PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राहतमा गडबडी गरेपछि स्थानीयले घेरे वडा कार्यालय, 'गरिबको सूचीमा नामै छैन, धनीलाई बाँड्न थालियो'



सुमित मिश्र

राहतमा गडबडी गरेपछि स्थानीयले घेरे वडा कार्यालय, 'गरिबको सूचीमा नामै छैन, धनीलाई बाँड्न थालियो'

जनकपुरधाम : मुलुक लकडाउनमा गइसकेपछि सबैभन्दा बढी गरिब, मजदुर, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरु मारमा परेका छन्। लकडाउनकै कारण त्यस्ता व्यक्तिहरु भोकै नरहुन् भनेर राहत वितरण गर्न प्रदेश सरकारले सबै स्थानीय तहमा रकम पठायो।

प्रदेश सरकारले प्रभावित व्यक्तिहरुलाई राहत वितरण गर्न तत्काल महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ पठाएको थियो। चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर प्रदेश सरकारले चैत १९ गते सबै स्थानीय तहलाई पैसा पठाइ सकेको थियो।

तथ्यांक संकलन पूरा गरेर राहत वितरण गर्ने कार्य पनि भई रहेको छ। तर राहत वास्तविक व्यक्तिसम्म राहत पुर्याउन नसकेको, कमसल खाद्यान्न सामग्री वितरण गरेको प्रभावित व्यक्तिहरुले आरोप लगाउँदै आईरहेका छन्। जनकपुरधाम उपमहानगरपालिकाको केही वडामा राहत वितरणमा विभेद गरिएको स्थानीयवासीहरुको आरोप रहेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४, वडा नम्बर १६, वडा नम्बर १७, वडा नम्बर २३, वडा नम्बर २४ लगायतको वडाहरुमा राहत वितरणमा विभेद भएको आरोप लाग्दै आई रहेको छ।

राहत लिनकै लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियाका सलिम हुसैन समेत लाइनमा उभिएका थिए। तर साफीलाई रित्तै हात फर्काइयो।

राहतका लागि तयार पारिएको सूचीमा नाम नरहेको भन्दै आफूलाई राहत उपलब्ध नगराइएको उनले दुखेसो पोखे। साफीले भने ‘यहाँ हुनेखानेलाई राहत बाँडिएको छ, हामी जस्तो गरिबलाई राहतको सूचीमासमेत नाम राखिएको छैन।’ राहतमा समेत विभेद देखेर मन एकदमै खिन्न भएको उनले बताए।

वडा नम्बर २४ कै राहत नपाउनेहरु मध्ये एक थिए रामस्वरुप दास। दासलाई पनि राहतको लाइनबाट निकालिएको उनले सुनाए। दासले भने ‘यहाँ दुइ तल्ले तीन तल्ले घर भएको, बिघाको बिघा जग्गा रहेको धनी व्यक्तिलाई राहत दिइएको छ तर हामी जस्ता दैनिक ज्यालादारीमा काम गर्नेहरुका लागि राहत नै भएन।’ गरिबका लागि सबै ठाउँमा विभेद नै हुन्थ्यो अब राहतमा समेत विभेद भईरहेको छ दासले भने।

यता वडाध्यक्ष सत्यनारायण साहले राहत वितरणमा कुनै प्रकारको विभेद नगरिएको दावी गरेका छन्। राहत वितरणमा केही न केही हल्ला भई नै हाल्छ भन्दै भने, ‘हामी हल्लाको पछाडी लाग्यौँ भने राहत नै वितरण नै गर्न सक्दिन।’

यस्तै स्थिति जनकपुरधाम वडा नम्बर १४ मा समेत देखिएको छ। सो वडाका स्थानीयहरु असलमा गरिब रहेकाहरुलाई नै राहत वितरण नगरिएको भन्दै शनिबार वडा कार्यालय नै घेराउ गरेका छन्।

स्थानीय विवेक यादवले वडाध्यक्षले राहत वितरणका लागि सूचीसम्म तयार गर्नमा विभेद गरेको आरोप लगाए। उनले भने ‘लगत संकलनमा समेत वास्तविक विपन्नलाई सामेल गरिएको छैन, जो धनी छन्, जो वडाध्यक्षको ननजदिकी छन् उनीहरुको नाम मात्रै राहत सूचीमा शामिल गरिएको छ।’

यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४का अध्यक्ष पुण्यप्रताप यादवले आफै राहत वितरणमा कुनै किसिमको काखापाखा नगरेको दाबी गरे। उनले भने ‘ मेरो लागी वडाको सबै वासी एक समान छन्, मैले कसैसंग काखा पाखा गरेको छैन, राजनीतिक स्वार्थ साध्नका लागि यहाँ केही व्यक्तिले यस विषयलाई तुल दिएका छन्।’

उनले राहत पाउनेहरुमा केही विपन्न व्यक्तिहरु छुटेको स्वीकार गर्दै भने ‘वास्तवमा विपन्न रहेका व्यक्तिहरु छुटेका छन् भने त्यस्ता व्यक्तिहरुलाई दोस्रो चरणमा फेरी लगत संकलन गरेर राहत वितरण गर्ने छौँ।’

वडा नम्बर १४मा २ हजारभन्दा बढी घरधुरी रहेकोमा ६ सय १५ घरधुरी राहतका लागि सुची तयार पारेको वडाध्यक्ष यादवले बताए। उनले यसमध्ये ५ सय घरधुरीमा राहत वितरण भई सकेको जानकारी दिए।

यस अघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा चामल सडेगलेको रहेको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell