PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जनकपुर उपमहानगरले राहतमा बाँड्यो कुहिएको चामल, स्थानीयले फिर्ता गरे



सुमित मिश्र

जनकपुर उपमहानगरले राहतमा बाँड्यो कुहिएको चामल, स्थानीयले फिर्ता गरे

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएको चामल बाँडेको फेला परेको छ।

कोरोना भाइरसको महामारी तथा लकडाउनको एक महिनापछि उपमहानगरले राहत बाड्न सुरु गरेको छ। तर, उक्त राहतको चामल सडेको र ढुसी परेको भेटिएको हो।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ ले सोमबार केही विपन्न परिवारलाई वितरण गरेको चामल ढुसीयुक्त भेटिएको हो। चामलमा अमिलो गन्ध आएको राहत पाउने स्थानीय रामा ठाकुरले बताए।

चौतर्फी दवाव बढेपछि उपमहानगरले राहत वितरण सुरु गरे पनि गुणस्तरहीन खाद्यान्न सामग्री वितरण गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

स्थानीय बानबिर पण्डितले भने, ‘एक त विगत एक महिनादेखि राहतको पर्खाइमा थिए। आज बल्ल राहत पाएर खुसी भएँ। तर, घर गएर चामलको बोरा खोल्दा सबै चामलमा ढुसी देखेर मनै खिन्न भइहाल्यो।’

'राहत दिने मन थिएन् भने नदिँदा नि हुन्थ्यो। तर यो सडेको चामल दिएर जनकपुरधाम उपमहानगरपालिकाले हाम्रो गरिबीसँग मजाक गरेको?' उनले प्रश्न गरे।

यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता मिश्रले वर्षाको कारण चामल भिजेको हुनसक्ने बताउँछिन्। मिश्रले भने, 'वर्षाको कारण एक/दुई बोरा चामल भिजेको होला। तर, चामल भने खराब छैन।´

राहतमा पाएको चामल कुहिएको परेपछि स्थानीयले वडा कार्यालयमा फिर्ता गरिदिएका छन्।

गत चैत २२ गते उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो।

बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, खाने तेल र २ प्याकेट नून लगायतका सामग्री दिने निर्णय गरे पनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने बनाए।

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो। वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ।

वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell