PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

महोत्तरीमा एकै गाउँका ७ जनाको मृत्यु,कोराना परीक्षण गरिँदै



सुमित मिश्र

महोत्तरीमा एकै गाउँका ७ जनाको मृत्यु,कोराना परीक्षण गरिँदै

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा एक सातामा सात जनाको मृत्यु भएको छ। बुधवार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीवार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहाका मेयर संजिव साहले पुष्टि गरेका छन्।

यसअघि मंगलबारदेखि बुधवार बिहानसम्म स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको थियो। सो बस्तीमा झण्डै एक साता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो। यससँगै एक सातामा मेघनाथ गेरहन्ना टोलमा ७ जनाको मृत्यु भएको मेयर साहले पुष्टि गरेका हुन्।

उनीहरुको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण खुल्न सकेको छैन। बुधवारसम्म मृत्यु भएका पाँचैजनाको दाहसंकार गरिसकिएको जनाइएको छ। बिहीवार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोस्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले जानकारी दिए।

एक–एक गरी टोलमा मृत्यु हुन थालेपछि स्थानीय त्रसित भएका छन्। बुधवार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन गए पनि उनको दाहसंकार भइसकेको थियो ।

पोस्टमार्टम र कोरोना परीक्षण गरिने

के कति कारणले उनीहरुको मृत्यु भएको विषमा पत्ता लगाउन एक जनाको शवलाई पोस्ट मार्टम र कोरोना परीक्षण गर्न लागिएको छ। महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘एक जनाको शव पोस्ट मार्टमका लागि ल्याएका छौं। पोस्टमार्टमसँगै कोरोना परीक्षण पनि गर्छौ। त्यसको स्वाब लिन चिकित्सकको टोली आउँदैछ।’

पोस्ट मार्टम र कोराना परीक्षण पछिमात्र उनीहरुको के कति कारणले मृत्यु भएको भन्ने खुल्ने प्रहरी उपरीक्षक अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell