यपुर अस्पतालले त हातै काट्नु पर्ने अवस्था रहेको बतायो। त्यहाँबाट काठमाडौं मेडिकल कलेज पुर्याइयो।
‘यताबाट उता गर्दागर्दै दुखाइले नै मर्छु जस्तो भयो। बरु घरमै पुरिएको भए बुबासँगै हुन्थेँ,’ उनले आँखाभरी आँशु पारेर भनिन्।
अस्पतालमा त भूकम्पले दिएको चोट निको पार्न आएका कति रहेछन् कति। कोही अंगभंग भएर आएका थिए। कति अस्पताल आइपुग्दै मृत घोषित भए। ‘आफूलाई दुखेको देख्दा मरेको भए पनि हुन्थ्यो बरु भन्ने लागेको थियो। तर, अरुको हालत देखेपछि बल्ल लाग्यो म भाग्यमानी रहेछु,’ उनले भनिन्।
तर, अस्पतालमा पर्याप्त डाक्टर थिएनन्। अन्य स्वास्थ्यकर्मीले सम्हाल्ने भए रामलक्ष्मीको केस। घण्टौं रगत जमेर चार गुणा सुन्निएको थियो हात। भाँचिएको अनुमानमा प्लास्टर गरिदिए।
‘त्यसपछि मेरो हात बिग्रन सुरु भयो। रगत रिलिज गरिनु पर्नेमा झन् प्लास्टर गरियो। घर फर्किएपछि दुखेरै मर्छुझै भयो,’ उनले त्यो पीडा व्यक्त गरिन्।
प्लास्टर एक हप्ता नभइ खोल्न नमिल्दो रहेछ।
खोलेपछि चार पटक शल्यक्रिया गर्नुपर्यो। नशा र मरेको मासु फाल्न। हातभित्रको हड्डी र मासु छोप्न। दुई पटक असफल रहेको शल्यक्रिया सफल बनाउन।
वैशाख २९ गते सम्झन्छिन् उनी। उनको तिघ्राबाट मासु झिकेर हातमा हाल्ने प्रक्रिया अघि बढ्दै थियो। उनलाई बेहोस् बनाइएको थियो। फेरि परकम्प भयो। सबै भागेछन्। उनकी आमासँग छोरीलाई छाडेर भाग्ने साहस कहाँ हुनु?
‘डाक्टरहरु पनि सबै भाग्नु भयो। आखिर सबैलाई आफ्नो जीवन प्यारो हुने रहेछ नि,’ पूर्णलक्ष्मी बोलिन्। रामलक्ष्मी होसमा आउँदा त टेन्टमा थिइन्, एयरपोर्ट सुरक्षाका लागि रहेका सेनाको क्याम्प भित्र। त्यही सल्यक्रिया भएछ।
आशरामको शव तेस्रो दिन निकालिएको थियो। उनको काज किरिया र छोरीको उपचार एकै समय पर्यो। भएको सर सामान पुरियो। उता सूर्यमतिस्थित ससुराहरु बस्ने घर पनि भत्किएछ।
‘त्यसपछि हामीले कहिल्यै सुख भोगेनम्,’ पूर्णलक्ष्मीले सुनाइन्। छोरी चाहिं उनकै मुहार हेरेर टोलाइन्।
सिकर्मी थिए आशराम। राशन पानी र छोराछोरीको पढाई खर्च पुर्याउँथे। पूर्णलक्ष्मी पनि ज्याला मजदुरी गरेरै थपथाप पार्थिन्। धेरै थिएन तर पुगेकै थियो – बाँच्नका लागि। भूकम्पपछि भने अभाव भोगे दुवाल परिवारले। जिन्दगीको फरक आयाम भोगे जसले सधैं छानाको अभाव महसुस गराइ रह्यो। तर ढगमगाउन दिएन जिम्मेवारीवोधले।
पूर्णलक्ष्मीलाई सधैं लाग्यो – यी बच्चाका लागि मैले गर्नुपर्छ। रामलक्ष्मीले सोचिन् – अब गर्ने पालो मेरो। अवोध आशिषसँग त आमा थिइन्,दिदी पनि। जो घरीघरी पाँच रुपैयाँको नोटसहित संसारकै खुशी उसको हातमा थमाउँथिन्।
+++
भूकम्पपछि पहिलोपटक अस्पताल पुग्दा उनको हातमा प्लास्टरको साटो सल्यक्रिया भएको भए उनको अवस्था अहिलेजस्तो हुने थिएन, सायद। हातभरी खतमात्र होइन, औला चलाउन पनि कठिन छ उनलाई। तै पनि रामलक्ष्मीले सरासर परीक्षा दिइन्। भक्तपुरस्थित बागेश्वरी क्यामपसबाटै प्लस टू सकिन्। बीबीएस पास गरिन्। अहिले एमबीएस पहिलो सेमेस्टरमा पढ्दै छिन्। पढाईसँगै कमाईको आवश्यकता महसुस गरेकी छिन् किनकि कहिले काहीँ बुबा बिनाको घर नुनविनाको तरकारीजस्तै खल्लो भइदिन्छ।
चामल, तरकारी त आमाले छरछिमेको मेला धन्दा गरेरै भए पनि जुटाउँछिन्। अन्य खर्चका लागि बालुवा चाल्ने वा भारी बोक्ने काम खोज्छिन्।
श्रीमान् गुमाउनुको पीडा र सन्तानप्रतिको जिम्मेवारीबीच खटिने आमा आराम गरेको हेर्न चाहन्छिन् रामलक्ष्मी। त्यसैले काम खोजिन्। काम खोज्नु सहज होइन रहेछ भन्ने थाहा भयो। असहजता कस्तो हुन्छ? भन्ने त्यो वैशाख १२ ले बुझाएको थियो उनलाई। त्यसैले हरेश भने खाइनन्।
स्थानीय सहकारी संस्थामा क्यासियरका रुपमा खटिइन्। तर, कलेज र कामको समय जुध्यो। तोकिएको भन्दा फरक कामहरुमा खटाइयो। कमाइले कोठा भाडा पनि तिर्न पुगेन।
‘अनि छाडिदिएँ काम। अर्को खोज्न चाहिँ फलामको च्युरा चपाएको सरह भएको छ,’ उनी निराश सुनिइन्।
सपना त लोकसेवा लडेर सरकारी बैंकमा काम गर्ने छ उनको। तर, तत्कालका लागि सपनाभन्दा अगाडि तेर्सिएको छ आवश्यकता।
‘भाइले मम्मी र म कमजोर भएको महसुस नगरोस्। उसका लागि आवश्यक हरेक कुरा पुर्याउन सकुँ। यत्ति भए पुग्छ,’ उनले आँशु पुछ्दै भनिन्, 'थाहा छैन भाइले के सोच्छ। तर मानिस मेरो हात अनि औंलालाई कमजोरी ठानिदिन्छन्। बस् यही हात काम नपाउनुको मुख्य कारण बनिदिन्छ।‘
नजिकै बसेकी पूर्णलक्ष्मी अवाक् हुन्छिन्। साँघुरो कोठाको भित्र र बाहिर बसेर एकछिन मौनता महसुस गर्छन् आमा छोरी। सायद् त्यो कहाली लाग्दो दिन झल्झल्ती भए। बोलिन्, 'पूरानो दिन सम्झिएर के गर्ने? आखिर यस्तो स्थिति त पटक पटक भोग्नु पर्दो रहेछ।‘
पूर्णलक्ष्मीले सुनाइन् – लकडाउनको व्यथा।
ज्यालदारी मजदुरी ठप्प भएछन्। कसैको नयाँ घरमा थप्ने इट्टा बोक्न जान पाएको छैन। कसैको बनिसकेको घर बडार्न जानु झन् असम्भव। कहिले काहीँ छरछिमेकको खेतको काम सघाउन जान्छिन्। पोल्टाभरी तरकारी राखिदिन्छन्। त्यही तरकारी पाक्न बलेको छ चुल्हो।
गाह्रो छ तर हात फैलाउने पक्षमा भने छैनन् यी दुवै आमाछोरी।
‘परिस्थितिसँग जुँध्नु पर्दो रहेछ। जुँधेरै त जित्दै आएँ। अझै कति भोग्नु होला कहाँ सजिलै हार मान्नु?’ उनी प्रश्न गर्दै लोकसेवा तयारीका कितावतर्फ हेर्छिन्।
उस्तै खात बनाएर राखिएका छन् किताबहरु। अहिले बस्ने घरमा पनि एउटै ओच्छ्यानमा अडिएको छ उनको दुनियाँ। सिरानमाथि बुबा आमाको तस्विर। खाट जोडिएको भित्तामा लस्करै ठोकिएको काँटी र काँटीमा झुण्ड्याइएका लुगा। मुश्किलले अटाएको सानो ड्रेसिङ टेबल।
हरेक रात निदाउनु अघि उनलाई कच्ची घर, भित्ताको माटो र माटोको बास्नाले तर्साउँछ।
तर, बिहान बिउँझिएपछि जबरजस्ती अटाएको त्यही ड्रेसिङ टेवलको ऐनामा हेर्छिन्। अनि हरेक दिन संकल्प गर्छिन् – ‘म आफैसँगको प्रतिस्पर्धाका लागि बलियो छु। किनकि म मृत्यु पन्छाएर अघि बढेको मानिस हुँ।'