भुटानी अभिनेत्री उगेन छोदेन बेग्लै उर्जा बोकेर नेपाल आएकी थिइन्। धेरै उत्साह थियो किनकि उनी अभिनित पहिलो नेपाली फिल्मको छायाँङ्कन सुरु हुँदै थियो। थोरै डर चाहिँ थियो किनकि नयाँ ठाउँमा नयाँ टिमसँगको सहकार्य कस्तो पो होला?
उत्साह र अन्यौलता बीच दुई कुराले आत्मविश्वासी बनायो छोदेनलाई। पहिलो अभिनयप्रतिको रुची र दोस्रो नेपाली भाषा।
राष्ट्रिय भाषा जोङ्खा भए पनि भुटानमा प्राय मानिसले नेपाली भाषा बुझ्छन् र बोल्छन् छोदेनका लागि त्यही दोस्रो भाषा नेपाली फिल्म इन्डस्ट्रीसम्मको सेतु बन्यो। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म 'दुई नम्बरी'मा अभिनय गर्दै थिइन्, उनी। त्यसैको छायाँङ्कनका लागि नेपाल आएकी थिइन्।
फागुन २९ गतेबाट फिल्मको छायाँङ्कन सुरु भयो। पोखराको एक गाउँमा अभिनेता दयाहाङ राई र उगेन छोदेनले पहिलो दृश्य दिएका थिए। दुई साथीबीचको सम्बन्धको कथा छ, फिल्ममा। त्यसको छायाँङ्कन ३५ दिनमा सक्ने लक्ष्य राखेको थियो निर्माण युनिटले।
फिल्म सुटिङ सुरु हुँदा नेपालमा पनि कोरोना भाइरसको त्रास फैलिसकेको थियो। त्यसैले प्राय फिल्मले रिलिज टार्गेट सारेको घोषणा गरे। कतिले छायाँङ्कन रोके। चलचित्र निर्माता संघले पनि कोरोना भाइरसविरुद्ध सावधानी अपनाउँदै भइरहेको काम रोक्न आग्रह गरेको थियो। तर, दुई नम्बरी टोली फिल्डमै थियो जसको रफ्तारमा चैत ९ गते ब्रेक लाग्यो। करिब ३५ प्रतिशत् मात्र छायाँङ्कन सकेर काठमाडौं फर्कनु पर्यो टोलीलाई।
त्यसको ठीक दुई दिनपछि देखि हो नेपालमा लकडाउन भएको। अनि उगेन छोदेन नेपालमै रहेको।
'टिममा मिलेर काम गर्दासम्म त रमाइलो भएको थियो। त्यसपछि त म एक्लै भएँ,' उनले लकडाउनमा पर्दाको अनुभव सुनाइन्, 'लागेको थियो एक हप्तापछि खुल्छ। फेरि काम सुरु हुन्छ। चाँडो सुटिङ सकेर भुटान फर्कँने योजना थियो।'
तर, २८ दिन ठमेलस्थित टिबेट होटलमा भुटान फर्कने दिन गन्नुपर्यो उनले। पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, 'हरेक दिन एक्लै बिताउनु पर्थ्यो। दुई तीन वटा फिल्म हेरिसक्थेँ। पढ्न बाँकी समाचार हुन्थेन। सामाजिक सञ्जाल पनि कति चलाउनु? दिन बित्न साह्रै मुस्किल हुन्थ्यो।'
केही समय त भुटानमा भएका आफ्नो परिवारको चिन्ताले खुब पिरोल्यो उनलाई। प्रत्येक घण्टा भुटानको खबर खोजिन्। तर, कोरोना भाइरसको त्रास फैलिए लगत्तै भुटानले अपनाएको सुरक्षा रणनीतिहरुको प्रभाव राम्रो देखियो। स्थानीय तहमा संक्रमण फैलिएको थिएन। विदेशबाट पुगेका संक्रमितको उचित परीक्षण र उपचार भइरहेको थियो।
'परिवार सुरक्षित थिए। तर, सबैलाई मेरो चिन्ता थियो। चीनसँग जोडिएको देश भएकाले पनि म नेपालमा हुँदा उहाँहरु निकै नै आत्तिनु भएको थियो,' छोदेनले सुनाइन्।
भुटानबाट उनको परिवार छोरीलाई कसरी फर्काउने? भन्नेबारे खोजी गर्दै थिए। यता छोरी पनि आरामले कहाँ बसिन् र?
हरेक दिन घरका मानिससँग तीन पटकसम्म कुरा गर्थिन्। काठमाडौंस्थित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयसँग सहयोगका लागि गुहारिन् उनले। भुटानको परराष्ट्र मन्त्रालयसँग पनि आग्रह गरिन्। त्यतिखेर नै भुटानको परराष्ट्र मन्त्रालयले लकडाउनमा फसेका भुटानी नागरिकको खोजी गर्दै थियो। सबै भेटिए पछि एकसाथ उद्दार गर्ने तयारी थियो उसको। तर, नेपालमा यसरी अलपत्र पर्नेमा भुटानी नागरिक छोदेन मात्र रहेछिन्।
'म एउटाको लागि भन्नासाथ प्लेन पठाउनु सम्भव थिएन नि। धेरै प्रभावित देशहरुमा कति धेरै भुटानी नागरिक थिए होलान्। त्यसैले मेरो उद्दार प्राथमिकतामा नपर्नुले असर गरेन,' उनले भनिन्।
होटलमा रहँदा लकडाउनका कारण प्रभावित नेपाली मजदुरहरुका बारेमा पढ्न थालिन्। उनीहरु भोकभोकै, नाङ्गो पाइताला सयौं किलोमिटर हिँडेको थाहा पाइन्। त्यसैले उनले आफू सुरक्षा, सुख र सुविधासहित होटल भित्र रहनुमा उकुसमुकुस महसुस गर्न छाडिन्। उनले भनिन्, 'धन्न म सुरक्षित त थिएँ।'
कहिले काहीँ फिल्मको सुटिङ बीचबाट रोकिनु, माहामारी फैलिँदा परिवारबाट टाढा रहनुलाई आफ्नो 'दुर्भाग्य' भएको महसुस गर्थिन्। होटलमा रहँदै हो उनको इन्स्टाग्राम ह्याक भएको पनि। तनावग्रस्त रहन यस्तै साना साना घटनाहरु घटिरहे।
नेपाल आएको ठीक ८० दिनपछि भने उनको उद्दार हुने भयो। वैशाख ६ गते उनैलाई लिन भुटानको सरकारी विमान ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयो। सोही बिहान ९ बजे विमान पारो विमानस्थल फर्कियो।
उनलाई लिन नेपाल आएको विमानका लागि उनको परिवारले चार्टरको नियमित लागतमा ५० प्रतिशत छुट पाएको थियो। भन्छिन्, 'त्यो छुट मेरो लागि ठूलो राहत हो। देशले मेरो लागि उठाएको जिम्मेवारी हो। म देश फर्किँन पाएकोमा धेरै खुशी छु।'
हाल उनी पारोस्थित होटेल ओलाथाङको क्वारेन्टाइनमा छिन्। त्यहाँ उनले ११ दिन बिताइसकेकी छिन्। थप ११ दिन बिताउनु छ। त्यसपछि परिवारसँग भेट हुनेछ। बन्द कम्पाउन्ड बाहिरको दुनियाँ देख्न पाउने कुराले पनि खुशी बनाउन थालेको छ उनलाई।
भनिन्, 'घरबाट नजिक भएर होला क्वारेन्टाइन पनि घरजस्तै महसुस भएको छ। यहाँ मैले आफैलाई अलि बढी सुरक्षित महसुस गरेकी छु।'
उनी दैनिक योगा, ध्यान गर्छिन्। किताब पढ्छिन्। फिल्महरु हेर्छिन्। त्यस बाहेक विश्वभर माहामारीको अवस्था के छ? त्यस बारे खोज्छिन्, पढ्छिन्।
'मनमा कुरा नखेलेपछि त दिन पनि सजिलै कट्ने रहेछ,' उनले भनिन्, 'केही नपाए स-साना भिडियोहरु पोस्ट गरेर पनि समय बिताइरहेकी छु।'
उनी क्वारेन्टाइनबाट निस्कन, अवस्था सामान्य भएको हेर्न, कोरोनाको उपचार पत्ता लागेको सुन्न आतुर छिन्। त्यति नै आतुर छिन् पुन: नेपाल फर्कन। 'दुई नम्बरी'को छायाँङ्कन सक्न।
'नेपाल मलाई सेकेन्ड होमजस्तै लाग्छ। भाषा मिल्ने भएकाले पनि होला अरु देशको तुलनामा त्यहीँको मानिसहरुसँग बढी आत्मीयता महसुस गर्छु। अवस्था सामान्य हुनासाथ फेरि आउँछु,' उनले नेपालप्रतिको लगावबारे सुनाइन्।
हालसम्म ८ वटा भुटानी फिल्ममा अभिनय गरेकी छिन्, उगेन छोदेनले। लकडाउन सुरु हुँदा नेपाली प्रोजेक्टमा जोडिएकी थिइन्। लेखक तथा निर्देशक दीपेन्द्र लामाले उनलाई फिल्ममा जोडेका थिए।
उनीहरुको भेट सन् २०१७ मा मानव अधिकार फिल्म महोत्सवमा भएको हो। त्यस समयदेखि सम्पर्कमा थिए उनीहरु।
गत वर्ष जनवरीमा हो, दीपेन्द्रले उनलाई नेपाली फिल्मको प्रस्ताव राखेको। 'मेरो लागि त अवसर हो। नाइँ भन्ने कुरै थिएन। खुशी खुशी तयार भएँ। कथा पनि उस्तै मीठो लागेको,' उनले भनिन्।
फिल्ममा उनी दयाहाङ राईको जोडीको रुपमा प्रस्तुत हुँदैछिन्।
'दुई नम्बरी'का लागि नेपाल आउँदा उनले कलाकार विजय बरालसँग अभिनयको विशेष रिहर्सल पनि गरेकी थिइन्। जसले आफूमा नेपालीपन भर्न र अभिनयको विविध पाटो निखार्न सहयोग गरेको महसुस गरेकी छिन् उनले।
'यो भोगाइले पनि धेरै कुरा सिकायो,' भनिन्, 'हतार हतार भएका परिवर्तनहरुले विश्वको यस स्थितिले हामी फरक फरक पात्र भएर बाँच्ने कलाकारको अनुभवलाई निखारेको छ नि। भविष्यमा कहीं कतै काम लागिहाल्छ।'
क्वारेन्टाइनमा रहिरहँदा उनको मनमा लाग्छ – वर्षौपछि कोरोना भाइरसको माहामारीबारे पनि कुनै न कुनै भाषामा फिल्म बन्ला। अनि भावि पुस्ता त्यसलाई काल्पनिक कथा सम्झिएर रमाउँलान्।
'आखिर जसलाई पर्दैन उसलाई त अरुको भोगाइमाथि विश्वास गर्न गाह्रै हुन्छ नि,' उनले भनिन्।