PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लकडाउनमा दीर्घ रोगीका लागि औषधि ल्याइदिँदै शहीदनगर नगरपालिका



सुमित मिश्र

लकडाउनमा दीर्घ रोगीका लागि औषधि ल्याइदिँदै शहीदनगर नगरपालिका
शहीदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया (यादव)

जनकपुरधाम :  धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया (यादव) ले लकडाउन अवधिभर नगरभित्रको दीर्घ रोगीहरुको लागि औषधि नगरपालिकाले ल्याइदिने बताएका छन्।

लकडाउनमा परी अस्पताल वा मेडिकलसम्म पुग्न नसकेका क्षयरोग, क्यान्सर, दम, ब्लड प्रेसर, मधुमेहलगायतका रोगीहरुको लागि नगरपालिकाले औषधि व्यवस्थापन गर्ने बताएका हुन्। लकडाउनका कारण सदरमुकामसम्म जान नपाएर अत्याश्यक औषधिको अभावमा स्वास्थ्य अवस्था झन खराब हुने भन्दै मेयर बरबरियाले नगरपालिकाले उनीहरुको तथ्याँक सँकलन गरी औषधि ल्याउने बताए।

“लकडाउनको पालना गरे मात्र कोरोनाको संक्रमण रोकथाम गर्न मद्दत पुग्छ, तर लकडाउनमा पनि अति आवश्यक औषधि जो की नजिकमा नपाएर सदरमुकाम जनकपुरसम्म जानुपर्ने बाध्यता छ। जनकपुरमा नभेटाए काठमान्डौंसम्म जाने बाध्यता छ। यसको लागि हामीले उनीहरुको औषधी नगरपालिकाबाट ल्याइदिने निर्णय गरेका छौं,' मेयर बरबरियाले भने।

नगरभित्रका ती दीर्घरोगीहरुले नजिकको स्वास्थ्य संस्थामा गएर आफूलाई चाहिने औषधिको विवरण लेखाउनुपर्ने बताउँदै तथ्याँक संकलनपछि एकैपटक औषधि ल्याइने बताए।

यसको लागि स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरुलाई समेत तथ्यांक संकलन तीव्र गतिमा गर्न निर्देशन दिएका छन्।

त्यसको लागि तथ्यांक संकलन स्वास्थ्य स्वयंसेविका मार्फत गराएको बताए।

उनले नगरभरीका यस्ता असमान्य रोगीहरुको औषधि नपाउने अवस्था सिर्जना भएपछि नगरपालिकाको कोषबाट औषधि ल्याएर वितरण गर्ने बताए। दीर्घ रोगीहरुलाई नगरपालिकाले औषधि निःशुल्क वितरण गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell