PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लकडाउनको प्रभाव जानकी नवमीमा : पहिलो पटक जानकी मन्दिरको मूलढोका बन्द, जनकपुरधाम सुनसान



सुमित मिश्र

लकडाउनको प्रभाव जानकी नवमीमा : पहिलो पटक जानकी मन्दिरको मूलढोका बन्द, जनकपुरधाम सुनसान

जनकपुरधाम : आज वैशाख नवमी तिथि अर्थात् जानकी नवमी, माता सीताको जन्म भएको दिन। यस दिन जनकपुरधामसहित पूरै मिथिलाञ्चलका मन्दिरहरुमा उत्सव हुने गर्थ्यो। तर, अन्य वर्षजस्तो जनकपुरधाममा अहिले रौनकता देखिएको छैन। लकडाउनले गर्दा यस वर्ष जानकी जन्म महोत्सव समेत प्रभावित भएको छ।

जानकी जन्म महोत्सवको दिन पनि जानकी मन्दिरको मूलढोका बन्द नै रह्यो। सम्भवतः जानकी नवमीका दिन समेत श्रद्धालुहरुका लागि मन्दिरको मूल ढोका बन्द गरिएको यो पहिलो पटक हो। दैनिक हजारौँ श्रद्धालु आउने जानकी मन्दिरमा कोरोना संक्रमण त्रासको प्रभाव जानकी नवमी उत्सवमा समेत देखिएको छ। जानकी नवमीका दिन समेत छिट फुट व्यक्तिहरु मात्रै माता जानकीको दर्शनका लागि पुगेका थिए।

जानकी मन्दिरमा अन्य वर्ष आजको दिन विशेष पूजा अर्चना तथा नाचगान गरेर जन्मको गीत ‘सोहर’ गाएर मनाइने गरिन्थ्यो। यस वर्ष भने खल्लो खल्लो अनुभूति भइरहेको जानकी मन्दिरमा पूजा गर्नका लागि पुगेकी श्रद्धालु सोनी मिश्राले बताइन्।

आजको दिन समेत मन्दिरमा नआएर घरमै पूजा अराधना गर्नका लागि उत्तराधिकारी महन्थ रामरोशन दासले सार्वजनिक रुपमै आग्रह गरेका थिए। मिथिला नरेश राजर्षि जनककी पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ।

‘कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन, सामाजिक दुरी पालना गर्नु पर्ने बध्यताका कारण हामीले मन्दिरमा यस वर्ष नआउन श्रद्धालुलाई आग्रह गरेका हौँ’, महन्थ दासले भने, ‘जानकी नवमीमा घरघरमा दियो बाली साँझ सात बजे आज आरती गर्न सबैजनालाई आग्रह गरेका छौँ।’

यस वर्ष मन्दिरमा हुने सोभा यात्रा, गीत संगीत, नाचगान सबै बन्द गरिएको छ। आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिनेछ।

जानकी नवमीको अवसरमा केकको प्रसाद 

माता जानकीको जन्मको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा प्रसादको रुपमा केक अर्पण गरिएको छ। मन्दिरका उत्तराधिकारी महन्थ दासले बिहानको विशेष पूजा गर्ने समयमा माता जानकीलाई प्रसाद स्वरुप केक अर्पण गरेका थिए। पछि सो प्रसाद मन्दिरमा उपस्थित श्रद्धालुहरुलाई समेत बाँडिएको थियो।

यता माता जानकीको जन्म दिनमा केक काटिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको विरोध तथा पक्षका स्वरहरु सुनिएका छन्। कसैले परम्परा तोडेर जानकी मन्दिरमा केक कटिएकोे भन्दै रोष प्रकट गरेका छन् भने कोही केक समेत अन्य मिठाईहरु जस्तै परिकार भएकोले यसको विरोध गर्नुको कुनै तुक नरहेको बताउँछन्।

केक अर्पण गरिएको विषयमा उत्तराधिकारी महन्थ दासले माता जानकीलाई लड्डु, पेडा लगायतका मिठाईहरु प्रसादको रुपमा अर्पण गरिँदै आएको हुँदा केक पनि मिठाई नै रहेकोले यसलाई अन्यथा रुपमा प्रस्तुत नगर्न आग्रह गरे।

बिहारकुण्ड समेत सुनसान

जनकपुरधामका प्रसिद्ध धार्मिक स्थलहरुमध्येको एक हो विहार कुण्ड। परापूर्व कालमा विहार कुण्डमा माता जानकीले बाल्य अवस्थामा आफ्ना सखी सहेलीसहित विहार गर्ने गरेको मान्यता छ। सोही स्थलमा एउटा पवित्र सरोवर समेत रहेको छ। त्यसैले यो स्थलको नाम नै विहार कुण्ड रहन गयो।

विहार कुण्डमा समेत अन्य वर्षहरुमा जानकी नवमी धुमधामका साथ मनाइने गरिन्थ्यो तर यस पटक कोरोनाका कारण निर्धारित कार्यक्रमहरु समेत रोक्नु परेको सिया रघुवर कुञ्जका महन्थ रामकिशोर दासले बताए।

उनले भने, ‘यस वर्ष विशेष कार्यक्रमहरुको आयोजना गर्ने प्रबल ईच्छा थियो तर कोरोनाका कारण गर्न नपाउँदा मन खल्लो खल्लो भएको छ।’

विहार कुण्डमा ११ वटा मन्दिरहरु छन्। सबै मन्दिरहरुमा जानकी नवमीको अवसरमा विशेष कार्यक्रमहरु हुने गर्थ्यो। तर ती सबै मन्दिरहरु यस पटक भने सुनसान देखिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell