PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सरकार लक्षित ट्वीट्पछि 'लुट्न सके लुट्'का गायक पशुपति शर्मालाई मेसेज आयो, 'दाइ, ट्वीट त कडा रै’छ है'



स्वेच्छा राउत

सरकार लक्षित ट्वीट्पछि 'लुट्न सके लुट्'का गायक पशुपति शर्मालाई मेसेज आयो, 'दाइ, ट्वीट त कडा रै’छ है'

काठमाडौं : शनिवार दिउँसो लोकगायक पशुपति शर्मालाई कसैले मेसेजमा सोध्यो – ‘दाइ, यो ट्वीट कडा रै’छ है।‘

मेसेजमा ट्वीटको स्क्रिनसट थियो। त्यसमा लेखिएको छ -  ‘मेरो गीत किन हटाउनु पर्‍यो अब त क्लियर भयो होला नी? क्यार्नु हजुर बध्यता। ज्यानको माया सबैलाई हुने।‘  

सन् २०१९ को फेब्रुअरीमा सत्तारुढ नेकपा समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि गायक पशुपति शर्माले 'लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' बोलको गीत युट्युबबाट हटाएका थिए।

त्यस समय उनले आफूले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर गीत नबनाएको र आपत्ति जनाइएका शब्दहरु परिमार्जन गरी नयाँ सार्वजनिक गर्ने बताएका थिए। तर परिमार्जित गीत सार्वजनिक भएन।

आफ्नै नाम, आफ्नै फोटो अनि केही महिनाअघि सरकारी संयन्त्रकै प्रयोगमा गीत युट्युबबाट हटाउँदाको अनुभूति पनि आफ्नै। उनी छक्क परे। किनकि त्यो ट्वीट गर्ने ‘पशुपति शर्मा’ उनी थिएनन्।

यो समाचार तयार पार्दासम्म उक्त ट्वीट २ सय ४० पटक रिट्वीट भएको छ भने १ हजार ४ सय पटक लाइक भएको छ।

ट्वीटमा कसैलाई गाली गरिएको थिएन, आपत्तिजनक शब्दको प्रयोग पनि छैन तर आफ्नो नाम र फोटोको दुरुपयोग भएको देखेर पनि उनी दु:खी भए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, ’सबै लकडाउनका कारण घरमै छन्। फूर्सद छ। त्यसैले हाम्रो नाममा ट्वीटदेखि फेसबुक स्टाटस लेखेर समय बिताएको होला।‘

उनले आफूले हालसम्म फेसबुकबाहेक अन्य सामाजिक सञ्जालमा अकाउन्ट नखोलेकोसमेत जानकारी दिए।

फेसबुकमा पनि उनी आफ्नो नामको फेक अकाउन्टहरु देखेर दिक्क भएका छन्। ’पन्ध्र सत्र वटा आफ्नै नाम र फोटोसहितका अकाउन्ट छन्’, उनले व्यङ्ग्यात्मक शैलीमा भने,’कहिले काही त आफै झुक्किन्छु।‘

उनले यसरी अरुको नाम र तस्विरको दुरुपयोग गर्ने अकाउन्टबारे छानबिन हुनुपर्ने बताए। ‘आज केही गलत लेखेको छैन, गरेको छैन भनेर बस्दा भोलि केही गलत गर्ला। समस्या उनीहरुसँगै हामीलाई पनि पर्छ। त्यसैले क्षणिक रमाइलोका लागि हाम्रो नाम प्रयोग नगर्न अनुरोध गर्छु। अनुरोध गर्दा नभए लकडाउन खुलेपछि कानूनी हिसाबले अघि बढ्नु पर्छ’, उनले भने।

उनले फेक दाबी गरेको ट्वीटर ह्यान्डलबाट गीतबारे अर्को ट्वीट लेखिएको छ : ‘गीतको शब्द पचाउन नसक्नेहरु जनताको आक्रोश पचाउँछन् होला त खोइ?  गाह्रै छ है। गल्ती बोले ट्वीटरबाटै माफ पाम्।‘

ट्वीटरमा आफू नयाँ भएको र आम प्रयोगकर्ताको साथ पाउने आशासमेत व्यक्त गरिएको छ।

सोही ट्वीटर अकाउन्टबाट प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै लेखिएको छ, 'टुक्काले देश बन्दैन हजुर।  टुक्काले देश बन्ने भए मैले लोक दोहोरी गीतमा हजारौं टुक्का गाएँ। खोइ त देश बनेको? देश बन्न त इमानदारिता चाहिन्छ। सदाचारिता चाहिन्छ। गफले देश बन्ने भए चिया पसलमा कति गफ भए होलान्? यहाँ देश विकासको भिजन चाहिन्छ।‘

अन्य ट्वीट र रिट्वीट पनि राजनीतिक विषय केन्द्रित छन्।

‘मेरो नाममा अरु नै कसैले अनेक अभिव्यक्ति दिइरहेका छन्। मेरा स्रोता एवं अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई त्यो मेरो ट्वीटर अकाउन्ट होइन भन्ने प्रष्ट पार्न चाहन्छु’, उनले भने।

स्याङ्जास्थित घरमा परिवारसँग समय बिताइरहेका उनले लकडाउनको समयमा सिर्जनात्मक काममा पनि व्यस्त रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell