PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मेसिनमाथि नै शंका उत्पन्न भएपछि प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण स्थगित



सुमित मिश्र

मेसिनमाथि नै शंका उत्पन्न भएपछि प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण स्थगित

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा रहेको स्वाब परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पिसिआर परीक्षण स्थगित गरिएको छ।

बिहीवार सर्लाहीका १४ वर्षीय एक बालकमा कोरोना पोजिटिभ रहेको नतिजा सार्वजनिक भए लगत्तै प्रादेशिक अस्पतालको पिसिआर चेकजाँच गर्ने मेसिनले गलत रिपोर्ट दिएको भन्दै जाँच कार्य बन्द गरिएको हो। जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका सर्लाहीका बालकको रिपोर्ट बिहीवार काठमाडौं स्थित राष्ट्रिय प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि पिसिआर मेसिनको गुणस्तर माथि शंका गर्दै जाँच बन्द गरिएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाबको रिपोर्ट नेगेटिभ आएको छ। बिहीवार फरक नतिजा आएपछि ति सबै नमुना शंकाको घेरामा परेको छ। प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले फरक नतिजा आउनुमा पिसिआर  मेसिनको नतिजा नै प्रमुख कारण रहेको बताए। कम गुणस्तरको मेसिन जडान भएकाले भरपर्दो नतिजा आउन नसकेको साहले पहिलोपोस्टसँग भने।

निमित्त निर्देशक साहले भने, ‘एक सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौं। पिसिआर मेसिन भरपर्दो छैन, सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ छैन।’

साहका अनुसार यसअघि सर्लाहीकै एक किशोरको घटनामा दुई पटक स्वाब परीक्ष गर्दा दुवै रिपोर्टमा नेगेटिभ आएको थियो तर टेकुमा भने पोजेटिभ देखियो।

‘अब त मेसिन नै खराब रहेको सहजै अनुमान गर्न सकिन्छ,’ साहले भने।

निमित्त निर्देशक साहले यसअघि १५ स्थानमा जडान गरिएको यस्तै मेसिन हटाइएर बढी क्षमता भएको पिसिआर जडान भइसके पनि प्रादेशिक अस्पतालमा नभएको जनाए। नयाँ मेसिन जडान गर्न सम्बन्धित निकायलाई जानकारी गराइसकेको समेत साहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell