PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

दुनीले भोगेको शहर : गरिबलाई काठमाडौंमा धम्कीमात्र मिल्दो रै'छ



स्वेच्छा राउत

दुनीले भोगेको शहर : गरिबलाई काठमाडौंमा धम्कीमात्र मिल्दो रै'छ

गएको चैत ९ गते दुनी पुन र उनका कान्छा छोरा सूर्यमान काठमाडौं आइपुगे।

दुनीको वर्षौ पुरानो सपना हो - काठमाडौं शहर घुम्ने। सधैं कथामा सुनेको शहरको व्याख्या आफ्नै शब्दमा गर्ने। तर, यसपाला काठमाडौंको यात्रा जुर्‍यो छोराकै कारण।

प्युठानबाट हिँड्ने बेलामा पटुकीमा १० हजारको बिटो कसेकी थिइन्। घरबाट निस्किएदेखि उनको हात घरी पटुकीमा पुग्थे त घरी सूर्यमानको निधारमा। छोरा सूर्यमानको उपचारका लागि हिँडेका थिए उनीहरु। त्यसैले काठमाडौंको पहिलो यात्राका लागि साँचेको उत्साह बाँकी थिएन। छोराको उपचार गर्ने, औषधी किन्ने। मिल्यो भने चिडियाखान पनि घुम्ने योजना थियो दुनीको।

+++

उनका जेठो छोरो धनीराम २४ वर्षका भए। भाइलाई बिरामीले बेस्सरी च्याप्दा उनी भर्खर दार्जिलिङ पुगेका थिए, पैसा कमाउन। यस पटक जम्मा गरेको पैसाले भाइको र आफ्नो परीक्षा फि तिर्नु थियो। किताब पनि किन्नु थियो। उनीहरु सँगै ब्याचलर्स भर्ना भएका थिए।

धनीरामकी श्रीमती पर्मा गर्भवती छिन्। वैशाखको तेस्रो साता बच्चा जन्मिने बताइएको थियो। त्यसैले श्रीमतीका लागि सुत्केरी खर्च पनि जोहो गर्नु थियो। एक्लैको कमाइले सबै खर्च पुर्‍याउन मुश्किल नै पर्ने हिसाब देखियो। त्यसैले १९ वर्षीय भाइ सूर्यमानलाई पनि जागिर खान बोलाए। काम चाहिँ दार्जिलिङका होटलहरुमा भाडा माझ्ने र सरसफाइ गर्ने।

बस्दा, खाँदा ठीकठाक रकम जोगिन्थ्यो।

प्यूठानबाट दाजुले भनेजस्तै गरी दार्जिलिङका लागि हिँडे सूर्यमान। तर, झापा पुग्दानपुग्दै उनको स्वास्थ्य अचानक बिग्रियो। ज्वरोले थला नै पार्‍यो। झापामै उपचार गरेर दार्जिलिङ पुग्ने योजना थियो उनको। तर, औषधी किन्दा घरबाट बोकेको पैसा सक्कियो। स्वास्थ्यमा सुधार भएन। ज्वरो बढ्यो, खाएको अन्न पेटमा अडिएन। उनी प्यूठान नै फर्किए।

आमा दुनी र बुबा खगरामले बिरामी छोरा ठीक पार्न धामी बसाए। औषधीले नछोएका रोगलाई धामीको मन्त्रले किन छुन्थ्यो? त्यसैले डाक्टरी उपचारकै बाटो रोजे। ऋण लिएरै प्यूठानदेखि बुटवलसम्मका अस्पताल पुर्‍याए। तर, उनको रोग पत्ता लागेन।

सूर्यमान दुब्लाउँदै गए। शरीर बेसारजस्तो पहेँलो भयो। आमा दुनी छोराको अवस्था देखेर बेचैन भइन्। त्यसपछि हो छोरोलाई लिएर काठमाडौं हिँडेको।

कहिल्यै काठमाडौं नआएका आमा छोराका लागि शहर नौलो थियो। त्यसैले दार्जिलिङमा भएका दाजु धनीरामलाइ पनि बोलाए। उनी यसअघि दुई पटक काठमाडौं आएका थिए। उनीहरुलाई लाग्थ्यो धनीरामलाई काठमाडौंले चिन्छ।

+++

चैत ९ गते तीन जनाको भेट भयो। उनीहरु सोझै वीर अस्पताल गए। सूर्यमानको अवस्था निकै नाजुक भइसकेको थियो। त्यहाँ भर्ना गरियो। स्वास्थ्य परीक्षणको रिपोर्ट भोलिपल्टै आयो - सूर्यमानमा हेपटाइटिस संक्रमण देखियो।

उनीहरु अस्पतालमा हुँदा नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो केस देखिएको थियो। त्रास र सावधानीका कारण हुनुपर्छ अस्पतालमा मानिस कम थिए। उनीहरुलाई पनि अस्पतालमा भन्दा कतै कोठा लिएर बस्न सुझाइयो।

डाक्टरले औषधी लेखिदिए। एक सातापछि लकडाउन खुल्छ, त्यसपछि आउने निर्देशनसहित डिस्चार्ज गरियो।

उनीहरु अस्पतालबाट निस्किँदै गर्दा हो, रेडियोले – लकडाउन लागू हुने घोषणा गरेको।

'अनि त हामी अप्ठ्यारोमा फलेको फर्सीजस्तै भयौं,' दुनीले प्युठानको लवज र मगर भाषा मिसाएर बोलिन्।

पोल्टाको दश हजारको बिटो पातलिसकेको थियो। धनीरामसँग भएको केही रकमले होटल खोज्ने साहस त दियो। तर, लकडाउन घोषणापछि कुन होटलले राख्नु ग्राहक?

उनीहरुको जाने ठाउँ कतै थिएन किनकि यहाँ कोही आफन्त थिएनन्। धनीरामले काठमाडौंमा भएका सबै साथी सम्झिए। फोन लगाए। सबैको आ-आफ्नै अफ्ठ्यारा थिए। कोही त कोरोनाकै डरले गाउँ पुगिसकेछन्।

अन्त्यमा प्लस टू पढ्दाका एक साथीले चाबहिल बोलाए, आफ्नै कोठामा।

त्यहाँ उनीहरुले खाना खाए। राती अबेरसम्म सुख, दु:खका कुरा गरे। साथीले त एक सातापछि लकडाउन खुल्छ। कान्छाको डाक्टर भेट्ने दिन आउँछ। त्यतिन्जेल बस्नु भनेका थिए। तर, जब घरबेटीले बिरामी ल्याएर राखेको थाहा पाए तब सात्तो लिए।

'धर्म गरेर राखेको थियो। तर, घरबेटीले बस्न दिएन। कोठामा ताला लगाएर कम्ता उफ्रेनन्। हामीलाई त बाटोसम्मै लखेटे,' दुनीले छोराको औषधी बोकेर भाग्नु परेको घटना सुनाइन्।

सुनसान सडकमा रित्तो उभिएका थिए उनीहरु। हिँडेर कहाँसम्म पुग्ने? थाहा थिएन।

'उहाँहरुलाई रोग सर्ने डर लागेछ। हाम्रो त बिजोग भयो नि। चोकमा पुलिसले रोकिहाले। भाइलाई लतार्दै हिँडेको देखेर होला पिटेनन्। दया देखाए,' जेठा छोरा धनीरामले भने।

धनीराम भाइलाई समाइरहेका थिए। भर्खरै घरबेटीको अपमान र प्रहरीको डाँको खेपेकी दुनी भने सुक्सुकाउँदै हिँडिरहिन्। कहाँ पुगियो पत्तो थिएन। कहाँ पुग्ने त्यो पनि पत्तो थिएन।

'धन्न आफन्तको पनि आफन्तको पनि आफन्तले देखेछन्। खोइ, रोएको देखेर माया पलायो कि के भयो मुन्टो बटारेर चाहिँ हिँडेनन्', यति सुनाउँदा उनी दङ्ग परिन्।

उनीहरुले समस्या सुनाए। सुन्ने नजिकका थिएनन् तर पराईको जस्तो व्यवहार पनि देखाएनन्। एक सातापछि लकडाउन खुल्छ अनि फर्कनु भनेर सँगै लिएर गए।

'सिंगो घर हुनेले झोला फालेर निकालिदिए। अरुकोमा दुईटा कोठा लिएर बस्नेले शरण दिए। आफ्नो त मनले सोचेपछि हुने रै'छ नि हैन?', धनीरामले प्रश्न गरे।

उनीहरुले सोचेका थिए, एक सातामा सबैकुरा ठीक हुन्छ।

तर, देशमा कोरोना भाइरस संक्रमितको संख्या बढ्यो। लकडाउन पनि बढ्दै गयो। हरेक साता इमर्जेन्सीमा पुर्‍याएर फर्काए सूर्यमानलाई। औषधीको खर्च बढ्दै गयो। बसेको ठाउँमा पनि तरकारीका लागि केही खर्च दिएकै थिए। खुशीको एउटै कारण थियो – कान्छा अर्थात् सूर्यमान कसैको हात नसमाती उभिनसक्ने भएका थिए।

त्यसरी बसेको २६ औं दिनमा हो, उनीहरुलाई राख्नेले भने – 'लकडाउन लम्बिन्छ जस्तो छ। हामीलाई पनि अप्ठ्यारो नै छ। कान्छा हिँड्न सक्ने भए। धेरैले हिँडेरै काठमाडौं छाडिरहेका छन्। तपाईंहरु बिस्तारै जानुस्। पुलिसले गाडीमा हालेर पठाइदिन्छ।'

प्युठानबाट पनि फोन आइरहेको थियो। ६५ वर्षीय बुबा खगराम र गर्भवती श्रीमती पर्मामात्र घरमा।

'कहिले घर पुगुँजस्तो भएको थियो। तर, भाइलाई च्याप्ला भन्ने डरले मात्र हिँडिहाल्न सकेको थिइँन। हामी सधैं त्यसरी बस्न पनि लाजै हुन्थ्यो नि,' धनीरामले भने।

दुनीलाई पनि सुत्केरी हुने बेला भएकी बुहारी, अस्वस्थ श्रीमान् र गाईवस्तुको निकै चिन्ता रहेछ। त्यागिदिइन्, चिडियाखान घुम्ने रहर।

'कान्छा तैँले आँट गरिस् भने निस्किन सजिलो हुन्छ। बाटोमा केही परे बोकेरै पुर्‍याउँला भने मैले त,' दुनीको बोलीमा छोराप्रतिको प्रेम र साहस मिसिएको थियो। भनिन्, 'आखिर पेटमा पनि बोकेकै हो। घाँसको भारीमा पनि राखेकै हो। यो गह्रौं भएर के भो? म यसकी आमा पो हुँ त।'

वैशाख ७ गते निस्किए उनीहरु। तर, करिव दुई किलोमिटर नहिँड्दै फेरि रोकिए। प्रहरीले केरकार गरे। र, शिविरमा राख्ने भन्दै थानकोटस्थित त्रिभुवन पार्कभित्र पुर्‍याइयो।

प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेको नेतृत्वमा पैदल नै उपत्यकाबाट विभिन्न जिल्लाको यात्रा तय गरेकाहरुको उद्दारमा जुटिरहेकी थिइन्। त्रिभुवन पार्कमा खान र बस्नको व्यवस्थासहित पालैपालो तीन सय मजदुर र लकडाउन प्रभावितलाई गृह जिल्ला पठाइरहेका थिए विशंखेको समूहले। त्यहीँ पुगे दुनी र उनका दुई सन्तान।

'ढुङ्गा खोज्दा देउता मिलेझै लायो नि,' दुनीले सुनाइन्।

भोलिपल्ट गाडी चढेर घर जाने कुराले खुशी दियो उनलाई। आफ्ना लागि भन्दा बढी कान्छो छोराका लागि जो औंषधीको भरमा सीधा उभिएका थिए।

पिकनिक स्पटलाई पालले घेरेर बनाइएको शिविर। दुई वटा म्याट्रेस। आमा र दुई छोरा। चिसो र लामखुट्टेकै कारण पनि निदाउनु सम्भव थिएन। धनीराम र दुनी त जागै बसे। तर, सूर्यमान सकेनन्। ओढ्ने कुरा दिइएको थिएन। एक सरो लुगामा आएका उनीहरुसँग झन् के हुनु? दुनीले आफ्नो पच्छ्यौरा ओढाइ दिइन् बिरामी छोरालाई।

'मध्यरातमा काम छुट्न थाल्यो। अनि त ओच्छ्याएकै प्लास्टिकको गुन्द्री पनि ओढायौं। आखिर एक रातको कुरा न थियो,' धनीरामले सुनाए।

भोलिपल्ट मध्यदिन कट्दासम्म पनि उनीहरुलाई पठाउने कुरा भएन। उनीहरु पालो पर्खिरहे। फोनमा रिचार्ज गर्ने पैसा समेत नभएकाले श्रीमतीको फोन पर्खिरहेका रहेछन् धनीराम। कुर्दाकुर्दै चार्ज पनि सकियो। अब फोन पनि अफ भयो।

त्यसपछि उनले स्वयंसेवकहरुतर्फ घाँटी तन्काइ रहे। कोही आउँछ, बोलाउँछ, आफू चढ्ने गाडीसम्म पुर्‍याउँछ अनि घर पठाउँछ भन्ने आशमा। घरमा उनकी श्रीमती उनैलाई पर्खिरहेकी थिइन्। फोनमा पटक पटक भनेकी थिइन् – 'व्यथा सुरु हुनुअघि आइपुग्नु ल।'

रात पर्दासम्म उनीहरुको शिविरमा कोही देखा परेनन्। एक रातका लागि सहेको चिसो र लामखुट्टेसँगको लडाईले दोस्रो रात पनि तर्सायो।

'भाइलाई जोगाउनु थियो नि,' उनले भने।

कहर थियो सहनै पर्‍यो। सहे। किनकि अर्को भोलिको आशा थियो उनीहरुलाई।

+++

तेस्रो दिन रातको १० बजे उनीहरुको शिविर बाहिर कोही आयो। सोध्यो – भालुवाङसम्म जाने भए आ-आफ्नो सामान लिएर निस्कनु।

उनीहरु त आशा मारेर बसेका थिए। भालुवाङसम्म पुर्‍याउने कुरा सुने पछि भने दुवै जना जर्‍याक जुरुक उठे। सूर्यमानलाई पनि उठाए।

पार्कको गेटमा पुग्दा भिड थियो। दाङ, बाँके, बर्दिया हिँडेकाहरु ट्रकको पछिल्लो भागमा उक्लन तछाँड मछाँड गर्दै थिए।

'हामीले त बसमा जाने सुनेका थियौं। तर होइन रै'छ। तै पनि कम्तिमा त्यति त व्यवस्था गरेछन्। धेरै जना अटाउन होला जस्तो लागेको थियो, ' धनीरामले सुनाए।

तर, उनीहरुलाई भालुवाङमा ओराल्दै गर्दा प्रति व्यक्ति हजार रुपैयाँ मागियो। दुनी र धनीरामले एकअर्काको अनुहारमा हेरे। अघिल्लो दिन शिविरका स्वयंसेवकहरुले एकअर्कासँग पैसा उठाएर दुनीको हातमा राखिदिएका थिए। भनेका थिए, 'तपाईंको छोरालाई औंषधी किनेर खुवाउनु।'

'पच्पन्न सय थियो। हामीले गाडीलाई दुई हजार मात्रै दियौं। बिरामीलाई छुट माग्यौं,' धनीरामले सुनाए।

भालुवाङबाट प्युठानसम्म कुखुरा ओसार्ने गाडीमा कुखुरासँगै मिसिएर पुगे। आफ्नो ठाउँमा पुगे। तर, खगराम र पर्मालाई भेट्न भने पाएनन्। किनकि उनीहरुलाई क्वारेन्टाइनमा राखियो।

१४ दिनका लागि प्युठान नगरपालिका वडा नं ७ को क्वारेन्टाइनमा पुगे उनीहरु। उनीहरुको घर रहेको ओखरबोट वडा नं ३ मा पर्छ। क्वारेन्टाइनभन्दा केही परै। फोन त त्यहीँ चार्ज गरे। श्रीमतीसँग कुराकानी त भयो। तर, भेट्ने रहर मेटिएन।

'उनले अहिले बच्चा जन्माइन् भने पनि भेट्न चाहिँ पाउँदिन,' उनी निराश सुनिए। तर, उस्तै सतर्क पनि छन् रोगको डर जो छ।

काठमाडौंमा रहेसम्म त आफू सुरक्षित छु, कोरोना संक्रमणको सम्भावना छैन भन्नेमा ढुक्क थिए उनी। तर, मजदुरहरुको उद्दार र व्यवस्थित घर फर्काउने अभियानले पार्कको ढोका बाहिर निस्कदा अर्कै मोड लियो। उनीहरुलाई मालबाहक गाडीको पछाडि हुलका हुल मान्छेहरुको भिडमा ठेलियो। न सामाजिक दूरी न शारीरिक।

'घण्टा घण्टामा हात धोएको, छोरालाई नछोइ बसेको, नाक थुनेर बसेको सबै स्वाहा,' दुनीले आफ्नै लवजमा सुनाइन्। भनिन्, 'काठमाडौंले मस्तै घुमायो यो पटक। आफू घुम्नै परेन।'

क्वारेन्टाइनमा एक साता बित्न लाग्यो, उनीहरुको। घर नजिक भएकाले होला खासै आत्तिएका भने छैनन्।

पर्मा त सकिनन्। दुनीका श्रीमान् खगराम भने हिँडेरै क्वारेन्टाइनसम्म दुई पटक पुगे। परैबाट श्रीमती र छोराहरुसँग बोले। बुहारी हालसम्म आरामै रहेको खबर सुनाए। धनीरामलाई राहत दिलाए।

अनि दुनीलाई भने, 'नछोइ नछोइ परैबाट घाँस काट्न जान मिल्दैन? वस्तुभाउ कराएर हैरान छ। घरबारीको घाँस खुवाएर सकियो।'

दुनी भने कहिले त्यहाँबाट निस्कनु र एकोहोरिएको सूर्यमानलाई लिएर प्युठानकै अस्पताल जाउँ भन्ने सुरमा छिन्। भनिन्, 'रोग पत्ता लाग्यो अब उपचार त जसोतसो यतै होला नि। काठमाडौं जान त रहरमै मात्र ठीक रै'छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell