एक महिना भयो शारदा गिरीको भान्सामा तरकारी नपाकेको। त्यसयता उनी र उनका छोरा, बुहारीको नियमित मेनु हो : थर्मसको बिर्को भरी हुने चामलको भात। भात सजिलै निल्न घरबाट ल्याएको इम्ली र नुनको झोल। बट्टामा गोलभेडाको अचार पनि छ। त्यो पनि निख्रिनै लागिसक्यो त्यसैले खान्छन् कम सुँघ्छन् ज्यादा।
इम्ली पनि सकिएपछि चाहिँ भात निस्तै खानुपर्छ। चामल पनि बढीमा चार माना बाँकी होला। नुन चाहिँ आधा प्याकेट छ। भएकोमध्ये सबैभन्दा धेरै यही हो। केही समय यता तरकारी नदेखेका बेसार, जिरा र धुलो खुर्सानीको बट्टा र पोकाहरुले उनको भान्सालाई रित्तिन दिएका छैनन्।
'तर कहिलेसम्म पुग्छ? केही नभए पछि त्यही जिरा, बेसारको झोल खानुपर्ला नि?', शारदा हिन्दी लवजमा प्रश्न गर्छिन्, 'मीठो नलागे पनि खानै पर्छ। आन्द्राले स्वाद भन्दैन।'
केही अघि कोठामा दाल पनि सकियो। हरेक छाक खाना खाने बेलामा कोही कसैसँग बोल्थेनन्। सन्नाटा छाउँथ्यो। चार महिनाकी सुत्केरी बुहारी राधिका थालमा औंला खेलाएर बस्थिन्। छोरा लालु घरी श्रीमतीको थालमा हेर्थे घरी उनको अनुहारमा। लालुले भात डल्लो बनाउँदै मुखमा हालेपछि राधिका पनि उस्तै गर्थिन्।
उमेरले भर्खर १९ वर्षका भए उनीहरु। बाध्यता, परिस्थिति, अभाव बुझेका छैनन्। त्यसैले केही दिन आमालाई घुर्की लगाए, पछि बानी पर्दै गयो।
दुवैले भारतको हैदरावादमा कक्षा ९ सम्मको पढाई सके। अनि काठमाडौं आए। दुई बीच झाँगिएको प्रेम बुझ्न दुवैका आमा बुबालाई समय लागेन। विवाह गराइदिए।
राधिकाका परिवार पिंगलास्थानमा रहेको एक बस्तीमा बस्छन्। लालुकी आमा तिलगंगा पछाडिको बस्तीमा। वाग्मती खोला वारी र पारीको बस्तीलाई राधिका र लालुको प्रेमले जोड्यो।
यी बस्ती तिनै हुन् जहाँ हैदरावादका विभिन्न गाउँबाट आएकाहरु बस्छन्। सबैको काम काठमाडौंका सडक, पेटी, गल्लीहरुबाट प्लास्टिक, फलाम लगायत सामान उठाउने। ती सामानको प्रकार छुट्याउने अनि बेच्ने। किलोको हिसाबमा बेचेको सामानबाट पाउको हिसाबमा तरकारी किन्ने, गुजारा चलाउने।
दैनिक उठाएको फोहोरको भारीले नै निर्धारण गर्छ तरकारीमा झोलको मात्रा कति हुने भन्ने। लकडाउनका कारण काम ठप्प। अनि चुल्हो पनि।
किशोर मन न हो, लकडाउन भन्दा पहिले सानो कुरामा चित्त नबुझ्दा राधिका माइती पुग्थिन्, वाग्मती पारी। अहिले त्यहाँ पनि उस्तै हाल।
एउटाको छाप्रोमा चिनी नहुँदा अर्कोसँग मागेरै पनि चियामा गुलियो थप्थे। अहिले त सबैको दैनिकी उस्तै खल्लो। प्रायको कोठामा चिनीको बट्टा रित्तिसके।
त्यसमाथि जम्मा चार वटा परिवार मात्र छ, अहिले बस्तीमा। बाँकी १२ परिवारको कोठामा ताला झुण्डिएका छन्। उनीहरु सबै गत जनवरी २८ तारिखमा हैदरावाद गएका हुन्, दुई वर्षमा एक पटक हुने कालीमाताको पूजाका लागि।
यहाँ भएकाहरु भारतबाट फर्कनुको कारण चाहिँ - काम गर्नु, पैसा कमाउनु।
दुई वर्षदेखि जम्मा गरेको रकम घर जाँदा, कोसेली लैजाँदा, घरमै बस्ने वृद्ध बाआमा र स-साना छोराछोरीलाई खर्च दिँदै सकियो। सबै जना फर्किए पछि फोहोर टिप्ने धेरै हुन्छन्। कमाइ थोरै। त्यसैले फर्किए, करिब दुई महिना बसेर।
नेपाल आइपुगेको भोलिपल्टै देखि काम थाले। पाँच दिन काम गरे। छैटौं दिनदेखि लकडाउन।
त्यही पाँच दिनमा कमाएको दुई चार हजार रुपैयाँले कहिलेसम्म पुर्याउनु पर्थ्यो? पत्तो पाएनन्। नेपाल सरकारले पनि केही जानकारी नदिइ लकडाउन थप्दै गयो। उनीहरुको रासन रित्तिँदै।
'केही समय त वरपर पसलबाट पनि उँधारो पाइयो तर सधैं कहाँ पाउनु?,' बस्तीका सम्पत गिरीले सुनाए।
३२ वर्षीय सम्पतले दुई सन्तान र श्रीमती हैदरावादस्थित गाउँ गेरापेल्लीमै छाडेर आए। त्यहाँ उनीहरु भोका छैनन्। त्यही सत्यले राहत दिन्छ उनलाई। सोच्छन् – सँगै नल्याएर ठीक भयो। तर, फेरि गाउँ वरपर कोरोना भाइरस फैलिएको खबर सुन्छन्। मन पोल्छ उनको। सोच्छन् – ल्याएको भए सुरक्षित त हुन्थे।
सम्पतले जस्तै श्रीमती छोराछोरी भारतमै छाडेका आए सुरेशले। त्यसैले आएदेखि उनीहरुले एउटै भान्सा गरेका छन्।
'दुई जना मात्र भएकाले एक पटक पकाएर तीनदेखि चार छाकसम्म पुर्याउँछौं,' सम्पतले भने, 'छाकैपिच्छे चुल्हो बाल्न गाह्रो हुन्छ नि।'
उनीहरुको सिलिन्डर रित्तिएको छ। सबैसँग भुसे चुल्हो भने छ। कहिले एउटाको कहिले अर्काको कोठा बाहिर धुँवा पुत्पुताउन थाल्छ। तर, हरेक दिन आगो सल्काउन पुग्ने भुस र दाउरा बाँकी छैन।
शारदा, सम्पतसँगै अन्जी र छिन्दु गिरीले पनि एक पटक पकाएको खाना तीनै छाक पुर्याउँछन्।
लकडाउनको तेस्रो साता सकिए पछि हो यस बस्तीका मानिसले चरम् अभाव भोग्न थालेका। त्यसै बीच अन्जी र उनकी श्रीमती सपनाले बस्ती नजिकै राहत वितरण भइरहेको देखेका थिए। उनीहरुले गएर सोधेका पनि हुन् – 'हामीसँग राशन पानी छैन। राहत पाउँछौं कि?'
त्यहाँ त विपन्न हुनुको प्रमाण मागियो। मजदुर हुनुको प्रमाण मागियो। नागरिक हुनुको प्रमाण मागियो।
'हाम्रो दु:ख खान नपाउनुको प्रमाण होइन? काठमाडौंको कुना कुना सफा गरेर पेट पाल्नेहरु बस्तीबाट निस्कन नपाउनु प्रमाण होइन?,' शारदासँग प्रश्नै प्रश्न छन्।
अभावसँग जुँधिराख्दा ८ वर्षअघि त्यही छाप्रोमा बितेका आफ्नो पति फौसिया सम्झन्छिन् उनी जसले ३५ वर्ष काठमाडौंको फोहोर टिपे। यहीँको धुँवा, धुलो, फोहोरको संक्रमले थला पार्यो। मरे। फौसियाको याद नै प्रमाण हो उनका लागि त।
शारदा सुकसुकाउन थाल्दा अन्जीले भोग्नु परेको झेलको कहानी सुनाए।
कसैले राहतका लागि वडा कार्यालयमा सम्पर्क गर्नु भन्दै फोन नम्बर उपलब्ध गराएका थिए। तर, त्यो नम्बर नै गलत रहेछ। 'तै पनि लागि हाल्छ कि भनेर हरेक दिन ट्राइ मार्छु,' अन्जीले सुनाइन्।
राशन नहुनुले सताएको छ उनीहरुलाई। परिवार टाढा हुनुले पिरोलेको छ। त्यसभन्दा बढी त बस्ती बाहिर निस्किनका लागि कुनै कारण नहुनुले साह्रो बनाएको छ।
तरकारी किन्न निस्किन पैसा छैन। हावा खान निस्किन आफ्नो ठाउँ छैन। पर्खाल भित्र बाहिर रहेर भए पनि कुराकानी गरौं भन्न, साथी भाइ छैनन्।
'ठूला घर भएका छर छिमेकले हाम्रो छाप्रोको छाना पनि देख्दैनन्। हामीजस्तै साना बस्तीमा बस्नेहरुसँग भाषा मिल्दैन,' सम्पतले भने।
२० वर्ष भयो उनी नेपालमा बसेको। गाउँ, बस्ती टोलटोल डुलेको। तर, अझै पनि नेपाली भाषा बोल्न सक्दैनन्।
भाषा बोल्न, बुझ्न नेपाली भाषीसँग दोहोरो संवाद गर्नु पर्यो। थोत्रो लुगा लगाएर फोहोर टिप्दै हिँड्नेसँग को बोल्छन् र? मोलतोल गर्नुपर्ने साहुहरु पनि सकी नसकी हिन्दी नै बोल्छन्।
'भाषा नबोलेरै होला हाम्रो पीडा नबुझेको। नत्र त त्यही राशन एउटालाई दिने, अर्कोलाई नदिने हुन्छ?,' सम्पतले सोधे।
प्रश्नैप्रश्न बीचको परिस्थिति स्वीकारेर बसेका छन् उनीहरु।
बिहान सबेरै उठेर प्लास्टिकजन्य फोहोर खोज्दै हिँड्ने दैनिकी फेरिएको छ। ढिलासम्म सुत्छन्। उठेर फिक्का चिया पिउँछन्। चिया पकाउन हरेक दिन चारमध्ये एक परिवारको पालो लगाएका छन्। त्यसपछि खाना आ-आफ्नो।
दिनभर साउथ इन्डियन फिल्मको एक्सन र म्युजिकमा रमाउँछन्। साँझ भने आजतकको रिपोर्ट घन्कन्छ। किनकि हैदरावादको खबर त्यहीँबाट आउँछ। त्यो खबर बस्तीमा फर्कँन बाँकी ४२ जनाको पनि खबर हो।
समाचारमा सुन्छन् - भारतभरी 'यति संक्रमित' 'उतिको मृत्यु।'
ती खबरहरुले अत्याउँछ। आ-आफ्नो घरमा फोन गरेर सबैको हालचाल बुझ्छन्। शान्तिको सास फेर्छन् अनि एकअर्कालाई भन्छन्- धन्न हामी सुरक्षित त छौं।
'भोक त बाँचे न लाग्छ। बाँचे पछि भोक मेट्ने मेलो जुट्दै जान्छ। त्यतिन्जेल कसैले राहत नदिए उधारै चलाउँला नि जिन्दगी,' शारदाले भनिन्।