PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जनकपुर बम काण्डको ८ वर्ष पूरा, शहीदको सपना अझै अधुरै



सुमित मिश्र

जनकपुर बम काण्डको ८ वर्ष पूरा, शहीदको सपना अझै अधुरै

जनकपुरधाम : जनकपुरमा ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको आज ८ वर्ष पूरा भएको छ। २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा विस्फोट भएको थियो।

मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भए।

बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो।

बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साहसहितले जन्मकैदको सजायमा कारागारमा जीवन विताइरहेका छन्। त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको छ।

शहीदको सपना अझै अधुरो

आत्मियताको पहिचान, स्वायतता बोधको लागि, आफनो हक अधिकारको लागि, संवैधानिक सुनिश्चितता गर्नको लागि, संविधानमा सुनिश्चित गर्नको लागि कलाकर्मी, रचनाकर्मीहरु मिथिला राज्य संघर्ष समितिलाई सघाउनुपर्ने बताउँछन् मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडी।

८ औं बलिदानी दिवसमा पहिलोपोस्टसँग कुरा गर्दै मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि कुमानसिकताका कारण मिथिलालाई स्थापित गराउन आनाकानी भएको बताए।

उनले भने, 'उनीहरुको सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस्। तर, मधेसीयाहरुको राजनीतिक नंगटोइ, कुटनीतिक खचरैय (बदमासी) का कारण षडयन्त्रपूर्वक रोकियो। प्रदेश नम्बर २ मा मैथिली भाषा कामकाजको भाषा तोक्नुपर्ने र शहिदहरुको मागको, मानको, अभिमानको सपना अवश्य पूरा हुनेछ।'

'भाषा, माटो र सँस्कृतिको लागि लडेको यो विश्वमै दोस्रो आन्दोलन हो, पहिलोपटक बंगलादेशमा यस्तो आन्दोलन भएको थियो भने विश्वमै दोस्रोपटक नेपालको जनकपुरमा भएको इतिहास छ। आफ्नो पहिचानको लागि जारी रहेको यो आन्दोनल उपलब्धी नहुन्जेलसम्म जारी रहनेछ,' उनले थपे।

२०६९ साल वैशाख १८ गते बिहान करिब ११ बजे जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले दोषी करार दिँदै पूर्व राज्यमन्त्री सन्जय साहलाई जन्मकैदको फैसला सुनाएको थियो।

जिल्ला अदालतमा गत वर्ष चैत १४ गते न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

जसमा सञ्जय साह (टक्ला) सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, सुरेश कर्ण, रिपेन्द झा, जयप्रकाश चौधरी र मुकेशकुमार कर्ण जन्मकैद भुक्तान गरिरहेका छन्।

पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री समेत रहेका तथा तत्कालिन सद्भावना पार्टीबाट २०७० सालमा तत्कालिन धनुषा निर्वाचन क्षेत्र नं. ४ (अहिले ३) बाट विजयी भएर साँसद समेत बनेका साहलाई बम काण्डको आरोपमा मुछिएपछि पार्टीबाट निलम्बित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell