PahiloPost

Dec 12, 2025 | २७ मंसिर २०८२

'माहामारीले भन्दा पहिला भोकमरीले लान्छ कि? फोटो खिच्नुस्, देखाइदिनुस् हाम्रो बिचल्ली'



'माहामारीले भन्दा पहिला भोकमरीले लान्छ कि? फोटो खिच्नुस्, देखाइदिनुस् हाम्रो बिचल्ली'

  • विश्वनाथ रिजाल-

वागमती किनारमा रहेको गौरीघाटदेखि सिनामंगल पुलसम्म बाँदरहरु खुब भेटिन्छन्। यही खोला किनारलाई बस्ती बनाएर बस्नेहरुको पनि कमी छैन। झण्डै एक महिना भयो यी मानिस र बाँदरको स्वभावबीच खासै अन्तर देखिएको छैन।

वागमती बग्दै आएका वा विसर्जन गरिएका फलफूल र मिठाई, खाद्यान्न उनीहरुको आहार बनेको देखिन्छ। वन्यजन्तुको अध्ययनका शिलशिलामा मैले फरक जनावरहरुलाई फरक अवस्थामा देखेको छु। तर मानिस र जनावरको एउटै आहार स्रोत र उस्तै दयनीय अवस्था देख्दा निकै असह्य भयो। भोग्नेलाई झन् कस्तो हुँदो हो?

हातमा क्यामेरा बोकेर भेटिएका रोचक दृश्य कैद गर्दै हिँडेको थिएँ म। खोलामा चढाइएका तिनै खानामा निर्भर केही मानिस म छेउ आए र भने,'हाम्रो फोटो खिच्नुस्। हाम्रो लगेर देखाउनुस् सम्बन्धित निकायमा रहेकालाई। गुहारिदिनुस् हाम्रा लागि।'

सुन्दा तीतो लाग्ने यथार्थ हो यो।

आर्यघाट छेउको धारामा बिहानै तिर्खाएका बाँदर लाम लाग्‍छन्। धाराको टुटीबाट सीधैं सफा पानि पिउन। दिउसो त वागमतीकै दुषित पानीले तिर्खा मेट्नु पर्छ। बगेर आएको फालिएका खानेकुरा र चढाइएका चामल, फलफुलले टरेको छ भोक।

अन्य समय हुन्थ्यो भने मानिसहरुको चहलपहल हुन्थ्यो।  खानेकुरा दिन्थे। कति बाँदर त मानिसको हातको झोला खोसेरै पनि खान्थे। रोचक त के भने यी जनावरहरुको पनि गुट हुन्छ। एउटा क्षेत्र एउटै समूहको हुन्छ। त्यहाँ अन्य ठाउँको बाँदर वा कुकुर आएर बाधा पुर्‍याउँदैनन्।

भोका सँगसँगै स्वादको पनि खुब पारखी हुन्छन् बाँदरहरु। त्यसैले पनि देखे, भेटेका खानेकुरा छाड्दैनन्। समय, मानिसहरुको भिड र क्रियाकलापले पनि उनीहरुको व्यवहारलाई निर्धारण गर्छ।

हाल उनीहरुको वरपर देखिने र 'भाग' खोस्ने भनेको मानिसहरुले नै हो। ती मानिस जो महिनौंदेखि श्रमविहीन भएका छन्। अभावकै कारण हो उनीहरु फालिएको फलफूल, मिठाई साथै टपरीमा राखेर चढाइएको खाद्यान्न टिपेर खान्छन्। यी प्राय ती वर्गका हुन् जो पशुपति आसपास  बस्छन् वा खोला किनारमा बनाइएका अस्थायी टहराहरुमा।

लकडाउनकाबीच यसपटक पशुपति क्षेत्र, वागतमती किनारमा पुग्दा फरक दृश्य देख्न पाएँ। तिलगंगा पुलदेखि सिनामंगल पुलसम्मका किनारमा समूह बनाएर बसेका छन् मानिसहरु। रोल्पा, सर्लाही, सुनसरी, सोलुखुम्बु, रामेछाप, काभ्रे लगायत जिल्लाको स्थायी बासिन्दा भएको उनीहरुले यो भेटमा बताए।

महिनादिन अघिसम्म घरमा रंग लगाउने, प्लास्टर ढलान गर्ने काम गर्थे। दैनिक खाएर जोगाएको अलि अलि पैसा महिना दिन लामो लकडाउनमा सकियो। हाल उनीहरु अभावको चरम अवस्था भोगिरहेका छन्।

उनीहरु पहुँचकै अभावले राहतबाट पनि बन्चित भएको सुनाउँछन्। भन्छन्,'हाम्रो दैनिकी खिचेर लग्नुस्। देखाइदिनुस् ठूला मान्छेहरुलाई।'

उनीहरु राहत लिन पुग्दा प्रमाणपत्र मागेको बताउँछन्। 'बरु फालिएको खोजेर खान सजिलो', उनीहरु भन्छन्। दैनिक एक समय भने पशुपतिमा बाँढेको खाना खान पुग्दा रहेछन्।

माहामारी भन्दाअघि भोकमरीले मरिएला भन्ने पिरलो छ उनीहरुलाई।

'वर्षौंदेखि यतै श्रम गरेका छौं। जसरी पनि पेट पालिएको थियो। अब अहिले घर गएर के गर्नु? फर्कनै पर्छ', सोलुखुम्बुका एक श्रमिकले बताए। उनी डेरा गरी बस्दै आएको घरबेटी मुल ढोका बन्द गरेर काभ्रपलाञ्चोक पुगेपछि उनको विचल्ली भएको रहेछ। भने,'३५ सय तिरेर बसेको थिएँ। सित्तैमा बसेजस्तो व्यवहार देखाए। विचल्‍ली पारिदिए।'

बोल्न नसक्ने ती बाँदरको लागि त स्वतन्त्र जीवन, स्वतन्त्र वन, समूह छ। मानिसको चहलपहल ठप्प हुनुले उनीहरुको दैनिकीमा केही प्रभाव पर्‍यो। बढी प्रभावित त ती मजददुर छन् जो झगडा गरेर वा खोसेर खान सक्दैनन्। बगेर आएको खानीकुरा खाइ रहँदा कोरोना मात्र होइन अरु कुनै भाइरस वा संक्रमणको शिकार हुने डरैडरमा हुन्छन्।

पशुपति क्षेत्र ठप्प रहनुले उनीहरुको खानेकुरा बाहेक शौचालय, खानेपानी पनि ठप्प छ।

लेखक वन्यजन्तु संरक्षणको क्षेत्रमा क्रियाशील छन्।

Email:[email protected]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell