PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अमिताभ बच्चन र ऋषि कपूरको कोल्ड वारबीच सहकार्य : सम्बन्ध सुध्रिँदै गर्दा एकजना भए जीवनबाटै 'अलआउट'



स्वेच्छा राउत

अमिताभ बच्चन र ऋषि कपूरको कोल्ड वारबीच सहकार्य : सम्बन्ध सुध्रिँदै गर्दा एकजना भए जीवनबाटै 'अलआउट'

'उ गयो। ऋषि कपूर भर्खरै गयो। म टुक्रिएको छु।'

बलिउड अभिनेता अमिताभ बच्चनको यही ट्वीट अर्का भेट्रान बलिउड अभिनेता ऋषि कपूरको निधनको आधिकारिक जानकारी बन्यो। यो आलेख तयार भइरहँदा अमितावले त्यो ट्विट भने डिलिट गरिसकेका छन्।

उमेरमा यी दुई कलाकारबीच १० वर्षको अन्तर छ। तर, हिन्दी फिल्म इन्डस्ट्रीमा भने अमिताभ भन्दा एक वर्षमात्र ढिला प्रवेश गरे ऋषिले।

तर, रोचक त के भने अमिताभ बच्चनले सन् १९६९ मा फिल्म 'सात हिन्दुस्तानी'मार्फत् डेब्यु गरेका थिए। त्‍यसमा उनको भूमिका गोवालाई पोर्चुगलको अधिनबाट मुक्त गर्न लड्ने साहसी योद्धाको थियो। यता ऋषि कपूरले भने सन् १९७० मा आफ्नै बुबा राज कपूरको फिल्म 'मेरा नाम जोकर'मा बाल कलाकारको भूमिका निभाएका थिए।

अमिताभ बच्चनको पहिलो फिल्म 'सात हिन्दुस्तानी' सफल भएन। तर, उनको करिअरको खातामा एकपछि अर्को फिल्म परिरहे। सन् १९७२ मा सार्वजनिक 'आनन्द'का लागि उनले फिल्मफेयरमा सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार समेत पाए।

सन् १९७३ मा त ऋषिले पनि आफ्नो अभिनयको जादु चलाउन सुरु गरिहाले। केन्द्रीय भूमिकासहित 'बबी'मा देखिए। सोही फिल्मले सन् १९७४ मा फिल्म फेयरमा उत्कृष्ट अभिनेताको अवार्ड दिलायो।

अभिनय यात्राको सुरुवातमै फिल्मफेयर अवार्ड पाएका यी दुई कलाकारलाई एउटै पर्दामा देखाउने जमर्को गरे सफल फिल्मकर्मी यश चोपडाले, फिल्म 'कभी कभी' मार्फत्। सन् १९७६ को उक्त फिल्ममा अमिताभले अमित मल्होत्रा र ऋषिले विक्रम पात्रका रुपमा दुई फरक पुस्ताको प्रेम कथा प्रस्तुत गर्छन्।

त्यसपछि अमिताभ बच्चन र ऋषिको सहकार्य जुर्‍यो सन् १९७७ मा फिल्म 'अमर अकवर एन्थोनी'मा। यस एक्सन कमेडी ड्रामामा यी दुई र अर्का कलाकार विनोद खन्ना दाजुभाइ बनेका थिए। उनीहरुको बाल्यकालमा बिछोड भएको हुन्छ। तीनै जनालाई तीन फरक धर्मावलम्बी परिवारले धर्मपुत्र बनाएर राखेका हुन्छन्।

उक्त फिल्म मुम्बईमा मात्र २५ सिनेमा घरहरुमा २५ सातासम्म निरन्तर प्रदर्शन भएको थियो। उक्त फिल्मले यी दुवै कलाकारको करिअरमा सकारात्मक असर गर्‍यो।

सन् २०१८ मा उनीहरुले तिनै सिनेमा घरहरुमध्ये एउटाको मञ्चमा बसेर फिल्म क्षेत्रका पुराना दिन सम्झिए। त्यस अन्तर्वातामा 'अमर अकवर एन्थोनी'लाई सम्झिँदै ऋषिले भनेका छन् – 'त्यो समय हिन्दी सिनेमा क्षेत्रको लागि निकै सुनौलो थियो। कथाहरु एकै किसिमका हुन्थे तर पनि दर्शकले रुचाउँथे। सहन्थे। एउटै सिनेमा २५ सातासम्म चल्थ्यो।'

उनको कुरामा सही थाप्दै अमिताभले भनेका थिए – 'आजकाल एउटा फिल्म २५ दिन पनि चल्न मुश्किल छ।'

सोही अन्तर्वातामा ऋषिले अमिताभलाई सन् १९६८ मा सात हिन्दुस्तानीको अडिसनकै क्रममा देखेको बताएका थिए। भनेका थिए, 'देखेको हुँ। यति अग्लो, राम्रो मानिस को होला भन्ने सोचेको थिएँ। तर तपाईं फिल्मका लागि लिखित परीक्षा दिँदै हुनुन्थ्यो। बोल्न चाहिँ पाइन।'

अमिताभले त्यस समय आफू भुईंमा बसेर स्क्रिप्टमा भएका अप्ठ्यारा शब्दहरुको अर्थ सिक्दै गरेको बताएका थिए।

अमिताभले भने ऋषिलाई 'बबी'को छायाँकनका क्रममा देखेका रहेछन्। मेकअप रुममा, उनका ट्रेनर आशाचन्द्रसँगै।

यी दुई कलाकारले सहकार्य गरेको अर्को फिल्म हो 'नसिव'। मनमोहन देसाइको निर्देशनमा बनेको एक्सन कमेडी फिल्ममा पनि यी दुई दाजुभाइ जोनी र सन्नी बनेका थिए।

फिल्म 'कुली'मा दर्शकले आजसम्म पनि सम्झने लम्बु जी र टिंगु जीको भूमिका निभाएका थिए क्रमश: बच्चन र कपूरले। सन् १९८३ को यस फिल्ममा अमिताभ इकवाल अस्लाम खान नामक कुलीको भूमिकामा छन्। ऋषि भने एक अनाथका रुपमा देखिएका छन्।

त्यसपछि सन् १९९१ को 'अजुबा' मा एउटै पर्दामा देखिए यी दुई कलाकार। यतिन्जेल दुवैको फिल्मी करिअरले उचाई लिइसकेको थियो। यस फ्यान्टासी सुपर हिरो फिल्मलाई शशी कपूर र सोभियत निर्देशक गेन्नाडी वासिलएवले निर्देशन गरेका थिए।

'अजुबा'मा साथीको रुपमा देखिएपछि २७ वर्षसम्म उनीहरुले एउटै पर्दा सेयर गर्न पाएनन्।

यस बीचमा सन् २०१७ मा ऋषि कपूरले आफ्नो व्यक्‍तिगत र फिल्म जीवनबारे संस्मरण लेखे, 'खुल्लम खुल्ला।' जसमा उनले अमिताभ बच्चससँग सम्बन्ध बिग्रिएको सन्दर्भ उल्लेख गरेका छन्। लेखेका छन् ‍- यो 'अमर अकवर एन्थोनी' प्रदर्शनपछिको कुरा हो। हामीबीच मनमुटाव भयो तर हामीले कहिल्यै बसेर कुरा गरेनौं। समस्याको समाधान खोजेनौं।

त्यस समयका प्राय एक्सन फिल्ममा अमिताभ बच्चन नै निर्माता, निर्देशकको पहिलो रोजाइ बन्नु नै समस्या थियो दुईबीचको सम्बन्ध बिग्रनुमा। 'हामीले सहकार्य गरेको फिल्महरुमध्ये पनि 'कभी कभी'मा बाहेक सबैमा उनलाई केन्द्रमा राखियो। म मात्र होइन शशी कपूर, शत्रुघ्न सिन्हा, धर्मेन्द्र, विनोद खन्नाले पनि भोगेको कुरा हो यो,' उनले लेखेका छन्।

'अमिताभ साँच्चै कुशल अभिनेता हुन्। उनी एकमात्र त्यस्ता स्टार थिए जसले 'बक्स अफिस'मा राज गरे। उनैलाई हेरेर कथाहरु लेखिए। तर, हामी पनि त कम थिएनौं। उनकै कारण हामीले अलि बढी मिहेनत गर्नुपर्‍यो, आफ्नो लागि ठाउँ बनाउन। त्यसैले हामी जस्तो भूमिका दिए पनि खेल्नका लागि राजी हुनुपर्थ्यो।'

तर, यस विषयमा अमिताभले कहिले केही बोलेनन्, लेखेनन् पनि। उनले कहिल्यै आफूसँग काम गर्ने कलाकार, लेखक, निर्देशकलाई कुनै किसिमको 'क्रेडिट' दिएनन्।

'यस्तै कारणले हुनसक्छ मेरो र उनको सम्बन्ध बिग्रियो। केही प्रभाव मेरो उमेरको पनि हुनसक्छ। दश वर्ष जेठो कान्छो हुनुले हाम्रो बुझाइमा पनि असर गरेको हुनसक्छ। हाम्रो पहिलो फिल्म 'कभी कभी' छायाँकन ताका नै हामीबीच निकै कम कुराकानी हुन्थ्यो। एक किसिमको 'कोल्ड वार' थियो त्यहाँ।'

ऋषिले आफूले बबीका लागि उत्कृष्ट अभिनेता अवार्ड जितेकै कारण अमिताभ आफूसँग तर्केको हुनसक्ने समेत लेखेका छन्। सोही वर्ष अमिताभको 'जन्जिर' सार्वजनिक भएको थियो र सबैले अवार्ड उनैले जित्ने अनुमान गरेका थिए।

ऋषिले पुस्तकमा लेखेका छन्- 'यसो भनिरहँदा मलाई केही लाज लागेको छ। तर, मैले सत्य बोल्नुपर्छ। त्यस समय मैले अवार्डका लागि तारकनाथ गान्धीलाई तीस हजार दिएको थिएँ।'

उनले त्यस लेनदेनलाई आफ्नो उमेरको दोष मानेका छन्।

ऋषिको पुस्तक सार्वजनिक भएको एक वर्षपछि सन् २०१८ मा यी दुई भेट्रान पुन: एउटै पर्दामा देखिए। फिल्म '१०२ नट आउट' मार्फत्।

२७ वर्षको अन्तराल पछि बलिउडका अभिभावकहरु बाबु छोराको भूमिकामा देखा परे। अभिताभ बुबा र ऋषि छोरा बने।

युवास्थामा दाजु भाइ, साथी साथी बनेका यिनीहरु बाबु छोरा बने। क्रमश: १०२ र ७५ वर्षीय। गुजराती उपन्यासमा आधारित फिल्मलाई उमेश शुक्लाले निर्देशन गरेका थिए।

उक्त फिल्म उनीहरुको अन्तिम सहकार्य बन्यो। सँगै दुईबीच लामो समय चलेको तिक्तता मेट्ने अवसर पनि। फिल्मको प्रचारदेखि अन्य कार्यक्रममा सँगै देखिए, अन्तर्वाता दिए। पूराना दिनहरु सम्झिए।

नोस्टालजियासँगै नयाँ बन्दै गएको उनीहरुको सम्बन्धमा बिहीवार झट्का लाग्यो। ६७ वर्षको उमेरमा ऋषि कपूरले प्राण त्यागे। रिल लाइफमा अमिताभको जिन्दगीबाट आउट नहुने इच्‍छा अधुरै रहन्छ। तर, जसलाई खुशी बनाउन उनी जिउँदो रहन चाहन्थे तिनी भने रियल लाइफबाटै आउट भए।

त्यही पीडा उनले ट्वीटमार्फत् पोखेका थिए - 'म टुक्रिएँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell